०८ असार २०८३, सोमबार
माननीयलाई नैतिकताको प्रश्न

सांसदको उपचार खर्च– ९ लाख ९९ हजारसम्म दाबी, ४ सय २५ रुपैयाँ पनि छाडेनन् !

'उपचार खर्च माग्नेमा पहुँचवाला नेतादेखि काठमाडौंका रैथाने सांसदसम्म’​
पुस २१, २०८१
काठमाडौं
सांसदको उपचार खर्च– ९ लाख ९९ हजारसम्म दाबी, ४ सय २५ रुपैयाँ पनि छाडेनन् !

दुर्गमका सर्वसाधारण जनताले आधारभूत स्वास्थ्य सेवा समेत नपाइरहेको समयमा संघीय संसद्का पदाधिकारीले राज्य कोषबाट लाखौं उपचार खर्च बुझेका छन् ।

उपचार खर्च लिनेमा राजधानी काठमाडौं उपत्यकामा घर हुने र पहुँचवाला सांसदहरू समेत छन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनमा सांसदलाई उपचार गराउँदा लागेको बिलअनुसारको खर्च दिने व्यवस्था गरिएको छ । 

सांसदहरूले उपचार खर्च लिन पाउने कानूनी व्यवस्था रहे पनि यो विषय नैतिकतासँग जोडिने गरेको छ । 

संघीय संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा २०७९ पुस देखि २०८१ मंसिरसम्म १६० पटक स्वास्थोपचारको बिलबापत भुक्तानी गरिएको छ ।

कतिपय सांसदले २ वर्षको अवधिमा ६ पटकसम्म उपचार खर्च लिएका छन् । 

सचिवालयले उपलब्ध गराएको विवरणअनुसार दुई आर्थिक वर्षमा गरेर ३५ लाख २७ हजार १ सय रुपैयाँ उपचार खर्च भुक्तानी गरिएको  छ । 

आर्थिक वर्ष ०७९/८० मा ११ लाख २ हजार ८ सय २९ तथा ०८०/८१ मा २२ लाख १ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गरिएको हो । 

आर्थिक वर्ष ०८१/०८२ मा २ लाख २२ हजार ८ सय १ रुपैयाँ भुक्तानी भएको छ ।  

४ सय २५ रुपैयाँदेखि ९ लाख ९९ हजारसम्म

कांग्रेस सांसद मनोरमा शेरचनले २०८० जेठ १२ गते ३ लाख ४८ हजार २ सय ५ रुपैयाँ बुझेकी छिन् । 

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौलाले ३१ हजार ५ सय १८ रुपैयाँ उपचार खर्च लिएका छन् ।

सिटौलाले २०८० फागुन २९ गतेदेखि संसदीय दलको नेताको हैसियतमा सवारीसाधन र इन्धन सुविधा लिइरहेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले २०८० पुस ३ गते २ लाख ९३ हजार ४५६ रुपैयाँँ बुझेका छन् । 

भक्तपुर २ बाट निर्वाचित कांग्रेस सांसद दुर्लभ थापा क्षेत्रीले ४४ हजार ८ सय ३ रुपैयाँँ उपचार खर्च लिएका छन् । 

नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले ०८१ कात्तिकमा २८ हजार ७ सय ६० रुपैयाँँ उपचार खर्च लिएका छन् ।

एमालेकै सांसद एवं पूर्वमन्त्री भीम आचार्यले कात्तिक १ गते २७ हजार ४ सय ४७ रुपैयाँ उपचार खर्च लिएको संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका नेकपा एसका नेता राजेन्द्र पाण्डेले २०८० चैत्र १६ गते २७ हजार ७ सय ५० रुपैयाँ बुझेका छन् । 

नेकपा एसकै उपाध्यक्ष एवं पूर्वमन्त्री बेदुराम भुसालले २०८० वैशाख २६ गते २३ हजार २ सय ३१ रुपैयाँ उपचार खर्च लिएका छन् । 

कार्यकाल सकिएका राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २०८० वैशाख २६ गते ८३ हजार ८ सय ३७ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

पूर्वअध्यक्षको हैसियमा उनी संसद् सचिवालयले उपलब्ध गराएको विद्युतीय गाडी चढिरहेका छन् । 

दोहेर्‍याएर उपचार खर्च लिनेमा सांसदहरू उदयबहादुर बोहोरा, रणेन्द्र बराली, नारायणदत्त मिश्र, रुक्मिणी राना बराली, गंगाकुमारी बेलबासे, मंगलप्रसाद गुप्ता, रणकुमारी बलम्पाकी मगर, लीलानाथ श्रेष्ठलगायत छन् । बोहोराले ६ पटक उपचार खर्च बुझेका छन् ।

कांग्रेस सांसद विनाकुमारी थनैतले ४ पटक उपचार खर्च लिएकी छिन् । २०८० भदौ १५ गते ९ लाख ९९ हजार ४८७ रुपैयाँ दिएको देखिन्छ । उनले २०८१ वैशाख १३ मा ३६ हजार २ सय ४४ र ३ हजार ५ सय ४८ रुपैयाँ लिएकी छिन् । त्यस्तै, असार २४ गते १६ हजार ९ सय ४१ रुपैयाँ लिएको संसद् सचिवालयले उपलब्ध गराएको विवरणमा देखिन्छ । 

राष्ट्रिय सभा सदस्य सुमित्रा बीसीले एकपटकमा ४२५ रुपैयाँ उपचार खर्च लिएकी छिन् । संसद् सचिवालयले उपलब्ध गराएका १७० बिलको भुक्तानी विवरणमध्ये यो सबैभन्दा कम हो ।

बिरामी भएपनि जसले उपचार खर्च लिएनन्

गम्भीर बिरामी भएर संसद् बैठकमा उपस्थित हुन नसकेका केही सांसदले भने उपचार खर्च लिएका छैनन् । 

मस्तिष्क घातका कारण गम्भीर बिरामी परेका नेकपा एमालेका सांसद वसन्त नेम्वाङ लामो समय अस्पतालमा बसेका थिए । तर, उनले संसद् सचिवालयबाट उपचार खर्च लिएका छैनन् । 

राप्रपाका दीपक बोहरा पनि लामो समयदेखि बिरामी छन्, उनी पछिल्लो समय चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए । २०७९ सालमा चुनाव जितेर आएपछि उनी संसदमा बोलेका छैनन् ।

उनको समयमा ज्ञानेन्द्र शाहीले सम्बोधन गरिदिएका थिए । गम्भीर बिरामी परेका बोहराले पनि संसद सचिवालयबाट उपचार खर्च लिएका छैनन् । 

बिरामी परेर संसदमा अनुपस्थितिको सूचना दिएकी कांग्रेस सांसद अम्बिका बस्नेतले पनि उपचार खर्च लिएकी छैनन् ।

उनीहरूले मन्त्रिपरिषदबाट निर्णय गराएर छुट्टै हिसाबले खर्च लिएको भए अलग कुरा हो, तर संसद्बाट लिएको देखिन्न ।

सांसदले उपचार खर्च लिनु नैतिक विषय

सांसदहरूले उपचार खर्च दाबी गर्नु कानूनसम्मत देखिएपनि नैतिक प्रश्न भएको सुशासनविदहरू बताउँछन् । 

संसदका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनको दफा १४ मा उपचारसम्बन्धी व्यवस्था छ ।

‘अस्पतालमा उपचार गर्नुपर्ने भनी उपदफा (१) बमोजिमको चिकित्सकले सिफारिश गरेको पदाधिकारी वा सदस्यले अस्पतालमा उपचार गराउँदा लागेको बिलबमोजिमको खर्च संघीय संसद् सचिवालयले व्यहोर्नेछ,’ सोही दफाको उपदफा २ मा भनिएको छ । 

प्रशासनविद् पूर्व प्रशासक खेमराज रेग्मी कानूनअनुसार उपचार खर्च लिनु स्वाभाविक भएपनि विगतमा पुरुष सांसदले समेत सुत्केरी भत्ता लिएकाको देखिएकाले आशंका गर्ने ठाउँ रहेको बताउँछन् ।

‘कतै उनीहरूले नक्कली बिल बनाएर उपचार खर्च लिएका छन् कि ? यदि त्यसो गरेका छन् भने त्यो बदमासी हो,’ रेग्मीले लोकान्तरसँग भने । 

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पहुँचवाला र सम्पन्नशाली नेताले उपचार खर्च लिनु अनैतिक भएको बताउँछन् । 

‘राज्यले उपलब्ध गराएको तलब भत्ताले उपचार गर्न पुग्दैन भने उनीहरूले उपचार खर्च लिनु स्वाभाविक मानिएला, तर उपचार खर्च दाबी गर्नेमा पहुँचवाला नेता पनि छन्,’ शाहीले लोकान्तरसँग भने, ‘काठमाडौंमा घर भएका र करोडौं सम्पत्तिको विवरण बुझाएका नेताले राज्य कोषको २ रूपैयाँ पनि नछाड्नु अनैतिकताको पराकाष्टा हो, एकप्रकारको भ्रष्टाचार नै हो ।’ 

सचिवालयमा एकजना वरिष्ठ चिकित्सकको व्यवस्था गरिएको छ । तर, सांसदले कानूनबमोजिम ती चिकित्सकको प्रेस्क्रिप्सनको आधारमा मात्र बाहिर उपचार गराएर खर्च दाबी गर्नुपर्नेमा अधिकांशले बाहिर आफूखुशी उपचार गराएर खर्च माग्ने गरेको सचिवालयका एक अधिकारी बताउँछन् ।

पढ्नुहोस्, यो पनि :

८७ सांसदले लिए उपचार खर्च, ३ सय ५० देखि करीब साढे ४ लाखसम्मको बिल [सूचीसहित]

हेर्नुहोस्, सांसदहरूले लिएको उपचार खर्चको विवरण : ​

salt training

कमेन्ट गर्नुहोस्