
भूगोलमा काम गर्ने नेता–कार्यकर्ताले पार्टीका भद्रगोल हटाउन आग्रह गर्दा नेकपा एमालेले नेतृत्वको बचाउमा उत्रिन निर्देश गरेको छ । शनिबार र आइतबार केन्द्रीय कार्यालयमा भएको ‘स्थानीय तहमा पार्टी कामका समस्या समाधान’ कार्यशालामा सहभागीले छरितो संगठन बनाउन र प्रभावकारी मूल्यांकनको विधि बसाल्न सुझाएका थिए ।
नेकपा एमालेलाई नेता/कार्यकर्ताले मूल्यांकन गर्ने प्रणाली विकास गर्न र आफ्ना मान्छेबाट मात्रै सूचना प्रवाहको बाटो बन्द गर्न सुझाव दिएका छन् । पार्टीका कार्यकारी भूमिकामा रहेका नेताहरूले नै स्थानीय सरकार जनताको समस्यासँग जोडिन नसकेको र सुशासनको प्रत्याभूति दिन नसकेको जस्ता प्रश्न उठाए । तर, नेतृत्वले पार्टीमाथि भएको कुप्रचारको विरुद्धमा लाग्न निर्देश गरेको छ ।
कार्यक्रममा पार्टीका संगठनात्मक सुधार, पार्टी अभियान, पार्टीका नीति, नेता र कार्यक्रमको बचाउसहितका विषयमा छलफल भएको जानकारी संगठन विभागका सचिव माधव ढुंगेलले दिए । एमालेको ७७ जिल्ला कमिटी अध्यक्ष, सचिव, संगठन विभागका प्रमुख, प्रदेश पदाधिकारीहरू थिए । त्यस्तै, २३ वटै जनसंगठनका अध्यक्ष र महासचिव गरी जम्मा ३०० हाराहारी सहभागी थिए ।
‘हामीले देशभर एमालेको कार्यकारी जिम्मेवारीमा रहेका ३१५ जनालाई बोलाएकोमा ३०० जना जति सहभागी हुनुभएको थियो । उहाँहरू सबैलाई १० वटा प्रश्न सोधेका थियौं, जसमा १० वटै समूहमा छलफल गरेका छौं,’ ढुंगेलले भने, ‘महासचिवको हस्ताक्षरमा पनि अर्को प्रश्न सोधिएको छ । यसमा सबैले लिखित जवाफ दिनुहुन्छ । तत्काल पार्टीको सन्दर्भमा गर्नुपर्ने विषयमा सोधिएको प्रश्न र छलफलको सार यही पुस मसान्तभित्रै प्रतिवेदन बनाएर पार्टीलाई बुझाउँछौं ।’
पार्टीलाई स्थानीयका घरसम्म पुर्याउने अभियान रहेको उनले बताए ।
‘एमालेको नेतृत्व पंक्ति तलसम्म पुग्न सकेको छैन भन्ने निष्कर्ष र कार्यक्रम तय छ । अर्कोतिर युवाबीच पार्टीलाई पुर्याउने अभियान छ । प्रविधिको युगमा पार्टी संगठनका शैलीलाई डिजिटल प्लेटफर्ममार्फत अगाडि बढाउनुपर्छ भन्नेमा लागेका छौं,’ ढुंगेलले भने ।
एमालेमा पार्टी नेतृत्वमाथि भएको अनर्गल प्रचारको प्रतिवादलाई प्रभावकारी बनाउनुपर्ने विषय उठेको पनि ढुंगेलले बताए ।
‘पार्टीको नेतृत्वमाथि अनर्गल कुप्रचार भएको छ । असत्य कुरालाई सत्यझैँ गरिएको प्रचारलाई चिरौं भन्ने कुरा उठेका छन्,’ ढुंगेलले भने, ‘एमालेमाथि भएको कुप्रचारविरुद्ध एक भएर उभिन र समस्या मसिनो गरी केलाउन कार्यशाला गरेका हौं ।’

नेतृत्वले पार्टीमाथि उठेका विषयलाई प्राथमिकता दिए पनि सम्बन्धित भूगोलमा काम गरेका नेताहरूले समस्याका कुरा उठाएका छन् ।
एमाले काभ्रेका सचिव एवं संगठन प्रमुख राजकुमार सापकोटाले पार्टी कामको आवश्यकताअनुसार कमिटी गठन गर्न, नेताले सामूहिक भेट गर्न र कार्यकर्ताको पनि व्यक्तिगत फाइल बनाउन माग गरे ।
‘पार्टी कमिटी ठूला भए, यसैले कामको आवश्यकताका आधारमा मात्रै गठन गर्नुपर्छ । नेताले व्यक्तिगत होइन, सामूहिक भेटलाई मात्रै प्राथमिकता दिने प्रणाली बनाएर जाऊँ । विधानमा भएका व्यवस्थालाई अनिवार्य पालना गरौं,’ सापकोटाले भने, ‘पार्टीभित्र अनुगमन मूल्यांकनको र डेस्क बनाएर कार्यकर्ताको व्यक्तिगत फाइलको व्यवस्था गरौं । कार्यकर्तालाई पाठ दिने र यसकै आधारमा मूल्यांकन गरेर जिम्मेवारीमा जवाफदेहिता खोज्नुपर्छ ।’
पार्टीभित्रका सूचना दिँदा फेबरेट मान्छे खोज्न नहुने भन्दै सापकोटाले पार्टीले तहगत संरचना अनुसार सूचना प्रवाह गर्नुपर्ने बताए । अब राजनीतिक परिवर्तनको मुद्दाका लागि लड्नुपर्ने अवस्था नरहेको भन्दै सापकोटाले समाजवाद बुझ्ने, पढ्ने र प्रशिक्षित गर्न सक्नेको खोजी गर्नुपर्ने बताए । समाजवाद बुझाउने नेता हुँदा पार्टीले अवसर पाएका स्थानीय तह, प्रदेश र संघमा प्रभावकारी काम देखाउन सक्ने उनको भनाइ छ ।
संगठन विभाग सचिव ढुंगेलले पार्टीले मुख्य समस्या पहिचान गरेर प्रतिवेदन तयार गरेपछि चैतदेखि तीन महिना ‘वडाकेन्द्रित अभियान’, सदस्यता विस्तार, ‘जनतासँग संगठन अभियान’जस्ता कामलाई अझै प्रभावकारी बनाउने जानकारी दिए ।
अनेरास्ववियुका महासचिव नरेश रोकायाले देशैभरका जनप्रतिनिधि उत्तरदायी बन्न नसकेको बताए ।
‘जनताले देख्ने र अनुभूति गर्ने स्थानीय सरकार हो । जनताको आधारभूत आवश्यकतासँग जोडिएको यो सरकार सुस्त गतिमा हिँड्यो । जनताको गुनासो सम्बोधन गर्नै सकेन । जनताले सुशासनको अनुभूति गर्न पाएनन्,’ रोकायाले भने, ‘यसैले समग्र जनप्रतिनिधिलाई उत्तरदायी बनाउने कार्यक्रम बनाउनुपर्छ । अहिलेकै पाराले चल्दैन भन्ने सुझाव दिएको छु ।’
रोकायाले एमालेको वडा र टोल कमिटी चलायमान नभएको पनि बताए ।
‘एमालेजस्तो पार्टीमा वडा र टोल कमिटी जसरी चलायमान हुनुपर्थ्यो, त्यो हुन सकेको छैन,’ रोकायाले भने, ‘यसैले पार्टीले देशभरका ६७४३ वडाका कमिटीलाई क्रियाशील बनाउने कार्यक्रम ल्याउनुपर्छ ।’
रोकायाले नागरिकको सबैभन्दा बढी खर्च हुने शिक्षा र स्वास्थ्यलाई निःशुल्क गराउन तीनै तहका सरकार लाग्नुपर्ने बताए ।
‘अहिलेको हरेक परिवारको सबैभन्दा धेरै खर्च शिक्षा र स्वास्थ्यका लागि हुन्छ । बेटर लाइफका लागि विदेशिने क्रम पनि यही महंगीले नित्याएको हो । यसैले तीन तहका सरकार सचेत भएर शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन लाग्ने हो भने देशमा केही गरौं भन्ने भावना जागृत हुन्छ ।’
भूगोलमा काम गर्ने नेताले नेतृत्व, नीति र संगठनका विषयमा प्रश्न उठाएका छन् । तर, नेतृत्व तहमा बस्ने नेताहरू पार्टीमाथि गरिएको गलत प्रचारको भण्डाफोर अबको अभियान भएको बताउँछन् ।
‘पार्टीमा समस्या छन् भने अधिवेशनमार्फत सम्बोधन गरिन्छ । तर, हामीले अबको ३ महिना वडाकेन्द्रित अभियानमा एमालेविरुद्ध गरिएका गलत प्रचारलाई चिर्नुछ,’ एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले भने, ‘तर पार्टीको विचार, नीति र नेतृत्वमा समस्या छैन । अलिअलि देखिएका समस्या पनि दीर्घकालीन होइनन्, अल्पकालीन हुन् ।’
स्थानीय तहसम्मका समस्या सुन्न भन्दै पार्टीले कार्यशाला राखे पनि नेतृत्वको बचाउमा उत्रिन बढी निर्देश गरिएको अर्का एक नेताले जानकारी दिए ।
‘भन्नलाई पार्टी नेतृत्वले स्थानीय तहमा पार्टी संगठनका समस्या र जनप्रतिनिधिका काम गराइसहितका समस्याबारे सुझाव दिन बोलाइयो,’ एमालेका एक नेताले भने, ‘तर, भद्दा कमिटीले काम नगरेको, नेताहरूले माथिबाट एकलौटी गरेको कुरा सुन्ने भन्दा गुटबन्दी नगर्नू, असन्तुष्टि भन्दा नेतृत्वको बचाउमा उत्रिनू भन्ने आदेश केन्द्रबाट आएको बुझेका छौं ।’
अनुशासित र मर्यादित हिसाबले पार्टी नलचेको भन्दै कम्युनिस्ट पार्टीलाई निर्मम ढंगले चेन अफ कमान्डमा चलाउने गरी फरक मतलाई नै बर्जित गर्न खोजिएको ती नेता बताउँछन् । ‘कतिपय अवस्थामा स्वस्थ प्रतिस्पर्धाको अभ्यासलाई पनि गुटगत कदम भन्दै नेतृत्वले यसको प्रतिवाद गर्न माथिबाटै सर्कुलरजसरी आदेश दिएको छ,’ ती नेताले भने, ‘समस्या के हुन् भनेर सुन्नुपर्नेमा नेतृत्वकै बचाउमा उत्रिन गरेको आदेशले मात्रै पार्टी सुध्रिँदैन ।’
स्थानीय तहको चुनावमा पराजित भएको विषयमा समेत निर्मम समीक्षाका लागि पार्टी तयार हुनुपर्ने विषयमा कुरा उठेको अर्का एक नेताले बताए । ‘हामीले केही नयाँ ठाउँ जित्यौं, तर समग्रमा स्थानीय तहको उपनिर्वाचनमा एमाले माओवादीभन्दा पनि पछाडि पर्नुलाई सामान्य हिसाबले लिन मिल्दैन,’ ती नेताले भने, ‘कमजोरी केलाउने र सिक्नेभन्दा नेतृत्वले गरेको ठीक छ भन्ने हिसाबले मात्रै अगाडि बढ्न खोजिएको पायौं । हाम्रा सुझाव सुझावकै रूपमा रहने देखियो ।’

गुट नभएको सन्देश दिन ओलीको अपिल
कार्यशालामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनपछि गुटबन्दी नरहेको बताएका थिए । आफूपछि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल प्रतिस्पर्धामा रहेको संकेत गर्दै ओलीले नामै लिएर उनीहरू दुवैको गुट नरहेको बताएको एक नेताले जानकारी दिए ।
‘विष्णु पौडेल र शंकर पोखरेलको गुट छ भनेर भन्छन् । तर, दुवैले मलाई सघाउनुभएको छ । दुवै मेरा लागि बराबर हो,’ ओलीले बैठकमा भनेका थिए, ‘अरू दलमा नेताका नामका गुट होलान् । तर, एमाले पुनर्गठन भएपछि न विष्णु पौडेलको गुट छ, न शंकर पोखरेलको । यसैले कोही भ्रममा नपरौं ।’
यद्यपि ओलीले केही जिल्लामा पौडेल र पोखरेलको नाममा गुटबन्दीको अभ्यास हुन थालेको बताएको एक नेताले जानकारी दिए ।
‘पौडेल र पोखरेलको नाममा गुटबन्दी भयो भनेर हल्ला भयो । तर, उहाँहरू दुवैको साझा नेता मै हो,’ ओलीले कार्यक्रममा भनेका थिए, ‘यदाकता जिल्लामा दुवैको नाममा गुटबन्दी हुन थालेको देखिएको छ । नीति र नेतृत्वमा विवाद छैन भने तल साथीभाइले गुटबन्दी गर्न आवश्यक छैन ।’
‘पूर्वराष्ट्रपति हामीले ल्याए मात्रै राजनीतिमा आउने हो’
ओलीले आवश्यक परे पूर्व राष्ट्रपति विद्या भण्डारीलाई आफूहरूले नै राजनीतिमा ल्याउने बताए । तर, विवाद बढाउन भण्डारीको नाममा गुटबन्दी गर्ने कार्य अनुचित भएको उनले बताए ।
‘केहीले पूर्व राष्ट्रपतिलाई एमालेको सक्रिय राजनीतिमा ल्याउनुपर्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । दुई–दुईपटक सम्मानित ठाउँमा पुग्नुभएको उहाँ राजनीतिमा आउने देख्दिनँ,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँको आवश्यकता पर्दा हामीले बोलाए मात्रै एमालेको राजनीतिमा आउने हो । तर, उहाँको नाममा टीम निर्माण गर्ने र गुटबन्दी गर्ने काम कसैले पनि नगर्नुहोला ।’