०९ असार २०८३, मंगलबार
क्रूरतामुक्त किचन

‘मिस्टर कन’को 'भेगन' रेस्टुरेन्ट

पुस २०, २०८१
बुटवल
‘मिस्टर कन’को 'भेगन' रेस्टुरेन्ट

नेवारी समुदायका धेरैजसो चाडपर्वमा माछा/मासु अनिवार्यजस्तै मानिन्छ । तर, रूपन्देहीका राज श्रेष्ठको परिवार भने तीन पुस्तादेखि शाकाहारी थियो । दुई दशक भारतीय सेनामारहँदा पनि उनले कहिल्यै माछा/मासु खाएनन् । स्वस्थ जीवनशैली र सकारात्मक सोचका लागि शाकाहारी भोजन गर्नुपर्छ भन्ने उनको बुझाइ थियो । 

पल्टनबाट फर्किएपछि ‘भेज’ खाजाघर खोल्नुपर्छ भन्ने उनको मनमा थियो । ‘भेजिटेरियन’ श्रेष्ठले भेज मात्र होइन भेगन होटल/रेष्टुरेन्ट चलाउने योजना पनि बनाएका थिए । 

श्रेष्ठले मणिग्राममा ‘मिस्टर कन’को ‘फ्रेन्चाइज’ लिएर पूर्ण शाकाहारी अर्थात् बुटवल भेज एण्ड भेगन रेष्टुरेन्ट शुरू गरे । पाँच वर्ष मणिग्राममा चलेको भेज एण्ड भेगन अहिले बुटवलको ट्राफिक चोकमा सरेको छ । पशुबाट उत्पादन हुने कुनै पनि परिकार समावेश नगराइने होटललाई भेगन भनिन्छ ।

मासु खानेहरूले यो परिवार खाँदा साच्चै भेज हो र ? भनेर प्रश्न गर्ने गरेको राज बताउँछन्, ‘भेगनको स्वाद लिएपछि माछा/मासु खानेहरूलाई पनि मासुजन्य परिकार खानुपर्छ भन्ने फिल हुँदैन,’ राज भन्छन्, ‘भेज एण्ड भेगन भनेको विशुद्ध शाकाहारी हो, यस किसिमको खानेकुरामा गाई/भैंसीको दूधदुग्धजन्य परिकार समेत वर्जित छ । किनभने, दूध प्रकृतिले उसकै बाच्छाका लागि दिएको हो, मान्छेको लागि होइन भन्ने भेगनको मान्यता छ ।’

यसरी प्रकृति वा पशुपंक्षीसँग भावनात्मक रूपमै एकाकार भएर फरक किसिमको खानेकुरा तयार गर्नुलाई भेगन खाना भनिने श्रेष्ठको भनाइ छ । यो खानामा अण्डा, मासु, डेरी प्रोडक्टलगायत सबै प्रकारका पशुजन्य उत्पादन खाना/खाजामा प्रयोग रिँदैन । मानिसहरूले विभिन्न कारण भेगन खानेकुरालाई ‘फलो’ गर्ने क्रम बढ्दो छ । रेस्टुरेन्टमा प्लान्ट बेस परिकारहरू बनाइन्छ । मकैको मःम, कन मःम, अमेरिकन कन, कनचिल्ली, कन फिटर, कन झोल मःम, कन सुप बन्छ । त्यस्तै भेगनतर्फ छोयला, सुकुटी, बाइटस मःम, नगेट, चिल्ली किमा, करीलगायत परिकार बन्छन् । आलस, सियासिस, जुनेली, मकै, गहुँ, मटर, भट्ट र क्युनालाई पेलेर राइस ब्राण्ड तेलबाट परिकार बनाइन्छ । राइस ब्राण्ड तेल भनेको चामलको ढुटो (भुस)बाट बनाइने तेल हो । भेगनका  परिकारमा प्रोटिन, क्याल्सियम, फाइबर पाइन्छ भने कोल्ड स्टोर शून्य हुने राजको भनाइ छ ।  

फलफूल, सागसब्जी, अन्न, ड्राइफ्रुटस्लगायत वनस्पतिबाट उत्पन्न हुने खाद्यान्न तथा विभिन्न बीउमार्फत् उत्पादन हुने आहार नैं भेगनअन्तर्गत पर्दछ । रेष्टुरेन्ट खोलेपछि उनलाई धार्मिक क्षेत्रका अनुयायीहरूको पनि साथ पाए । ‘हाम्रोमा आएर एक पटक खाएपछि फेरि आउनेहरू धेरै छन् । यसले हामीलाई उत्साहित बनाएको छ,’ राज भन्छन्, ‘अब हामीले यसलाई प्रदेशका प्रमुख ठाउँमा विस्तार गर्ने सोच बनाएका छौं ।’

भेगन खानालाई अभियानको रूपमा लैजान धेरै व्यक्तिहरू जोडिँदै गएका छन् । धेरैलाई भेगन खानाबारे थाहा होस् र भेगन किन हुने भन्ने पनि थाहा पाउन् भन्ने आफ्नो सोच रहेको श्रेष्ठले बताए । 

‘जो साँच्चै नै शाकाहारी भएका छन्, उनीहरू कुनै न कुनै दिन भेगनमा परिवर्तन हुन्छन् । हामी सबै शाकाहारी कुनै न कुनै दिन भेगन हुन्छन् भन्ने विश्वास गछौं,’ उनले भने । प्रत्येक घरमा एक/एक जनाले यो परिकार खाए केही वर्षभित्र मासु छाड्ने उनको दाबी छ । 

भेगन रेस्टुरेन्ट चलाउन  अझै पनि चुनौती छ । किनभने भेगनबारे धेरैले अझै बुझ्न सकेका छैनन् । तर, पछिल्लो समय भेगन खानामा धेरैको चासो बढ्दै गएको उनी बताउँछन् । ‘अहिले धेरै मानिसको भेगनप्रति चासो बढ्दो छ । झट्ट हेर्दा मासुजस्तो, खादा स्वाद पनि मासुजस्तो तर, त्यो मासु होइन । भेगन खान थालेपछि धेरैले मासु खान छाडेका उदाहरण छन् । गाउँघरतिर ‘इग्नोर’ गरिएको अर्गानिक खाजा/खानालाई जर्गेना गर्न खोजिएको छ । अर्गानिक र सिजनल फलफूल र तरकारीलाई प्राथमिकता दिइन्छ ।’

अफ सिजनको तरकारी र फलफूलमा बढी केमिकल प्रयोग गरिने भएकोले सिजनल मात्रै प्रयोग गरिएको उनले बताए । ‘भेगन खानामा क्रूरता छैन, भेगनको किचन क्रूरता रहित हुन्छ, क्रूरता नभएको खाँदा मानिसलाई खान पनि आनन्द आउँछ,’ उनी भन्छन्, ‘हाम्रोमा धेरैजसो आध्यात्मिक आउँछन् । अरू पनि नआउने होइन । हामीले जस्तो खाना खान्छौं दिल र दिमाग पनि उस्तै हुन्छ । यस्तो खानाले मानिसको सोच्ने शक्तिलाई पनि बढाउँछ र शान्त र स्वच्छ बनाउँछ ।’

salt training

कमेन्ट गर्नुहोस्