२५ असार २०८३, बिहीबार
एमाले-माओवादी तिक्तता

आरोप–प्रत्यारोपमा सकिएका एमाले-माओवादी बैठक र कम्युनिस्ट आन्दोलनको क्षयीकरण

पुस २४, २०८१
काठमाडौं
आरोप–प्रत्यारोपमा सकिएका एमाले-माओवादी बैठक र कम्युनिस्ट आन्दोलनको क्षयीकरण

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक तीन दिनअघि शुरू भएर मंगलबार साँझ समापन भएको छ ।

बैठक एकैदिन शुरू र समापन हुनु एउटा संयोग त  हो नै, दुई ठूला कम्युनिस्ट पार्टीको बैठकले के सन्देश दियो भन्ने विषयले पनि महत्त्व राख्छ । 

एमालेको आठौं केन्द्रीय कमिटी बैठक सकिँदै गर्दा पार्टीभित्र कुनै पुरानो गुट नरहेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । यता माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको सन्देश हो भनेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन् ।

एमाले सत्तापक्ष र माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल हुन् । यी दुई ठूला कम्युनिस्ट पार्टीभित्र असन्तुष्टि छ भन्ने अध्यक्षद्वय ओली र प्रचण्डले मंगलबार दिएको अभिव्यक्तिले पुष्टि गर्दछ ।

एमालेमा पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारी मुक्त गर्ने निर्णय भएपछि पार्टी पंक्तिमा असन्तुष्टि छ ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दस्तावेजमा यसअघि नै उपमहासचिव जनार्दन शर्माले फरक मत पूरकका रूपमा पेश गरिसकेकाले प्रस्तावको छिनोफानो यही बैठकबाट हुन्छ भन्ने आशा थियो ।

पार्टी पंक्तिमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाषा फरक भए पनि एउटै शैलीले पार्टी एकढिक्का रहेको भन्ने मनोविज्ञान प्रवाह गर्नु आफैंमा संयोग हो । 

‘एमालेमा अब कुनै पनि पूर्व समूहहरू छैनन् । हामी पूर्व समूह खोज्नेतिर होइन, वर्तमानको एमाले खोज्नेतिर लागौं । भरभराउँदो आजको एमाले खोजौं । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो’, अध्यक्ष ओलीले बैठक समापनमा भने ।

बैठक शुरू हुँदै गर्दा एमाले सचिव लेखराज भट्टको क्षेत्रमा पूर्व माओवादीबाटै आएका एमाले नेताहरूले पार्टी छाडे । माओवादी ‘जनयुद्ध’प्रति एमाले महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहितले अपमान गरेको गुनासोसहित कैलालीमा उनीहरूले पार्टी छाडेका थिए ।

पार्टीभित्र एकता प्रक्रियामा आएका र फरक विचार राख्नेहरूलाई स्थान दिइँदैन भन्ने भाष्य स्थापित भइरहेकाले ओलीले ‘आजको एमाले खोजौं’ भनेर बैठकमा भनेका छन् । अध्यक्ष ओलीले पूर्व मालेदेखिको अवशेष जोड्दै दश बुँदे, पूर्व माओवादीको कुनै गुट नभएको दाबी गरे ।

बरु पार्टीबाट रावललाई किन निकालियो भन्ने सन्दर्भमा ओली कडाइका साथ जवाफमा उत्रेका छन्, जसले राजनीतिक भवितव्य भए एउटा आशा हो, नत्र रावल एमालेमा फर्किने बाटो लगभग बन्द गरिदिएको छ ।

पाण्डे र तिम्सिनाप्रति पनि ओलीले उदारता प्रकट गरेनन् । धेरैले पाण्डे र तिम्सिनाको जिम्मेवारी स्थगन फुकुवा हुन्छ भन्ने आशा राखेका थिए । यद्यपि उनीहरू अबको ५ महिना परीक्षणमै रहने भएका छन् ।

पाण्डे र तिम्सिनाले पार्टी निर्णय मान्ने र गल्ती स्वीकार गरी पार्टीमा लिखितरूपमा पुनरावेदन गरेमा उनीहरूको गतिविधि हेरेर जिम्मेवारीमा फर्काउने निर्णय गर्न सकिने आधार बाँकी छ ।

यद्यपि एक स्थायी कमिटी सदस्यका अनुसार पाण्डे र तिम्सिनाले अहिलेसम्म आफूहरूप्रति प्रश्न उठेको अनुशासनको कमजोरी स्वीकार नगरेकाले बैठकमा लामो बहस नभएको हो ।

एमाले बैठकको मूल उद्देश्य हो– ‘कुप्रचार, अराजकता र अनुशानका लागि क्षेप्यास्त्र ।’ 

सोही उद्देश्यलाई पूरा गर्न पनि रावल, पाण्डे र तिम्सिनाप्रति केही केन्द्रीय सदस्यहरूले सहानुभूति देखाए, तर नेतृत्वपंक्ति सचिवालयको निर्णय पुनर्विचार गर्न तयार भएन ।

‘एमाले भएर एमालेकै विरोध गर्ने पार्टीभित्रको रोग पुरानै थियो । अब यो हुनुहुँदैन भन्ने यो बैठकको सन्देश हो’, ती स्थायी कमिटी सदस्यले भने । 

एमालेभित्र १०/११ वर्षदेखि केन्द्रीय सदस्यहरूले प्रत्यक्ष बोल्न नपाएको भनेर असन्तुष्टि राखेका थिए । यो बैठकमा प्रायः केन्द्रीय सदस्यहरूले बोल्ने अवसर पाएका थिए । बहसमा १५५ जनाले बोलेका थिए । कतिपय केन्द्रीय सदस्यहरूले बहस नोट समितिसमक्ष लिखित सुझाव पेश गरेका छन् । 

एमाले र माओवादीको बैठक सकिँदै गर्दा अर्को संयोग दुवै पार्टीले गाउँ पस्ने अभियानलाई अघि सारेका छन् । शहरी जनमत खस्किएर त्रसित बनेको एमाले र स्थानीय तहमा केही स्थानमा विजयपछि हौसिएको माओवादी केन्द्रको अभियान सञ्चालनको उद्देश्य एउटै छ, ‘२०८४ मा निर्णायक राष्ट्रिय शक्ति बन्ने ।’

वर्तमान सत्ता साझेदारी र कांग्रेससँगको सहकार्यको राजनीतिक कोर्सलाई थप बलियो बनाउने राजनीतिक प्रतिवेदनलाई बैठकले पारित गरेको छ । आगामी डेढ वर्षपछि आफूले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई छाड्ने सन्दर्भ ओलीले बैठक समापनमा पुनः दोहोर्‍याएका छन् । कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिलाई आठौं केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेर कांग्रेससँगको सहकार्यमा थप विश्वासनीयता कायम गराएको छ ।

एमाले र माओवादीको बैठक सकिँदै गर्दा अर्को संयोग दुवै पार्टीले गाउँ पस्ने अभियानलाई अघि सारेका छन् । शहरी जनमत खस्किएर त्रसित बनेको एमाले र स्थानीय तहमा केही स्थानमा विजयपछि हौसिएको माओवादी केन्द्रको अभियान सञ्चालनको उद्देश्य एउटै छ, ‘२०८४ मा निर्णायक राष्ट्रिय शक्ति बन्ने ।’

एमाले अध्यक्ष ओलीले दुई दिनअघि एमाले छाडेका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको सन्दर्भमा भनेका छन्, ‘काठमाडौं क्षेत्र नं. ६ को जिम्मेवारी म लिन्छु । अन्य क्षेत्रमा सबै तपाईंहरूले नै सिफारिश गरेर जितिन्छ भनेरै टिकट दिइएको हो । त्यसमध्ये ९ मा मात्रै जितियो । अरू क्षेत्रको जिम्मेवारी कसले लिने ?’

निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि ‘मिसन– २०८४’मा होमिएको एमालेप्रति यतिखेर चौतर्फी घेराबन्दी र आक्रमण छ । कांग्रेससँगको सहकार्यबाट बनेको बलियो सरकार हुँदाहुँदै पनि व्यवहारमा गति लिएको देखिन्न । 

भलै, राजनीतिक प्रतिवेदनमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन र समृद्धितर्फ आशा जगाएको उल्लेख गरिएको छ । कांग्रेससँगका सहकार्यमा बलियो सरकार बने पनि एमाले आलोचनाको केन्द्रमा छ । सोही कारण ओलीले पटक–पटक कुप्रचार र अराकताविरुद्ध प्रतिवादमा कडाइका साथ लाग्न निर्देशन दिएका छन् ।

यता प्रचण्डले बैठक समापनमा फेरि क्रमभंगको सन्दर्भ जोड्दै भने, ‘बैठकका निर्णयहरू कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिका लागि कोशेढुंगा बन्ने र यसले निरन्तरतामा क्रम भंग गर्ने बताए ।’ 

प्रचण्डले एमालेप्रति कटाक्ष गर्दैै बुर्जुवा पार्टीको संज्ञा दिएका छन् । प्रचण्डले समापनमा भने, ‘यी दुई पार्टीको बैठकबाट एमालेलाई बुर्जुवा पुँजीवादी पार्टी र माओवादी केन्द्रलाई वैचारिक निष्ठासहितको समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको रूपमा थप स्थापित गर्ने अवसर प्राप्त भयो ।’

प्रचण्डले फरक मत राख्नेलाई एमालेमा स्थान नभएको भनी असन्तुष्ट मतलाई माओवादीप्रति आकर्षित गर्न कार्ड फ्याँकेका छन् ।

पार्टीमा फरक मत राखेका उप–महासचिव जनार्दन शर्मालाई १३ मिनेटको विशेष समय दिएर प्रचण्डले बैठकले पुनः क्रमभंग गरेको भनेर पुरानै शब्द खर्चिएका छन् । प्रचण्डले बैठकपछि भने, ‘केन्द्रीय समितिको बैठक समाजवादी क्रान्तिको कोशेढुंगा सावित भएको छ ।’

दुई कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा एकअर्काबीच आरोप–प्रत्यारोप देखियो । यता सत्ता साझेदार कांग्रेसप्रति दुबै दलले खासै आलोचना गरेका छैनन् ।

दुई पार्टीको केन्द्रीय समिति बैठक एमाले–माओवादी केन्द्रबीच सत्ता समीकरण भत्किएपछि भएका हुन् । दुवैको बैठकले त्यस्तो राजनीतिक हस्तक्षेप गर्ने दस्तावेज र कार्यक्रम दिएको छैन ।

एमाले कांग्रेससँगको राजनीतिक सहकार्यबाटै राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ भन्ने धुनमा देखिएको छ ।

माओवादी क्षेत्रीय, जातीय, नयाँ शक्तिका रूपमा उदाएका शक्तिसँगको सहकार्यबाट कांग्रेस–एमाले सत्ता समीकरण कसरी भत्काउन सकिन्छ ? भन्ने रणनीतिकै कारण एकअर्काप्रति आरोप–प्रत्यारोपमै दुई पार्टीको बैठक सकिएको छ ।

वर्गीय नस्ल एउटै ‘माक्र्सवादी’का दुई कम्युनिस्टहरूबीच सत्ता साझेदार हुँदाका मित्रतासमेत बाँकी नराखेर दुई पार्टीकै बैठकका दस्तावेज र नेतृत्वहरूबीच आलोचना गरिएको छ ।

यतिखेर एमालेले माओवादीप्रति र माओवादी केन्द्रले एमालेप्रति लगाएको आरोप–प्रत्यारोपले वामपन्थी शक्तिको क्षयीकरण मात्रै भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्