१० असार २०८३, बुधबार
विद्यालयमा निर्घात कुटपिट

शिक्षकको कुटाइबाट विद्यार्थीको आँखा गुम्यो, मुद्दा फिर्ता लिन विद्यालयको दबाब

पुस २८, २०८१
बुटवल
शिक्षकको कुटाइबाट विद्यार्थीको आँखा गुम्यो, मुद्दा फिर्ता लिन विद्यालयको दबाब

शिक्षकको कुटाइबाट पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ को एच पाठशालाका एक बालकको आँखा फुटेको छ । 

शिक्षक सञ्जु चौधरीले लाठी प्रहार गर्दा पाठशालामा यूकेजीमा पढ्ने ६ वर्षका प्रशान्त चौधरीको देब्रे आँखा फुटेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता, डीएसपी रेशम बोहराले घटनाको विषयमा मुद्दा दर्ता भएर शिक्षकलाई पक्राउ पुर्जी जारी भएको लोकान्तरलाई जानकारी दिए ।

उनले भने, ‘घटना १ महिना अघिको रहेछ । विभिन्न कारणपछि अहिले आएर मुद्दा दर्ता भयो । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

दुई विद्यार्थीबीचको विवाद नियन्त्रण गर्न भन्दै प्लाष्टिकको लाठीले निर्घात कुटपिट गर्दा प्रशान्तको आँखा नै गुमेपछि अभिभावक न्यायको खोजीमा छन् । 

मंसिर १८ गतेको घटना भए पनि विद्यालय प्रशासनले सामसुम पार्न खोजेको थियो । घटनापछि विद्यालय प्रशासनले नै बालकलाई गोपीगन्ज बजारमा उपचारका लागि बालकलाई पुर्‍याएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकले परासी हुँदै भैरहवाको रण अम्बिका आँखा अस्पतालमा ल्याएका थिए । भैरहवामा पनि उपचार सम्भव नभएपछि बालकलाई तिलगंगा आँखा अस्पताल पुर्‍याए । अस्पतालले मंसिर १९ गते शल्यक्रिया गरेर बाहिर निस्किएको नानीलाई भित्र राखिए पनि चिकित्सकले नानी फुटेकाले आँखाको ज्योति नफर्किने बताएका छन्। 

बालकको दाहिने आँखाले पनि राम्ररी देख्दैन । देब्रे आँखाको चोटले दाहिने आँखा पनि खोल्न र हेर्न नमिलेको हो । उपचारका लागि एक वर्ष लाग्ने जानकारी चिकित्सकबाट पाएका अभिभावकले हप्ता-हप्तामा फलोअप गराइरहेका छन् ।

बालकका आफन्तले मंसिर १९ मा सेमरी प्रहरी चौकीमा उजुरी दिएका थिए । तर, प्रहरीले घटनाको प्रकृति थाहा नपाएको भन्दै जाहेरी लिन मानेन । बालकको उपचारपछि फर्केका बाबु नरेन्द्रले शिक्षकको कुटपिटबाट छोराको अंगभंग भएको भन्दै तिलगंगा आँखा अस्पतालको उपचार प्रतिवेदनसहित इलाका प्रहरी कार्यालय बर्दघाटमार्फत पुस १६ गते उजुरी गरेका हुन्। 

घटनापछि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भगवती अधिकारीले पीडितको घरमा पुगेर घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आग्रह गरेकी छन् । 

पीडित बालकका बाबु नरेन्द्र चौधरीले शिक्षकले हानेर आफ्नो छोराको आँखाको नानी नै बाहिर निस्किएको बताए । घटनापछि प्रहरीमा गए उजुरी नलिएको उनको भनाइ छ ।

‘शुरूमा स्कुलले कुनै सुनुवाइ गरेन । बुटवल गएर राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि बल्ल प्रहरीले मुद्दा दर्ता गर्‍यो’, पीडितका बाबु नरेन्द्रले लोकान्तरसँग भने । 

उनले दोषी स्कुल र शिक्षकलाई कडा कारबाही तथा छोराको भविष्य सुरक्षित गराइदिनुपर्ने माग गरे ।

प्रहरीले अभियुक्त फेला नपरेको बताए पनि २० वर्षीया शिक्षक सन्जु स्नातक तहको परीक्षा दिन परासी बसेको स्थानीयको दाबी छ । घटनापछि शिक्षक सम्पर्कमा नआएको बताउने विद्यालयले बालकको निःशुल्क उपचार गरिदिने र निःशुल्क पढाउने प्रतिबद्धतासहित मुद्दा फिर्ता लिन दबाब दिइरहेको बताइएको छ । 

विद्यालयका प्रिन्सिपल सुजित कुमार गुप्तालाई पटक पटक फोन सम्पर्क गर्दा पनि सम्पर्कमा आएनन् । इप्रका बर्दघाटका डीएसपी दीपेन्द्र बानियाले यस विषयमा मुद्दा चलेर अनुसन्धान भइरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्