
बैंकमा उच्च तरलता हुँदा पनि कर्जाको माग ठप्प भएपछि बैंकहरूले गत वर्षको पुसदेखि कर्जा र निक्षेप दुवैको ब्याज निरन्तर घटाउँदै आएका छन् ।
सबै बैंकले कर्जाको ब्याज एकल अंकमा झारेका छन्, त्यसैको प्रभावस्वरूप निक्षेपको ब्याजदर पनि उल्लेख्य घटेको छ ।
राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांकअनुसार साधारण बचत खाताको ब्याजदर घटेर औसत ३ दशमलव ३२ प्रतिशत पुगेको छ भने मुद्दती निक्षेपको ब्याजदर पनि बढीमा ७ दशमलव ४३ प्रतिशत छ ।
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा समग्र मुद्रास्फीति ४ दशमलव ८ प्रतिशत रहेको उल्लेख छ । साधारण बचत खाता भएका निक्षेपकर्ताले पाउने ब्याज र मुद्रास्फीतिबीच नकारात्मक १ दशमलव ४८ प्रतिशत भिन्नता छ । यद्यपि मुद्दती निक्षेपको ब्याजदर भने मुद्रास्फीतिभन्दा केही बढी नै छ ।
बचतकर्ताले पाउने ब्याज निरन्तर ओरालो लाग्दै गएपछि बैंकमा निक्षेप जम्मा हुन छाडेको छ । निक्षेपको ब्याजदर कम हुँदा बैंकमा राख्नुपर्ने पैसा अनावश्यकरूपमा अनौपचारिक क्षेत्रमा जाने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् ।
कर्जाको माग अपेक्षित रूपमा नबढेपछि बैंकहरूले लागत कटौती गर्न ब्याजदर घटाएका हुन् । यसबाट निक्षेपकर्ता निरुत्साहित हुन पुगेका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पछिल्लो एक वर्षमै बैंकहरूमा ३० अर्बको हाराहारीमा निक्षेप घटेको छ ।
बैंकहरूमा कर्जायोग्य रकम उल्लेख्य भएपनि माग त्यसको तुलनामा निकै कम छ ।
कर्जा प्रवाह भयो भने बैंकहरूले कर्जा निक्षेप(सीडी) अनुपात बढाएर ९० प्रतिशतसम्म पुर्याउन सक्छन् र तरलता घट्दै जान्छ । यसले समग्र अर्थतन्त्र चलायमान बनाउन मद्द गर्छ ।
अर्कातर्फ ब्याजदर निकै कम हुँदा निक्षेपकर्ता निरुत्साहित भएर बचत घट्न थाल्छ । त्यसले अर्थतन्त्रमा चुनौती थप्छ । यही तथ्यांक कायम रहने हो भने निकट भविष्यमै अवस्था थप चुनौतीपूर्ण हुँदै जाने जानकारहरू बताउँछन् ।
गत सालको असोजमा बैंकिङ प्रणालीमा ६६ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप थियो । एक साताअघिसम्म उक्त निक्षेप घटेर ६६ खर्ब ३० अर्बमा झरेको छ ।
ब्याजदरमा निरन्तर गिरावट आएका कारण बचतकर्ता निरुत्साहित बनेका हुन् । पछिल्लो २/३ महिनायता बैंकहरूले लक्ष्यअनुरूप निक्षेप संकलन गर्न सकेका छैनन् ।
यसले बैंकिङ प्रणालीमा समस्या सिर्जना गर्न सक्ने अर्थविद् डा. डिल्लीराज खनालको भनाइ छ ।
'मुद्दती बचत खाताको ब्याज त अहिले पनि मुद्रास्फीति भन्दा माथि नै छ, तर त्यो पनि घट्दै गइरहेको छ,' डा. खनालले लोकान्तरसँग भने, 'ब्याजदर कम भएपछि निक्षेपकर्ता निरुत्साहित हुनु स्वाभाविक हो । तत्काल कुनै कदम चालिएन भने यसले चुनौतीपूर्ण स्थिति सिर्जना गर्छ ।'
एक वर्षअघि साधारण बचतकर्ताले करिब ६ प्रतिशत ब्याज पाउने गर्थे भने अहिले त्यो आधा भएको छ । त्यस्तै, मुद्दती निक्षेपकर्ताले करिब ११ प्रतिशत ब्याज पाउने गरेकोमा अहिले त्यो घटेर साढे ७ प्रतिशतको हाराहारीमा आएको छ ।
'तत्काल त बैंकमा लगानीयोग्य तरलता प्रशस्त छ, त्यसैले केही समस्या आइहाल्छ भन्ने छैन तर निक्षेप कमजोर हुँदै गएमा केही महिनामै बैंकहरूबाट तरलता गायब हुने अवस्था आउन सक्छ । यस्तो अवस्थामा नियामक निकाय चुप लागेर बस्नुहुँदैन,' डा. खनालले भने ।
बचतको ब्याजदर घट्दै गएमा बचतकर्ताले बढी पैसा कमाउन शेयर बजारसँगै अनौपचारिक क्षेत्रहरूमा लगानी गर्ने सम्भावना रहन्छ ।
तर, पछिल्लो समय शेयर मार्केटमा पनि उल्लेख्य लगानी भएको देखिन्न । ४ महिनाअगाडि एकै दिनमा करिब साढे ३१ अर्ब कारोबार भएकोमा मंगलबार त्यो घटेर साढे ४ अर्बमा सीमित भएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावल यसरी निरन्तर निक्षेपको ब्याज घट्दा पूँजी पलायन हुन सक्ने खतरा औंल्याउँछन् । उनले लोकान्तरसँग भने, 'बचतकर्ताले शेयर मार्केटमा लगानी गरेको भए त नेपालमै पैसा रहन्थ्यो तर त्यो पनि देखिएको छैन । यदि समयमै केयरफूल नहुने हो भने पूँजी विदेश पलायन हुने खतरा पनि देखिन्छ । पूँजीले देश छाड्न थाल्यो भने त्यो भयावह संकट हुनेछ ।'
उनले अहिले बैंकमा लगानीयोग्य रकम पर्याप्त रहेको भएपनि विश्वासको संकट रहेकाले उद्योगी व्यवसायीले ऋण लिन नसकेको बताए ।
'अहिले विश्वासको संकट छ । यो मौद्रिक नीति या बजेटबाट हल हुने संकट होइन, यसका लागि राजनीतिक तहमै व्यापक सुधारको आवश्यकता छ । २ वर्षअघि बैंकमा पैसा भएन भनेर हल्लाखल्ला मच्चियो, अहिले पैसा धेरै भयो भनेर हल्लाखल्ला मच्चिएको छ । विश्वासको संकटले सिर्जना गरेको समस्या हो यो,' रावलले भने ।
उनले कर्जाको ब्याजदर घटाउनुपर्ने बाध्यतामा बैंकहरू रहेकाले निक्षेपको ब्याजदर पनि स्वतः घट्ने अवस्था आएको बताए । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले ब्याजदर तय गर्ने जिम्मा बजारलाई छाडिएकाले केही अप्ठ्यारो परिस्थिति नआउनेबेलासम्म राष्ट्र बैंकले हस्तक्षेप नगर्ने बताए ।
उनले भने, 'कर्जा र निक्षेप दुवैको ब्याज घटेको अवस्थालाई राष्ट्र बैंकले सजगतापूर्वक हेरिरहेको छ । घट्ने बढ्ने कुरा अहिले बजारलाई छाडिदिएको अवस्था हो । पछिल्लो समय आयात घटेको छ, निर्माण कम भएको छ । बैंकिङ प्रणालीमा पैसा आउने तर बाहिर नजाने प्रवृत्ति देखिएकाले ब्याजदर घटेको हो ।'
बैंकिङ प्रणालीमा तरलता पर्याप्त भएकाले तत्काल आत्तिनु नपर्ने डा. पोखरेलको भनाइ छ ।
तर, मुद्रास्फीतिभन्दा कम ब्याजदर पुग्यो भने बैंकमा पैसा राख्न बचतकर्ता निरुत्साहित हुने हुनाले त्यसबारे राष्ट्र बैंक सजग रहेको उनको भनाइ छ ।
'मुद्दती निक्षेपमा आउने ब्याजदर मुद्रास्फीतिभन्दा माथि नै छ,' उनले भने, 'साधारण बचतको हकमा भने त्यो कम भएको छ । तर, हामीले एक दिनको भन्दा पनि तीन महिना या त्यो भन्दा धेरै अवधिको तथ्यांक केलाउनु पर्छ । त्यसो गर्दा सबै सन्तुलित नै देखिन्छ ।'