२५ असार २०८३, बिहीबार
जीवनदर्शन

विषपान गर्ने र गराउनेहरूको सम्झनामा

पुस २७, २०८१
काठमाडौं
विषपान गर्ने र गराउनेहरूको सम्झनामा

भगवान् शिवको घाँटीमा क्यान्सर रोग लागेको छ, सर्पको माला लगाउँछन्, सदा भूतप्रेत अघिपछि लगाएर हिँड्छन् । तैपनि शान्त छन्, मस्ताराम छन् । न भोक न भकारी, न शोक न सुर्ता । भष्मासुरले आफैंलाई भष्म पार्ने वरदान माग्दा पनि दिएकै छन्, माता पार्वतीका निम्ति कुवेरले बनाइदिएका लङ्का शहर वास्तुशान्ति गर्ने पुरोहित रावणले दक्षिणमा माग्दा पनि दिएकै छन् । यस्तो कसरी सम्भव भएको होला भनेर कसैले सोध्यो भने हामीमध्ये धेरैले भन्ने छौं उनी देवाधिदेव महादेव हुन् त्यसैले, तर त्यो हामीलाई लागेको मात्र हो, वास्तविकता होइन ।  

हो, रूपमा त्यही हो उनी देवाधिदेव हुन् । त्यसमा पनि नेपालको परिप्रेक्षमा भन्नुपर्दा राष्ट्रदेव नै हुन् । यस्तो अवस्थामा त्यस्तो लाग्नु स्वाभाविक हो तर, सारमा भन्नुपर्दा उनी परोपकारी छन्, लोकहितमा विषपान गर्न पनि पछि पर्दैनन् । धेरै पाएर पनि थोरै ठान्ने त जीवमात्र हो । उनी त शिव हुन्, थोरै पाएर पनि धेरै ठान्छन् । जीव आफ्नो सुखका लागि अरूलाई दुःख दिन पछि पर्दैन तर, उनी जीव होइनन् शिव हुन् । आफूले दुःख बोकेर अरूलाई सुख दिन चाहन्छन् । यस्तै परोपकारी भावना र लोकहितकारी कार्यले गर्दा नै उनलाई त्यस्तो शक्ति प्राप्त भएको हो । 

भागतको अष्टमस्कन्धमा व्यासजीले भनेको एउटा कथा छ । एकपटक देवतासुर अमृतको खोजीमा थिए । यस निम्ति उनीहरूले मिलेर समुद्र मन्थन गरे तर, पहिले निस्क्यो विष । अमृत प्राप्तिका लागि समुद्र मन्थन गरिएको थियो पाइयो विष । जहाँ पनि राम्रो चीजको खोजी गर्दा पहिले नराम्रो चीजको सामना गर्नुपर्ने हुन्छ । सदा राम्रो चीज नराम्रोको पछाडि नै छिपेको हुन्छ, जसलाई सामना गरेपछि मात्र राम्रो पाइन्छ । यहाँ पनि त्यस्तै भएको थियो । 

जब विषले पोल्न थाल्यो तब सुरासुर डराएर त्राहिमां भन्न थाले तर, कैलाशवासी शिवशङ्कर भोलेनाथ भने डराएनन् । उनी शिव पनि थिए, शङ्कर पनि थिए । त्यसमाथि भोलेनाथ पनि किन पो डराउँथे र । उनले सबैलाई डराउनुपर्दैन भन्ने आश्वासनमात्र दिएनन् आफैं अघि सरेर हलाहललाई आफ्नै घाँटीमा धारण गरिदिए । 

रावणले परनारी हत्याउन खोज्यो उही सकियो, दुर्योधनले परद्रव्य हडप्न खोज्यो उसको पनि अवस्था त्यस्तै भयो । हिरण्यकशिपुले आफ्नै छोरा मार्न खोज्दा ऊ पनि सकियो, कंशले आफ्नै भान्जालाई सदा निम्ति बिदा गर्न खोज्दा उसैले बिदा लिनुपर्‍यो ।

विषलाई पेटभित्र जान दिँदा पेटजस्तो नाजुक अङ्ग पोलेर आफैंलाई खरानी बनाउँथ्यो । ओकलिदिँदा अरू खरानी हुन्थे । त्यसैले घाँटीमा धारण गरेका थिए । विष कडा थियो, जसको नामै कालकूट थियो, कडा हुने नै भयो, जसले गर्दा उनको घाँटीमा यति बढी असर गर्‍यो कि कहिल्यै निको नहुने दाग लगाइदियो ।
उनलाई विषपान गर्दा घाँटी बिग्रन्छ भन्ने थाहा नभएको होइन । विषले सर्वप्रथम असर गर्ने भनेकै घाँटीमा हो । त्यसमा पनि यहाँ त घाँटीमै धारण गर्नुपर्ने अवस्था थियो । तैपनि उनले त्यता ध्यान दिएनन् । बरू कहिल्यै निको नहुने क्यान्सर रोग पालेर बसे तैपनि परोपकारी कार्यमा पछि परेनन् तर, भइदियो के भने त्यति ठूलो दाग पनि उनका लागि आभूषण बनिदियो । किनकि त्यो लोकहित कार्यमा जोखिम उठाउँदा लागेको दाग थियो । फलतः लोकले माने, नीलकण्ठ भनेर पूजा गरे, अहिलेसम्म पनि गरिएकै छ ।   

उनले विषपान गरेर लोकहितमात्र गरेनन् घाँटीमा धारण गरेर आफूलाई बढी क्षति हुनबाट पनि बचाए । साथसाथै यसबाट लोकलाई के पनि सन्देश दिए भने जहिले पनि नराम्रो कुरालाई घाँटीमै धारण गर्नुपर्छ । निल्नु पनि हुन्न ओकल्नु पनि हुन्न । निले पेट पोल्छ, आफैंलाई जलाउँछ, ओकले अरूलाई जलाउँछ तर घाँटीमै पचाइदिने हो भने, पचादिन सक्ने हो भने अरूलाई पनि बचाउन सकिन्छ, आफू पनि क्षतिबाट बच्न सकिन्छ ।  

हो शिवजी भोले बाबा थिए जे पनि गर्न सक्थे जे पनि पचाउन सक्थे । हामी त्यस्तो छैनौं, त्यस्तो गर्न सक्दैनौँ तर, सुख खोज्ने हो भने परहितका लागि दुःख उठाउने हिम्मत भने गर्नैपर्छ, विषैपान गर्न परे पनि पछि हट्नुहुन्न । होइन अरूलाई विषपान गराएर वा विषपान गर्न बाध्य बनाएर सुखी हुन खोज्ने हो भने हाम्रा निम्ति सुख भन्ने कुरा सदैव आकाशको फलमै सीमित हुनेछ । आफ्नो सुखका लागि अरूलाई दुःख दिनु वा दुःख हुने काम गर्नु भनेको त आफ्नै दुःखको खाडल खन्नु हो । 

हो, तत्कालका लागि यस्ता कार्यले फाइदै गर्ला, घुस खाएर, भ्रष्टाचार गरेर, अर्काको बैङ्क बचत हिनामिनमा गरेर, खाद्यान्नमा विषादी मिलाएर पनि सुखसयल गर्न सकिएला तर, त्यो क्षणिक हो । यस्तो काम भनेको अर्काको रगतपसिना खानु हो, जसको नतिजा अन्तिममा कालकुट विषभन्दा पनि भयानक हुन सक्छ । किनभने प्रकृतिको नियम नै यस्तो छ कि जे रोपिएको छ त्यही नै फलाउँछ । 

रावणले परनारी हत्याउन खोज्यो उही सकियो, दुर्योधनले परद्रव्य हडप्न खोज्यो उसको पनि अवस्था त्यस्तै भयो । हिरण्यकशिपुले आफ्नै छोरा मार्न खोज्दा ऊ पनि सकियो, कंशले आफ्नै भान्जालाई सदा निम्ति बिदा गर्न खोज्दा उसैले बिदा लिनुपर्‍यो । जहाँ पनि र जहिले पनि स्वार्थको नतिजा अन्ततः आउने भनेको यस्तै हो । अस्तु आजलाई यति नै ।

salt training

कमेन्ट गर्नुहोस्