०२ असार २०८३, मंगलबार
गाईगोरु तस्करी

लुम्बिनी प्रदेशमा तस्करको सेटिङ भत्काउँदै डीआइजी कार्की, ५ जना प्रहरी नै कारबाहीमा

पुस २५, २०८१
काठमाडौं
लुम्बिनी प्रदेशमा तस्करको सेटिङ भत्काउँदै डीआइजी कार्की, ५ जना प्रहरी नै कारबाहीमा

तस्करहरूले गोरु तस्करीका लागि लुम्बिनी प्रदेशलाई हब बनाउँदै आएका छन् । 

सीमावर्ती क्षेत्र भारतबाट चोरी तस्करी गरी ल्याइएका गोरु संकलन गरेर दाङ, कपिलवस्तु हुँदै रुपन्देही र नवलपरासीसम्म पुर्‍याएर पुर्‍याइन्छ । 

तस्करी भएका गोरु त्यहाँबाट पूर्व–पश्चिम राजमार्ग हुँदै झापा पुग्छन् । झापाबाट पुनः भारतको दार्जिलिङ, सिक्किम हुँदै बंगलादेशसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ । 

केही दिनअघि मात्रै प्रहरीले कडाइ गरेपछि दाङको गढवा गाउँपालिकाअन्तर्गत सडकमा गोरु छाडेर तस्कर भागे । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख कृष्णप्रसाद लम्साल उक्त गोरु लिलाम गर्ने तयारीमा थिए । तर, छाडा गोरु लिलाम नगर्न प्रहरीको अनुरोधपछि गढवा गाउँपालिकाले संरक्षणमा लिएको छ । गाउँपालिकाले नै ती गोरु आवश्यक किसान पहिचान गरी वितरण गरिरहेको छ । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्कीले लम्साललाई गोरु लिलाम गरिए प्रतिवाद गर्ने चेतावनी दिएपछि उनी पछाडि हटेका थिए । लम्साललाई डीआईजी कार्कीले भनेका थिए, ‘छाडा गाईगोरुको लिलामी गरेर आम्दानीमा बाँध्नुभयो भने अख्तियारमा उजुरी गर्छौं ।’ 

रुपन्देही प्रहरीले गाईगोरु तस्करीमा कडाई गरेपछि तस्करहरूले गुल्मीबाट भित्री बाटो हुँदै गोरु राजमार्गसम्म ल्याएर क्वारेन्टाइन गरी पूर्व झापासम्म सेटिङमा लैजाँदै आएका छन् । 

सडकमा प्रहरी र तस्करबीचको सेटिङ देखेरै प्रदेश प्रहरी कार्यालय लुम्बिनीले परिपत्र जारी गरेर भनेको छ– ‘प्रदेशभित्रका एक जिल्ला हुँदै अर्को जिल्लामा गाईगोरु तस्करी भएको अवस्थामा फेला पर्‍यो भने शुरूको जिल्लाका प्रहरी कारबाहीमा पर्छन् ।’ 

तस्करसँग सेटिङ देखिएकै आधारमा एक महिनाभित्रमा दाङ, कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देही र बर्दिया गरी ५ प्रहरी युनिटका ५ जना जुनियर अधिकृत (असई/सई) लाई जिल्लामा तानेर कारबाही भइरहेको जानकारी डीआइजी कार्कीले दिए । 

null

गोरु तस्करले कपिलवस्तुको महेन्द्र राजमार्ग खण्डबाट भित्र पर्ने सालझण्डी–ढोरपाटन हुँदै गुल्मी पाल्पाको सिमाना रिडीबाट कालीगण्डकी र मिर्मीबाट स्याङ्जाको चापाकोट रुट प्रयोग गरी पुनः कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडादेखि गँैडाकोटमा ल्याएर गोरु थुपार्दै त्यहाँबाट पूर्वको झापा लैजाने गरेको प्रहरीले जनाएको छ । 

‘हामीले सूचना पाउँदा नियन्त्रणमा लिइहाल्छौं, तर तस्करहरूले सडकमै खटिएका प्रहरीसँगको सेटिङमा गोरु सीमा कटाउने गरेकाले समस्या छ,’ कपिलवस्तुका एक उच्च अधिकृतले भने, ‘स्थानीयले पनि गोरु नियन्त्रणमा लिएर प्रहरीलाई जानकारी गराउँदै आएका छन् । 

कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरञ्जन भट्टले आफ्नो जिल्लाबाट हुने तस्करीलाई कडाइका साथ नियन्त्रण गरेको बताए । 

उनले भने, ‘मैले कपिलवस्तु जिल्ला प्रहरीको चार्ज बुझेपछि मात्रै ९ वटा गाईगोरु तस्करीको मुद्दा दर्ता गरेको छु । तस्करसँग सेटिङ गर्ने प्रहरीलाई समेत कारबाही गरेको छु ।’

कात्तिकयता मात्र १७ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ । 

कृषि प्रयोजनका लागि गाईगोरु ओसारपसार गर्न स्थानीय प्रशासनबाट अनुमति लिने तर, तस्करीका लागि त्यसको प्रयोग गर्ने जोखिम बढेको ठम्याइ प्रहरीको छ । 

प्रहरी–तस्करको सेटिङबाट गोरु तस्करी हुने गरेको सूचना पाएपछि अहिले कडाइ गरिएको जानकारी डीआईजी कार्कीले दिए । 

‘गोरु तस्करसँग सेटिङ गरेर पैसा कमाउनै प्रहरीले पोस्टिङ रोज्ने गरेको देखियो,’ कार्कीले लोकान्तरसँग भने, ‘मैले जिल्लाको ब्रिफिङमै तस्करसँग मिलेको सूचना पाउनेबित्तिकै कारबाही गर्छु भनेको छु । अहिले गोरु तस्करहरूको भागाभाग छ ।’ 

null

तस्करले गोरु पाल्पाको रामपुर हुँदै गैँडाकोट पठाउने र त्यहाँ कार्यरत प्रहरीले सेटिङमा गोरु लैजान दिने गरेको देखिएपछि डीआईजी कार्कीले प्रहरी युनिटका सबैलाई परिवर्तन गराएका छन् । 

लुम्बिनी प्रदेशका रुपन्देही, पूर्वी नवलपरासी, कपिलवस्तु र दाङ भारतबाट गोरु भित्रिने जिल्लामध्येका प्रमुख जिल्ला हुन् । विगतमा राति अनुगमनका लागि भन्दै निस्किने प्रहरीका उपल्लो दर्जाका अधिकृतहरूले नै गोरु तस्करलाई लाइन क्लियर गर्दै आएको आरोप थियो ।

अचम्मको कुरा त प्रहरीले गोरु नियन्त्रणमा लिएर भन्सारमा पठाउँछ । भन्सारमा लिलाम सकार्ने व्यक्ति नै तस्करको समूह हुन्छ । 

भन्सारको लिलामी पत्र देखाएर तस्करले गोरु तस्करी गर्दै आएका छन् । पूर्वको मेची भन्सार नाकाबाटै गोरु निकासी हुँदै आएको छ । सेटिङमा जारी भएको क्वारेन्टाइन पास गरेको पत्रका आधारमा तस्करले गोरु सीमापार गर्दै आएको प्रहरीले जनाएको छ । 

आ.व ७९/८० मा २ हजार १३६ र ८०/८१ मा १ हजार ४०९ वटा गोरु क्वारेन्टाइनको स्वीकृतिमा मेची भन्सार नाकाबाट भारत निकासी भएको तथ्यांक छ । तर, भन्सार नाकासमेत छली गरेर खुला नाकाबाट गोरु निकासी भइरहेका छन् । 

तस्करले झापाको भद्रपुर, घैलाडुवा, कुञ्जीबारी, जामुना, नकलबन्द, केचना, गलगलिया, भैँसावारी, ठाकुरगञ्ज, घेराबारी, पाठामारी, किचकवध, खुदुनावारी, ज्यामिरगढी तथा मोरङको वरडंगा, डाइनिया, झुरकीयालगायत नाकाबाट हरेक रात अवैध रूपमा गाईगोरु भारत छिराउने गरेका छन् ।

गाईगोरु तस्करले मासिक रुपमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको आरोप लाग्ने गरेको छ । तस्करीका गाईगोरु त्यहाँबाट बंगलादेशतर्फ सप्लाइ गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्