२९ असार २०८३, सोमबार

उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच बजार प्रवर्द्धन समझदारी

पुस ४, २०८१
काठमाडौं
उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच बजार प्रवर्द्धन समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा)बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवाङ कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो । 

आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुई देशबीचको व्यापार घाटा करिब ७ अर्ब रूपैयाँ छ । 

नेपालबाट हाल फेल्ट, गलैचा, धागो लगायतका परम्परागत सामान बढी गइरहेको सन्दर्भमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ । 

नेपाल-कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताएए । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोलस्थित नेपाली दूतावासद्वारा आयोजित  ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठूला बजारसँगको सामिप्यता कोरियाली लगानीकर्ताका लागि महत्त्वपूर्ण रहने बताए । 

ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गरे । 

उनले सरकारको लगानी सम्बन्धी आठ कानून संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमको जानकारी गराए । साथै, दुईपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्त्वपूर्ण कदम भएको बताए ।

विदेशी मुद्रा सञ्चिति करिब १७  अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिङ भएको जानकारी पनि लगानीकर्तालाई दिए । नेपालको रेटिङ दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उनको धारणा छ । 

ढकालले पूर्वाधार विकासको महत्त्व पनि औंल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, शहरी योजना, होटल रिसोर्ट, केबलकार र स्मार्ट सिटीहरूमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गरे । 

ढकालले कोरियाली व्यवसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न निमन्त्रणा दिँदै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको विश्वास दिलाए । 

salt training

कमेन्ट गर्नुहोस्