
काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटी तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमर बहादुर चन्दले जानकारी दिए ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको भन्दै रविमाथि ५ करोड ८ लाख ६९ हजार ६३३ रूपैयाँ बिगोसहित ठगीको मुद्दा दायर गरिएको हो ।
सोही मुद्दामा उनलाई बुधबार धरौटीमा रिहा गर्ने आदेश भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।
गत पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर उनीहरू सोही दिन उनी थुनामुक्त भएका थिए ।
सहकारीको रकम अपचलन प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । यसबीचमा उनलाई कास्कीका अलवा रुपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत बयान लिइएको थियो । रुपन्देहीमा मुद्दा दर्ताका लागि प्रहरीले सरकारी वकिल कार्यालयका अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।