
अभिनेत्री मलाइका अरोडा र अर्जुन कपूर कुनै समय बलिउडको सबैभन्दा चर्चित जोडी थिए । उमेरको भिन्नताका कारण यो जोडीले सम्बन्धका क्रममा धेरै ट्रोलको सामना गर्नुपरेको थियो ।
तर केही महिना अघि मलाइका र अर्जुनबीच ब्रेकअप भयो । हालै अर्जुन कपुरले पनि एक सार्वजनिक कार्यक्रममा आफू अविवाहित भएको दाबी गरेका थिए । त्यसयता चुप रहेकी मलाइकाले अहिले आफ्नो मौनता तोडेकी छन् ।
इटाइम्ससँगको एक अन्तर्वार्तामा मलाइकाले आफ्नो व्यक्तिगत जीवन गोप्य राख्न रुचाउने भएकाले अर्जुनसँगको सम्बन्धबारे टिप्पणी नगर्ने बताइन् ।
'म आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गर्न सार्वजनिक मञ्च रोज्न चाहन्न । त्यसैले, अर्जुनले जे भनेका छन्, त्यो पूर्णतया उनको व्यक्तिगत छनोट हो,' मलाइकाले भनिन् ।
आफ्नो जीवनमा यो वर्ष धेरै चुनौती आएकाले अब आउने वर्षमा नयाँ शुरुवात गर्ने उनको भनाइ थियो ।
अर्जुन कपुर आफ्नो फिल्म सिंघम अगेनको प्रमोशनका क्रममा मुम्बईमा भएको दिपावली कार्यक्रममा पुगेका थिए । यस क्रममा पत्रकारले मलाइकाबारे सोधेपछि उनले मुस्कुराउँदै भनेका थिए, 'होइन, म अहिले एक्लै छु, आराम गर्दैछु ।'