१२ साउन २०८३, मंगलबार

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जनका लागि दुई मन्त्रीबीच छलफल

पुस २४, २०८१
काठमाडौं
विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जनका लागि दुई मन्त्रीबीच छलफल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा मन्त्रीद्वयबीच यसबारे छलफल भएको छ । छलफलमा मन्त्री पौडेलले विद्यालय तहमा रहेका स्वास्थ्य सम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गरे । 

उनले नसर्ने रोग बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्री प्रभावकारी बनाउनुपर्ने आवश्यकता महसुस गरेको भन्दै पाठ्यक्रम विकास केन्द्रलाई स्तरीय सामग्री तयार पार्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

उनले पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादक पदार्थविरुद्धका सचेतनाका विषय पनि समावेश गर्नका लागि सघाउने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले विद्यालय शिक्षामा स्वास्थ्य विषय अध्ययन गरेकाको सम्बन्ध उच्च शिक्षामा पनि जोड्न आवश्यक रहेको भन्दै नर्सिङ, पब्लिक हेल्थ वा कुन विषयसँग जोड्न सकिन्छ, त्यसका लागि आवश्यक छलफल गर्न प्रस्ताव गरे ।

‘निरोधात्मक क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादनमा विद्यालय शिक्षालाई जोडौं’, मन्त्री पौडेलको प्रस्ताव थियो ।

यस कार्यलाई सम्बोधन गर्न दुवै मन्त्रालयको संयुक्त समूह बनाउन मन्त्री पौडेलले गरेको प्रस्तावमा मन्त्री भट्टराईले सकारात्मक प्रतिक्रिया जनाइन् ।

 उनले दुवै मन्त्रालयबीच सहकार्यको प्रस्ताव सराहनीय रहेको भन्दै थप गृहकार्य गर्ने प्रस्ताव गरिन् । ‘आवश्यक विषयमा सहकार्य गरौं,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्