
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, कीर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले १० दिनभित्र मुद्दा बुझाउने तयारी गरेको छ ।
नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बञ्जाडे (छवि)लाई पक्राउ गरेको मंगलबार ८० दिन पुगेको छ । प्रहरीले छविसँगै रविविरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान गरिरहेको छ । रविविरुद्ध पटक–पटक अदालतबाट म्याद थप भएपनि एउटै प्रकरण भएकाले छविकैमा गणना हुँदा अब १० दिनभित्र मुद्दा बुझाउनुपर्ने भएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दाको म्याद ९० दिनसम्म रहन्छ । गत असोज ६ गते छविलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसआधारमा अबको १० दिन भित्र कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिसक्नुपर्छ ।
पूरक जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा कास्की अदालतले रवि र छविसहितका १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो, जसमध्ये प्रहरीले रवि, छविसहित केहीलाई मात्रै नियन्त्रणमा लिएको थियो ।
कात्तिक २ गते पक्राउ परेका रविलाई छविकै म्याद थपका आधारमा सहकारी ठगीसहित चारवटै मुद्दाको मिसिल बनाउने कार्य अन्तिम चरणमा पुगेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।
प्रहरीले रविले शुरूदेखि विभिन्न टेलिभिजनमा काम गरेबापत पाएको तलब, सांसद हुँदा पाएको तलब, उपप्रधान एवं गृहमन्त्री हुँदा पाएको तलबलाई आधार मानेर उनको सम्पत्तिको आयव्यय विवरण निकालेको छ ।
स्रोतले भन्यो, ‘रविले विभिन्न बैंकमा खोलेका खातापाता, श्रीमतीको नाममा रहेको सम्पत्ति र अन्य सम्पत्ति जोड्दा आम्दानीभन्दा सम्पत्ति धेरै रहेको प्रमाण फेला परेका छन् । केही अचल सम्पत्ति खरिदको पुस्ट्याइँ आम्दानीले गर्दैन ।’
प्रहरीले रवि र उनकी श्रीमती निकिताको बैंक खातामा करोडौं रुपैयाँको शंस्कास्पद कारोबार भेटेको छ ।
सूर्यदर्शन सहकारी ठगीमा कास्की प्रहरीले यसअघि नै पहिलो चरणको अनुसन्धानमा जीबी राईसहित १९ जनाविरुद्ध १ अर्ब ११ करोड बिगो मागदाबी लिएर अदालतमा मुद्दा बुझाइसकेको थियो ।
रविको हकमा भने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको विषयमा मात्रै सम्बन्धित रहेर मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ ।
रविले सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा रकम आएको विषय आफूलाई थाहा नभएको बयान दिएका थिए । तर, गोरखा मिडियाबाट रविका नाममा पेस्की तथा ऋणबापत २ करोड प्रवाह भएको देखिन्छ ।
सहकारीको रकम निजी कम्पनीमा लगेर उक्त कम्पनीले व्यक्तिलाई ऋण प्रवाह गरी अपचलन गरेको तथ्य मिसिलमा प्रहरीले पेश गरेको छ ।
सूर्यदर्शनबाट ब्याज पुँजीकृत गरिएको ३९ करोड २२ लाख बराबरको कर्जा विवरणमा कर्जा खाता नम्बर ००१–००१–११६–०००४४५६ मा मिति २०७९ असार मसान्तमा १४ लाख ७५ हजार १ रुपैयाँ र २०८० असार १३ मा १६ लाख १३ हजार ७ सय १३ रुपैयाँ रवि लामिछानेको नाममा गएको देखाइएको छ ।
रविले यसलाई इन्कार गरेपनि तेस्रो व्यक्ति खडा गरेर सहकारी ठगीबाट बच्न प्रपञ्च रचेको दाबीसहित केही तथ्य प्रहरीले मिसिलमा राखेको छ । सूर्यदर्शनबाट गोरखा मिडियामा साढे ५ करोड गएको देखिन्छ ।
छविले पनि गोरखा मिडियाबाट ५ करोड ५५ लाख २२ हजार ७१४ रुपैयाँ ऋण तथा पेश्कीबापत लिएका छन् । सूर्यदर्शनको ऋण गोरखा मिडियामा ल्याएर खर्च गर्दा जीबी राई, रवि, छविलगायत व्यक्तिहरूको संलग्नता देखिएकाले संगठित अपराध ठहर्ने दाबी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले गरेका छन् ।
रवि आफैंले पनि गोरखा मिडियामा प्रबन्ध निर्देशकका हैसियतमा काम गर्दा भटाभट २२ करोड रुपैयाँभन्दा बढीको चेक काटेका थिए । उक्त चेकमार्फत भुक्तानी भएको रकमलाई प्रहरीले सहकारीको ऋणमार्फत आएको रकम हो भनी मिसिलमा दाबी गर्ने तयारी गरेको छ ।
‘गोरखा मिडियामा विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँ बढी भित्रिएको छ । रवि पदमै रहँदा चेक काटेर दिएका छन् । चेकमार्फत भुक्तानी हुने सहकारीबाटै जम्मा भएको रकम हो भनेर हाम्रो दाबी रहन्छ,’ कास्कीका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘जसमा जीबी, छवि र रविको कम्पनी भएकाले संगठित मुद्दा बलियो हुने देखिन्छ ।’
रविले गोरखा मिडियामा पाएको भनिएको ‘स्वेट शेयर’लाई नै प्रहरीले कीर्तेको रूपमा मानेर मिसिलमा राख्ने तयारी गरेको छ ।
‘गोरखा मिडिया नेटवर्क प्रालिलगायतका कम्पनीहरूमा शेयर खरिदबिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई कीर्ते कागजकै आधारमा खरिदबिक्री भएको पाइएको छ,’ कास्की प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘कम्पनीबाट बिदा हुने बेला शेयरबापत १ करोड ८० लाख रुपैयाँ बुझेको भन्दै रविले औंठाछापसहितको कागज पनि कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएका थिए । कीर्ते कागज बनाएर रकम लेनदेन गरेको आधार यसैलाई बनाइन्छ ।’
पर्साबाट फर्काइएको केही दिनमै मुद्दा बुझाइने
पर्सास्थित सानोपाइला सहकारी संस्थाको रकम अपचलनमा बयान लिन रविलाई पर्सा लगिएको छ । जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बयान सकिएपछि रविलाई पुनः कास्की लगिनेछ ।
सबै तथ्य/प्रमाण जुटाएर मिसिल तयार गरेपछि सरकारी वकिल कार्यालय कास्कीमार्फत जिल्ला अदालत कास्कीमा मुद्दा बुझाउने तयारी प्रहरीको छ ।
कास्की जिल्ला अदालतमा थुनछेकको बहस चल्नेछ ।
रविलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउने वा कुनै आदेश आएको खण्डमा अन्य प्रहरी कार्यालयले मुद्दा छिनोफानो गर्न रविलाई सम्बन्धित जिल्लाका अदालतमा पेश गर्नुपर्ने हुन्छ ।
प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले १० दिनभित्र रविको मुद्दा कास्की अदालतमा बुझाउने तयारी रहेको बताए ।