
यस साता (मंसिर २३ देखि २७ सम्म) नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १.९२ प्रतिशतले घटेको छ ।
साताको पहिलो दिनदेखि नै दोहोरो अंकले घटेको नेप्से सातको अन्तिम कारोबार दिन बिहीबार पनि दोहोरो अंकले घटेर बन्द भयो । साताभरमा नेप्से ५२.६४ अंकले घट्यो भने यसबीचमा २८ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
यस साता चार कारोबार दिन परिसूचक उच्च अङ्कले घट्यो भने एक दिन मात्रै दोहोरो अंकले बढ्यो ।
सरकार परिवर्तनको हल्लाले शेयर बजारलाई प्रभावित पारेको लगानीकर्ताहरू बताउँछन् । सरकार परिवर्तनसँगै अर्थमन्त्री परिवर्तन हुने हल्लाले पनि शेयर बजारमा गिरावट आएको उनीहरूको बुझाइ छ ।
साताको पहिलो कारोबार दिन २६८९ को बिन्दुमा बन्द भएको नेप्से उच्चतम २७१५.७२ को बिन्दु टेस्ट गरेर फेरि २६८२.२९ को बिन्दुमा झरेको छ ।
आइतबार ४४ खर्ब ६० अर्ब रुपैयाँ बढी रहेको बजार पुँजीकरण साताको अन्तिम कारोबार दिन बिहीबार ४४ खर्ब ४९ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ ।
सामान्य तलमाथि हुने बजारमा निरन्तर गिरावट आउनुको कारण सरकार परिवर्तनको हल्ला नै रहेको शेयर बजारकी जानकार राधा पोखरेल बताउँछिन् ।
सरकार परिवर्तनसँगै अर्थमन्त्री परिवर्तनको हल्लाले पनि बजारलाई निरन्तर घटाएको उनको बुझाइ छ ।
‘शेयर बजारमा यस साता निरन्तर गिरावट हुनुको कारण अर्थमन्त्री परिवर्तन हुने हल्ला प्रमुख रह्यो,’ उनले भनिन्, ‘त्यसले बजारलाई प्रभावित नै पार्यो ।’
शेयर बजारसम्बन्धी अर्का जानकार डुपेन्द्र भट्टराईले पनि सरकार परिवर्तनको गलत प्रचारले यस साताको शेयर बजारलाई प्रभावित बनाएको बताए ।
‘हाम्रो बजारलाई सेन्टिमेन्टले बढी प्रभाव पार्ने गर्दछ । यस साता पनि सेन्टिमेन्टकै भरमा नेप्से घटेको देखियो’, उनले भने, ‘अर्थमन्त्री परिवर्तन हुने हल्लाले मुख्य भूमिका खेल्यो ।’
यस्तो रह्यो साताको कारोबार
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ बिन्दुमा झरेको थियो ।
आइतबार बजारमा १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँको कारोबार भएको थियो ।
आइतबारको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरू सर्वाधिक घाटामा गए ।
नेप्से सोमबार १२.८४ अंकले घटेर २६७६.१५ को विन्दुमा बन्द भएको थियो ।
यस दिन बजारमा १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, साताको तेस्रो कारोबार दिन मंगलबार परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को बिन्दुमा बन्द भयो । यस दिन कुल ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो ।
निरन्तरको गिरावटपछि साताको चौथो कारोबार दिन बुधवार भने नेप्से ४५.८८ अंकले बढ्यो । यस दिन कारोबार रकम ५ अर्ब नाघेको थियो ।
र, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ को बिन्दुमा बन्द भयो । यस दिन कारोबार रकम भने ६ अर्ब १४ करोड बढी रह्यो ।