३१ जेठ २०८३, आइतबार
सक्रिय हुँदै समाजवादी मोर्चा

समाजवादी मोर्चारूपी 'प्रचण्ड कार्ड'– पहिले सत्ता जोगाउन, अहिले पाउन !

पुस २९, २०८१
काठमाडौं
समाजवादी मोर्चारूपी 'प्रचण्ड कार्ड'– पहिले सत्ता जोगाउन, अहिले पाउन !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सत्ता जोगाउन गठन गरिएको समाजवादी मोर्चाको चर्चा फेरि हुन थालेको छ । 

सत्ताबाट बाहिरिएको ६ महिनापछि माओवादी केन्द्रसहितका दलले मोर्चालाई फेरि सक्रिय बनाउने तयारी गरेका हुन् । यसअघि सत्ता जोगाउन २०८० असार ४ गते ४ दलले मोर्चा घोषणा गरेका थिए । 

नागरिकलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अधिकारको प्रत्याभूति गराउन १५ बुँदे प्रतिबद्धता जनाइएको थियो । यीबाहेक तीन तहका सरकारलाई क्रियाशील बनाउने, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने सुशासनको प्रत्याभूति गराउने दाबी गरिएको थियो । 

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीले आलोपालो अध्यक्षता गर्दै आएका छन् ।

मोर्चा ६ महिना सत्ता टिकाउनका लागि केन्द्रित थियो । तर, ६ महिने निष्क्रियतापछि सत्तामाथि दबाब बढाउन मोर्चा फेरि सक्रिय हुन लागेको हो । 

अन्य साना दलले यसअघि नै मोर्चालाई सक्रिय बनाएर सरकारमाथि दबाब बढाउन खोजेका थिए । तर, प्रचण्ड सत्तामा हुञ्जेल उनी आफैंले मोर्चा सक्रिय हुन दिएनन् । बरु सत्ता समीकरण टिकाइरहनका लागि कांग्रेस र एमालेमाथि दबाब बढाउन मोर्चाको सहारा लिए । 

सत्ताबाट बाहिर पुगेको ६ महिनापछि मोर्चालाई सक्रिय बनाउन प्रचण्ड नै अग्रसर भएका छन् । यसैले गत बिहीबार र शुक्रबार प्रचण्डकै अगुवाइमा मोर्चालाई सक्रिय बनाउन दलहरूको बैठक बस्यो । यही बैठकले माघ २ गतेलाई मोर्चाको बैठक बोलाएको छ ।

‘समाजवादी मोर्चालाई सक्रिय बनाउन हिजो पनि र आज पनि छलफल भयो,’ प्रचण्डले शुक्रबार भनेका थिए, ‘मोर्चाको बैठक माघ २ गते बस्दैछ ।’

चार दलमात्रै रहेकोमा बीचमा महेन्द्रराय यादवको नेपाल समाजवादी पार्टी मोर्चामा आबद्ध भयो । बीचमा सातवटै प्रदेशमा मोर्चाले सभाका केही कार्यक्रम पनि गरे । 

मोर्चामा आबद्ध शीर्ष नेताबाट सम्बोधन पनि भयो । तर, यसअघि माओवादी सत्तामा रहने र बाहिरिने क्रम तथा जसपा विभाजनपछि मोर्चा निष्क्रिय भएको थियो ।  मोर्चालाई तल्लो तहसम्मै लाने योजना पनि योजनामै सीमित हुन पुग्यो ।

सत्तारुढ कांग्रेस–एमालेले संविधान संशोधन गर्ने विषयमा छलफल थालेपछि साना दलहरूले मोर्चाबन्दीको प्रयास गरेका छन् ।

यसपछि प्रचण्डले बिहीबार पनि नेपालसँग सिंहदरबारमा भेट गरेका थिए । मोर्चाका संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव छन् । तर, मोर्चालाई पुनः अग्रसर गराउने गरी उनीसँग संवाद भएको पाइएको छैन । 

नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले पछिल्लो समय निष्क्रियजस्तो देखिएको मोर्चालाई सरकारमाथि प्रश्न उठेको बेलामा पुनः सक्रिय बनाउन खोजेको बताए । 

‘पहिले त यसअघि सक्रिय भएको मोर्चालाई पुनः बलियो बनाउनुपर्छ भनेर हामी जुटेका हौं । यसलाई अझै क्रियाशील बनाऊँ र समसामयिक विषयमा धारणा बनाएर एउटा दबाब बढाऊँ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यतिखेर धेरै समस्या छन् । जनजीविकाका विषयमा काम गर्न नसकेकोमा पनि सरकारमाथि प्रश्न छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने, संविधान संशोधन गर्ने विषयमा सरकारले तयारी गरेको छ । सरकार बदनाम भएको बेलामा मोर्चाको बैठक नबसे कहिले बस्ने ? यसैले हामी क्रियाशील हुन खोजेका हौं ।’

उपेन्द्र यादव नेतृत्वको जसपा मोर्चाभित्र असन्तुष्ट छ । माओवादीसँग एकीकरणका विषयमा कुनै तयारी नै अगाडि नबढेपछि विप्लव नेतृत्वको नेकपा पनि धेरै सन्तुष्ट नरहेको नेताहरू बताउँछन् । 

मोर्चा ब्यूँताउने तयारी बैठकपछि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको सत्ता समीकरण अब नचल्ने चेतावनी दिएका थिए । ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भनेर गम्भीर रूपमा पार्लियामेन्टमा पनि र बाहिर पनि भनेको तपाईंहरूले सुन्नुभएकै छ,’ प्रचण्डले दाबी गर्दै भनेका थिए, ‘अप्राकृतिक भएकाले अब यो चल्दैन ।’

null

कहिले सरकार जोगाउन साना दलको सहारा त कहिले सत्ता गुमेपछि प्रचण्डले पटक–पटक प्रयोगको राजनीति गरेको भन्दै साना दल असन्तुष्ट छन् ।

‘हिजो पनि प्रचण्डले आवश्यक छ भनेपछि मोर्चामा आबद्ध भयौं । तर, पार्टी एकता गर्ने, साँच्चै नागरिकको सरोकारमा काम गर्ने कुरा भएन,’ मोर्चामा आबद्ध एक नेता भन्छन्, ‘माओवादीले चाहँदा मात्रै सक्रिय हुने, नत्र नहुने स्थिति भयो । यसैले यो शैली परिवर्तन नभएसम्म मोर्चा मोर्चाजस्तो बन्दैन ।’ 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाको आवश्यकता भए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रयोग गर्ने नीतिले मोर्चालाई धरापमा पारेको बताए । 

‘समाजवादी मोर्चाको आवश्यकता भएरै पहिले बनाइएको थियो । यसैले १५ बुँदे प्रतिबद्धतामा राज्यका नीति निर्माणमा दबाब दिने र रचनात्मक सहयोग गर्ने ठाउँमा सोहीअनुसार काम गर्ने स्पिरिट थियो,’ यादवले लोकान्तरसँग भने, ‘मोर्चा आज पनि आवश्यक छ, तर प्रचण्डको अस्थिरता, सबैलाई उपयोग गर्ने नीति, युज एन्ड थ्रो शैलीका कारण मोर्चा धरापमा परेको हो ।’

अन्तर्घात र मित्रघात हुँदैन भन्ने ग्यारेन्टी भएमात्रै मोर्चामा सक्रिय हुने यादव बताउँछन् । 

‘मोर्चाभित्रै घात प्रतिघात भएपछि मोर्चा मोर्चाजस्तो नभएको हो । गहन छलफल गरेर निष्कर्ष निकाल्ने हो भने एउटा कुरा हो । बैठकभन्दा अगाडि संवाद र कहाँसम्म जाने भनेर छलफल भए विश्वासको एउटा वातावरण बन्ने हो,’ यादवले भने, ‘तर फेरि अन्तर्घात, मित्रघात हुँदैन भन्ने ग्यारेन्टी के ? उपयोगको राजनीति हुँदैन भन्ने आधार के ? यसैमा मोर्चाको भविष्य निर्धारण हुन्छ ।’

माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चा रणनीतिक रहेको बताए ।

‘सरकारमाथि दबाब बढाउने भन्दा पनि यो रणनीतिक मोर्चा हो । पार्टी एकता नभइसकेको स्थितिमा एउटा समझदारी बनाएर अगाडि बढौं भनेर गत वर्ष नै मोर्चा बनाइएको हो,’ गुरुङले लोकान्तरसँग भने, ‘दलहरूको समय मिलेको बेलामा मोर्चाको बैठक बस्छ । समय नमिलेको बेला बस्दैन । आवश्यक हुँदा केही दिनभित्र बैठक बस्न पनि सक्छ ।’

नेकपा नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले मोर्चाको बैठकलाई लिएर उत्साहलाग्दा विषय नरहेको बताए ।

‘आवश्यकता भएर गत वर्ष समाजवादी मोर्चालाई अस्तित्वमा ल्याइएको हो । तर, केही दलको रणनीतिक विषयजस्तो मात्रै बन्यो,’ प्रकाण्डले लोकान्तरसँग भने, ‘फेरि पनि साँच्चै इमान्दार बनेर मोर्चालाई विषयसँग केन्द्रित गरौं, मुद्दा केन्द्रित भएर अगाडि बढौं भन्ने भए मोर्चाको बैठक राख्ने, अगाडि बढ्ने र औचित्य पुष्टि हुने कुरा हुन्छ, नभए हुँदैन ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माघ २ गतेका लागि मोर्चाको बैठक बस्ने बताए पनि मोर्चाको नेतृत्व गरिरहेको नेकपा नै यो विषयमा अन्योलमा छ । ‘प्रचण्डले बैठक बस्छ भन्नुभयो । तर, यसका लागि कुनै तयारी र छलफल भएको पाएका छैनौं ।’

salt training

कमेन्ट गर्नुहोस्