०८ साउन २०८३, शुक्रबार
विशेष स्टोरी– 'लाइफ लाइन' सडकको बेहाल

बुटवल–नारायणगढ सडकको दुर्दशा: दिनकै हजारौं यात्रुलाई सास्ती, भनिसाध्ये छैन स्थानीयको व्यथा

माघ ४, २०८१
बुटवल
बुटवल–नारायणगढ सडकको दुर्दशा: दिनकै हजारौं यात्रुलाई सास्ती, भनिसाध्ये छैन स्थानीयको व्यथा

लुम्बिनी प्रदेश सञ्चार परिषद्का अध्यक्ष मिलन गाहा विशेष कामले गत साता काठमाडौं हिँडेका थिए । साँझ बुटवलबाट ‘नाइट’ बस चढेर डेढ घण्टामा दाउन्नेको उकालोमा पुग्दा सडक जाममा फसे । त्यहीँ बसेर भोलिपल्ट उज्यालो भयो ।

शितलहरले बाटो हिलाम्मे भई सडक खुल्ने अवस्था नदेखेपछि उनले बुटवल फर्किएर भैरहवाबाट जहाजमा काठमाडौं जाने तयारी गरे । खराब मौसमका कारण प्लेन उडेन । उनी काठमाडौं जान सकेनन् । ‘पश्चिम क्षेत्रका मान्छेलाई बुटवल–नारायणगढ सडक खण्डमा कतिखेर रोकिनुपर्ने हो पत्तै छैन । शितलहरले सडक बन्द हुने अवस्था कहाँसम्मको विडम्बना हो ? सास्तीलाई शब्दमा बयान गर्नै सकिँदैन,’ उनले भने ।

बुटवलका प्राध्यापक डा.खगराज शर्मालाई पनि काठमाडौंबाट फर्किँदै गर्दा दुम्कीबासबाट बर्दघाटको १५ किलोमिटर बाटो पार गर्न १० घण्टा लाग्यो । ‘५ वर्षदेखि ‘मेन हाइवे’ मा नागरिकले यस्तै सास्ती खेपेका छन्,’ शर्मा भन्छन्, ‘लाइफ लाइन सडकमा हिउँदमा समेत यस्तो दुर्दशा छ । त्रासैत्रासमा यात्रा गर्नुपर्ने बाध्यता छ ।’

नारायणगढबाट बुटवल पुग्दा यात्रु र चालकको हालत खराब हुने गरेको शर्माले बताए ।

null

पुस अन्तिम साता तराईको शितलरहले ४ दिनसम्म बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा सडक अस्तव्यस्त हुँदा यात्रुले २० घण्टासम्म जामको सास्ती खेपेँ । 

जटिल प्रकृतिका बिरामी बोकेर काठमाडौं लैजानुपर्नेलाई समेत बुटवल–स्याङ्जा–पोखरा हुँदै काठमाडौं र बुटवल पाल्पा रामपुर हुँदै कालीगण्डकी कोरिडोरबाट नारायणगढ निस्कनुपर्ने अवस्था आयो । अर्को दिन घाम लागेर सडक सहज हुन नपाउँदै फेरि पूर्वी नवलपरासीमा पर्ने विनयत्रिवेणीको विनयी खोलामा भारतीय ‘ओभरलोड’ बोकेको ‘लरी’ ले पुल भाँचेपछि यात्रुलाई अर्को सास्ती र संकट आइलाग्यो । 

साना मिनी गाडीलाई ट्राफिक प्रहरीले दुम्कीबास–सर्दी हुँदै होङ्सी सिमेन्ट उद्योगको बाटोबाट पूर्वतर्फ पठाउने प्रयास गरे पनि ठूला गाडी र मालवाहक ट्रकलाई दुई दिनपछि मात्र डाइभर्सन बनाएर गन्तव्यतर्फ पठाइयो । 

null

‘लाइफ लाइन हाईवे’ अक्षम्य ढिलाइ कहिलेसम्म ?

विगत ६ वर्षदेखि यो सडकमा यात्रा गर्नेले धूलो, हिलो, जोखिम र ट्राफिक जामको सास्ती दैनिक भोगिरहेका छन् । राजमार्गको दायाँबायाँका घर धूलोले छोपिएका छन् । कहिले भासिएको सडक बनाउन भन्दै गाडी रोकिन्छ, त कहिले माटो काट्ने र पुर्ने कामका लागि बाटो अवरुद्ध हुन्छ । सडकको अवस्था हेर्दा प्रयोगशालामा असरल्ल फालिएका वस्तुजस्तो देखिन्छ । चाडपर्वका बेला दाउन्नेमा सडक भासिँदा यात्रुले पटक–पटक जामको सामना गर्नुपरेको थियो । ‘दुई लेन’ बाट चार र छ लेनमा विस्तार थालेको यो सडकमा कहिलेसम्म विस्तारको काम सकिने हो, थाहा छैन । 

देशको यो लाइफ लाइन सडक वि.सं. २०२० मा बनेर २०७५ देखि विस्तार थालिएको थियो । ‘पूर्व–पश्चिम जोड्ने सडकको यो दुर्दशा देख्दा हामीलाई पनि लाज लागिसक्यो,’ दाउन्नेस्थित अर्घाखाँची भट्टराई होटलकी सञ्चालिका अन्सु भट्टराई भन्छिन्, ‘हाम्रा घर, कपडा, अनुहारदेखि विस्तारासम्म धूलो नभएको ठाउँ छैन । राज्यले देशकै नमूना सडक बनाउन भनेर थालेको विस्तारको काम अलपत्र पर्दा पनि कसैलाई चासो छैन । सबैलाई हाइसञ्चो भएजस्तो देखिन्छ ।’

राज्यले ठेकेदारलाई कडाइ गरेर काममा लगाउन नसक्दा यो सास्ती कहिले अन्त्य हुने हो, टुंगो छैन । सडक विस्तारअघि दाउन्नेमा अधिकांश गाडी रोकेर यात्रु तथा चालक/सहचालकले खाना/खाजा खान्थे । अहिले कतै जाममा फसिने हो कि भन्ने डरले सबैलाई छिटोछिटो यो क्षेत्र पार गर्न हतार हुन्छ । सोही कारण पनि दाउन्नेको व्यापार चौपट भएको उनको गुनासो छ ।

null

२४ सै घण्टा यो सडकमा गाडीको चाप एकनास हुन्छ । सवारी साधनको चाप हेर्ने हो भने यो सडक एक मिनेट पनि रोक्न नमिल्ने खालको छ । सडकमा दैनिक साना–ठूला गरी १० हजार सवारीसाधन ओहोर–दोहोर गर्ने इलाका प्रहरी कार्यालय बर्दघाटका डीएसपी दीपेन्द्र बानियाँले बताए । दाउन्ने खण्डमा हरेक दिनजसो समस्या आइँरहदा बर्दघाट प्रहरीलाई जनशक्ति अभाव भएको डीएसपी बानियाँले बताए ।

सडकको दुर्दशाबाट यात्रु मात्र होइन, जनप्रतिनिधिहरू पनि आजित छन् । बुटवलदेखि गैँडाकोटसम्मका स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रदेश र संघीय सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर सरकारले ठेकेदारलाई कडाइ गर्न नसकेको भन्दै रोष प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले चीन भ्रमण सकेर मंसिर पहिलो साता स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटवल–नारायणगढ सडक खण्ड एक वर्षभित्र (२०८३ मंसिरमा) पूरा हुने बताएका थिए । भ्रमणमा जानुपूर्व काम नगरी भागेर चीन पुगेको ठेकेदारलाई मंसिरभित्र काम शुरू नभए ठेक्का तोड्ने चेतावनी उनले दिएका थिए । तर, काममा बदमासी गर्ने ठेकेदारले प्रधानमन्त्रीको चेतावनी समेत खासै वास्ता गरेको छैन ।  

काम गर्दैन ठेकेदार, बोल्दैन सरकार

घाटा भएको कारण देखाउँदै वर्षायाम शुरू हुनुपूर्वदेखि निर्माण कम्पनीले रोकेको काम अझै राम्रोसँग अघि बढेको छैन । बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डकी प्रमुख तथा सिनियर डिभिजन इञ्जिनीयर अनुक्षा घिमिरेले ठेकेदार काममा फर्किए पनि प्रगति देखिने गरी काम अघि नबढेको बताइन् ।

‘ठेक्का तोड्ने चेतावनीपछि केही कामदार फिल्डमा देखिएका छन्,’ घिमिरेले भनिन्, ‘काम नगर्ने स्टेजमा पुगेको ठेकेदार चेतावनीपछि फर्केर आएको छ । तर, काममा प्रगति छैन । हामीले कम्तीमा असार मसान्तसम्म दुम्कीबास–गैडाकोट खण्डमा एकतर्फी भए पनि छिटो काम सक्न दबाब दिइरहेका छौं ।’

नारायणगढ–दाउन्ने खण्ड पहिलो प्याकेज ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजमा ४९ किलोमिटर सडक स्तरोन्नति गरिने छ । यी दुई खण्डमा फरक–फरक ठेक्कामा काम लगाइएको छ । 

आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी बेचनकुमार भण्डारीले पछिल्लो समय ठेकेदारले कामको गति बढाएको बताए । ‘माथिल्लो तहबाट दबाबपछि ठेकेदारले कामलाई गति दिएको छ,’ उनले भने, ‘आउँदो असार मसान्तसम्म कम्तीमा बुटवलदेखि बर्दघाटसम्म ‘वान वे’ पिच गर्छु भनेर कमिटमेन्ट पनि गरेको छ । त्यहीअनुसार कामदार परिचालन भएका छन् । ४ सय कामदार खटिएको ठेकेदारको दाबी छ ।’

चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसनले १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा ६ वर्षअघि ठेक्का लिएर निर्माण शुरू गरेको थियो । वि.सं. २०७९ साउन २२ गतेभित्र सक्ने गरी २०७५ चैतमा ८ मा ठेक्का लगाइएको थियो । पुस मसान्तसम्म आयोजनाको भौतिक प्रगति जम्मा ५४ प्रतिशत छ । विभिन्न स्थानमा निर्माण कम्पनीले सडक भत्काएर छाडेको छ । 

null

पूर्व खण्डका तीनवटा ठूला र लामा पुल दुम्कीबास, अरुणखोला र चोरमारामा काम शुरू मात्र भएको छ । पूर्व खण्डमा ३३ किलोमिटर सडक एकतर्फी कालोपत्रे भएको छ ।

सरकारले सडकको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक थप गरेको छ । तेस्रोपटक थपिएको म्याद अनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने हुन्छ । तर, आधा काम बाँकी छ । यो खण्डमा रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्लाका गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयीत्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलसहित दर्जन बढी पालिका तथा बस्तीहरू जोडिएका छन् ।

‘घाम लागे धूलोले सास फेर्ने सकिँदैन,’ यही रूटमा गाडी चलाउने रेन्वो चौधरी भन्छन्, ‘यो रूटमा गाडी चलाउँदा मलाई घाँटीमा समेत समस्या आएको छ । अहिले यो सडकमा गाडी चलाउन नपरे हुन्थ्यो भन्ने भएको छ, के गर्नु नचलाए हुँदैन ।’

सडक निर्माणमा अति विलम्ब हुँदा निजी क्षेत्र, यातायात व्यवसायी र स्थानीयले ठूलो मूल्य चुकाएका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बिग्रेको बाटोमा गाडी चलाउँदा ठूलो खर्च उठ्ने गरेको बताए । 

‘एकपटक नारायणगढ पुगेर आउँदा गाडीमा केही न केही नोक्सान भएकै हुन्छ,’ खरेल भन्छन्, ‘सडक विस्तार शुरू भएपछि यातायात क्षेत्रले यही सडकका कारण अर्बाैं रुपैयाँ गुमाएको छ ।’

null

साढे २ वर्षमा ४० जनाले गुमाए ज्यान 

निर्माणाधीन अस्तव्यस्त सडकका खाल्डामा परेर, नालीमा परेर, निर्माण सामग्री तथा उपकरणमा ठक्कर खाएर हुने दुर्घटना बढेका छन् । बुटवल–दाउन्ने खण्डमा मात्रै २०७९ साउनयता ४५ वटा सवारी साधन दुर्घटनामा परेर २१ जनाको मृत्यु भएको छ । ७० जना घाइते भएका छन् । खासगरी दुईपाङ्ग्रे सवारी साधन नाली तथा खाडलमा परेर र निर्माणका उपकरणमा ठोकिएर दुर्घटना भएका छन् । 

ती दुर्घटनामा १८ जना पुरुष र ३ जना महिला गरी २१ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको तथ्यांकमा उल्लेख छ । 

दुर्घटनामा ५० जना पुरुष, १५ जना महिला र ५ बालबालिका गरी ७० जना गम्भीर घाइते भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

त्यस्तै, दाउन्नेदेखि नारायणगढसम्मको सडकमा गत आवमा मात्रै ५६ सवारी साधन दुर्घटना भएका छन् । अधिकांश दुर्घटना सडकको बेहालका कारण भएको पाइएको छ । 

दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ७४ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटना हुनेमा अधिकांश मोटरसाइकल र स्कुटर छन् । भएको जनशक्ति र स्रोत परिचालन गरेर ठाउँ–ठाउँमा संकेत चिह्नहरू राख्ने, बोर्ड राख्ने गरिए पनि धेरै ठाउँमा जोखिमपूर्ण अवस्था छ । मातहतका कार्यालय र सरोकारवालाहरूसँग समन्वय गरेर दुर्घटना न्यूनीकरणका लागि पर्याप्त काम भएका छैनन् ।  

null

पश्चिम खण्डमै चालू आवको पहिलो ६ महिनामा १५ वटा गम्भीर दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्यांक छ । विभिन्न निर्माणका काम गर्दा हुने ढिलासुस्ती, सूचना पाटी र संकेत बोर्ड नराख्ने र लापरबाही गर्ने प्रवृत्तिका कारण दुर्घटना निम्तिएका कैयौं घटना छन् ।

सार्वजनिक सरोकारका विषयमा लामो समयदेखि वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले हरेक सार्वजनिक सरोकारका निर्माण कार्यमा अनिवार्य सूचना पाटी राख्नैपर्ने भएपनि त्यो कार्यान्वयन नभइरहेको बताए ।

ओभर लोडको गाडीले भाँचियो पुल

सडक खण्डको दुम्कीबासमा पुस २६ गते भारतीय हेभी ट्रकले ठक्कर दिँदा पुल भाँचिएको घटनापछि विभिन्न कोणबाट बहस र विश्लेषण भइरहेका छन् । एन.एल. ०१ ए.एच. ५१७९ नम्बरको भारतीय ट्रक पश्चिमबाट पूर्वतर्फ पास हुने क्रममा पुल एक्कासि भाँचियो ।

मालवाहक सवारी साधन भारबहन नियमनसम्बन्धी कार्यविधि २०७१ (संशोधन २०७४) अनुसार मालवाहक सवारीले प्रस्थान बिन्दुनजिक, मध्यबिन्दु र गन्तव्यनजिकको तौलपुलमा अनिवार्यरूपमा तीनपटक तौल गराई लोडसिट राखेर मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।

null

ट्रक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले निर्धारण गरेको मापदण्डअनुसार नेपाली सडकको बनावट र भारवहन क्षमता ४० टन मात्र रहेको बताए । भारतीय ट्रक क्षमताभन्दा दोब्बरसम्म बढी भार बोकेर गुड्ने गरे पनि राज्यले प्रभावकारी नियन्त्रण गर्न नसक्दा नेपालका पुल र सडकमा ठूलो क्षति पुगिरहेको पोखरेलले बताए ।

बुटवल–नारायणगढ खण्डका स्टिल ट्रस ब्रिजहरू २०३२ देखि २०३५ सालको बीचमा ब्रिटिस सरकारको सहयोगमा बनेका हुन् । ओभरलोडका गाडीले बुटवल–भैरहवा खण्डमा पनि सडक उबडखाबड भएको छ । ओभरलोड लिएर आउने भारतीय गाडीलाई जरिवाना तिराएर चल्न दिइँदा सडक बिग्रिएको छ । 

null

सडकको विकल्प खोज्दै यात्रु 

बाटो कष्टपूर्ण भएपछि यात्रुले विकल्प खोज्न थालेका छन् । दाउन्नेको ओरालो झरेर बुटवल हुँदै पश्चिम जाने यात्रु हुलाकी सडक चौपत्ताबाट परासी, भैरहवा, लुम्बिनी हुँदै तौलिहवा भएर पश्चिमतर्फ जान थालेका छन् । यता पाल्पा र गुल्मी जाने यात्रु बसहरू पनि नारायणगढबाट बुलिङटार, रामपुर आर्यभञ्जाङ पिपलडाँडा हुँदै पाल्पाको बाटो प्रयोग गर्न थालेका छन् । तर, बुटवलपश्चिम धनगढीदेखि महेन्द्रनगरसम्म जाने यात्रुका लागि भने यो सडकको विकल्प छैन ।

चितवनको नारायणगढ र रुपन्देहीको बुटवललाई जोड्ने यो सडक प्रतिघण्टा ८० किलोमिटरको ‘हाई स्पीड’ हो । तीन वर्षभित्र काम सक्ने भनेर वि.सं. २०७५ चैतमा प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । २०८१ को पुस सकिँदासम्म जम्मा ५४ प्रतिशत काम मात्र सकिएको आयोजनाले जनाएको छ । ६ वर्षमा ५४ प्रतिशत मात्र काम भएको यो सडक विस्तार गर्न यही गतिमा काम भए कति वर्ष लाग्ने हो ठेगान छैन । 

निर्माण थालेको ६ वर्षमा पेस्कीसहित १० अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । तर, दोस्रोपटक पनि काम सम्पन्न नभएपछि तेस्रोपटकका लागि २०८२ साउन ८ गतेसम्म म्याद थप भएको छ । सरकारले ठेकेदारको मागअनुसार म्याद थप गर्दै आएको छ । वर्षौंसम्म सडक अलपत्र पार्ने ठेकेदारलाई जरिवाना गराएर ठेक्का रद्द गर्नुपर्ने स्थानीयको माग छ । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रोपटक २०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो ।

सडक विस्तारका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा आयोजना अगाडि बढेको थियो । ११४ किमी सडकमध्ये ७० किमी ४ लेन, २९ किमी बीचमा ४ लेन र दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन तथा पहाडी भेग र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किमी खण्डमा ३ लेनको सडक बनाउने गरी सम्झौता भएको थियो । बीचमा ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्ने हो । अहिलेसम्म ८० किमी २ लेन र ४० किमी चार लेन सडक मात्र कालोपत्रे भएको छ, त्यो पनि अधुरो छ । 

null

सडक बनेपछि मुहार फेरिने आशा

चितवनको सौराहाबाट लुम्बिनी जोड्ने सडकको बेहाल भएपनि रूपन्देहीका पर्यटन व्यवसायी आशावादी छन् । यस्ता सडक निर्माण र विस्तारको काम छिटो सकिए भविष्यमा बुटवल यात्रा सहज र छिटो हुने हुँदा पर्यटकको संख्या पनि बढ्ने उनीहरूको अपेक्षा छ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले अहिले सडकको अवस्था राम्रो नभएपनि फराकिलो बनिरहेकाले भविष्यमा यसले रुपन्देहीको विकासमा टेवा पुर्‍याउने बताए ।

‘बाटोको अवस्था खराब हुँदा सौराहा आएका पर्यटक बुटवल र लुम्बिनी आउन समस्या छ । बाटो फोर लेनको बनेपछि राम्रो हुनेमा हामी आशावादी छौं । निर्माणको काम समयमै सक्न सबैको दबाब आवश्यक छ ।’ 

पढ्नुहोस्, थप विशेष स्टोरी :

ब्यूरोक्रेसीमा अचम्मको रोग: पटक-पटक नठुँगी हुन्न काम, लत्याइन्छ मन्त्रिपरिषद्कै निर्णय

संविधान संशोधन : कांग्रेस–एमालेको रणनीतिक चाल मात्रै कि तयारी पनि ?

घरजग्गाको मन्दीले अर्थतन्त्रमा भयंकर डेडलक: व्यवसायीले ज्यान गुमाउने, सरकारले राजस्व !

घरजग्गाको मन्दीले अर्थतन्त्रमा भयंकर डेडलक: व्यवसायीले ज्यान गुमाउने, सरकारले राजस्व !

मन्दीको मारले थिचिँदै छड उद्योग, समग्रमा ५० प्रतिशत पनि छैन बजार माग

प्रहरीमा २८ हजार दरबन्दी थप्ने प्रस्ताव गृहमा अलपत्र– उपत्यकादेखि प्रदेशसम्मै अपुग

salt training

कमेन्ट गर्नुहोस्