
दैलेख जिल्लाको दुल्लु नगरपालिका कुनै बेला दैलेखको सदरमुकाम थियो । हाल दैलेख बजारमा रहेको सदरमुकामलाई दैलेखका ‘चलाख नेताले रातारात चोरेर’ दुल्लुबाट ल्याएका थिए ।
साविकको त्यही दुल्लु गाविस, हालको दुल्लु नगरपालिकामा जन्मेका घनश्याम भण्डारी कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको भूमिकामा छन् । एमालेको गढ मानिएको दुल्लुमा २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका घनश्यामले एमालेका बरुनाथ योगीलाई पराजित गरेर ‘गाउँको सरकार’ प्रमुख बने ।
२०७९ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर दुई ‘क’बाट उम्मेदवार बनेका घनश्यामले पहिलो प्रयासमै संसदीय यात्रा तय गरे । यसअघि कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिको सभापति समेत रहिसकेका उनी हाल सामाजिक विकास मन्त्रीका रूपमा काम गरिरहेका छन् ।
उनी राजनीति मात्रै गर्दैनन्, कविता पनि लेख्छन् । साहित्य क्षेत्रमा उनको रुचि छ । उनले एक कविता संग्रह समेत प्रकाशित गरिसकेका छन् ।
०००
दुल्लु गाविस-२ मा २०४० साल असार १४ गते जन्मिएका घनश्याम बुवा दिवंगत पूर्णबहादुर भण्डारी र आमा चन्द्र भण्डारीका ज्येष्ठ सन्तति हुन । उनका एक भाई र दुई बहिनी छन् ।
उनी राजनीतिक माहोल भएको परिवारमा जन्मे/हुर्किए । बुवा पूर्णबहादुर नेपाली कांगेसका क्षेत्रीय सभापति रहेकै समयमा तत्कालीन माओवादीले हत्या गरिदियो । जसले उनलाई सानै उमेरमा थप जिम्मेवारीको भारी बोकायो । भाइबहिनीको रेखदेख गर्दै र आमाको भरोसा बन्दै उनी अघि बढे ।
घनश्यामले नेरामावि कीर्तिखम्बमा एक देखि पाँच कक्षा सम्मको अध्ययन गरे भने ६ कक्षा देखि १२ सम्मको अध्ययन दुल्लुकै विजया उच्च माध्यमिक विद्यालयमा गरे । स्नातक दुल्लुमै रहेको द्रोणाचल शिक्षा क्याम्पसबाट उत्तीर्ण गरे भने नेपाली विषयमा स्नातकोत्तर मध्यपश्चिम विश्वाविद्यालयबाट उत्तीर्ण गरे ।
‘फलामे ढोका’ भनिने एसएसली परीक्षा उनले २०५६ सालमा दिए । उनलाई त्यो समयमा गणित विषय लाग्यो । ‘त्यतिबेला विव्यस अध्यक्ष मेरो बुवा हुनुहुन्थ्यो । उहाँहरूले मलाई कक्षाका जान्ने विद्यार्थीको बीचमा बस्ने व्यवस्था मिलाइदिनु भएको थियो । मेरो वरिपरि हाल दुल्लु नपाका प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत तिलक विक, कर्ण रावत र रमेश खनाल थिए’, उनी सम्झिन्छन, ‘खनालले मलाई आफूले लेखेको गणित विषयको उत्तरपुस्तिका सार्न भनेर दिए । मैले खनाललाई झपारेर मलाई चिट चोर्ने जस्तो मानिस् भन्दै उसको उत्तरपुस्तिका नै च्यातिदिएँ ।’
त्यसपछि विद्यालयका शिक्षकले खनाललाई अर्को उत्तर पुस्तिका उपलब्ध गराई पुनः लेखाएको घनश्याम सम्झिन्छन् । उतिबेला उनले गणित विषयमा २७ नम्बर ल्याएका थिए ।
मेला जात्रामा जान खासै रुचि नदेखाउने घनश्याम २०५६ सालमा भने स्थानीय पादुका जात्रामा गएका थिए । घरको अथाराबाट मलखादमा हाम्फालेर जात्रा गएको बताउँदै उनी आफ्ना लागि पहिलो र अन्तिम जात्रा त्यही भएको उल्लेख गर्छन् ।
एसएलसीपश्चात उनी काठमाडौंको आरआर क्याम्पसमा भर्ना भए । उनले त्यहाँ भूगोल र संगीत विषय लिए । पहिलो वर्ष उनले नियमित नै पास गरे । तर, दोश्रो वर्षको पढाई चलिरहेका बेला उनले जीवनमा नसोचेको घटना भोग्नुपर्यो । २०५९ साल असोज १२ गते उनको जीवनको मुख्य खुशी खोसियो । सपनाको उज्यालो आकाशमा पीडाको कालो बादल मडारियो ।
त्यसबेला देशको प्रधानमन्त्री शेरबहादुर देउवा थिए । १२ गते देशैभरिका देउवा पक्षका सात जना क्षेत्रीय सभापतिलाई माओवादीले हत्या गरेका थिए । त्यही हत्या भएकामध्ये एक थिए, घनश्यामका बुवा पूर्णबहादुर ।
‘१३ गते बिहानै मेरो फ्ल्याट (कालिकास्थान)मा खुमबहादुर खड्कादेखि पूर्णबहादुर खड्कासम्म आउनुभयो । उहाँहरूले खबर सुनेको खण्डमा केही भइहाल्छ कि भन्ठानेर एम्बुलेन्ससमेत ल्याउनु भएको रहेछ’, स्मृतिको गर्तमा खत बनेर रहेको दिन सम्झिँदै घनश्याम भन्छन्, ‘त्यो दिन पुरै म उहाँहरूसँगै कार्यक्रममा गएँ । साँझ मात्रै उहाँहरूले मेरो बुवा नरहेको बताउनु भयो । मलाई हेलिकप्टरमार्फत दुल्लु जान भन्नुभयो ।’
प्रज्ञा प्रतिष्ठानमा २०५९ असोज १४ गते घनश्यामको कविता संग्रह ‘मडारिएको बादल’ विमोचन गर्ने तयारी थियो । बुवाको हत्या भएपछि उक्त कार्यक्रम रोकियो ।
‘मलाई नेताहरूले हेलिकप्टरमा जान भनेपनि म गइनँ । बरु काठमाडौंबाट जहाज चढेर नेपालगञ्ज झरें । त्यसपछि जीप रिजर्भ गरेर दैलेखको दुल्लुतर्फ प्रस्थान गरेँ’, उनले भने, ‘त्यसपछि १४ गते म दैलेख पुग्नै लाग्दा माओवादीले दैलेख जिल्ला बन्द गरेका रहेछन् । उनीहरूले मेरो बुवा लगायतको हत्या गरेकोमा विजयोत्सव मनाउन जिल्ला बन्द गरेका रहेछन् । त्यो दिन म गाडीमा दैलेखको गुराँसेसम्म मात्र पुग्न सकें । त्यसपछि त्यहाँबाट पैदल नै हिँडेर राति दुल्लु पुँगे ।’
उनी घरमा गए । घरको जेठो छोरा भएका कारण भाइ, बहिनी र आमालाई सम्झाउने जिम्मेवारी उनको काँधमा थियो । गाउँमा माओवादी आएको हल्ला सुन्नेबित्तिकै जंगलमा लुक्न जान्थे । यो उनको दैनिकी नै बन्यो । ‘त्यतिबेलाको त्रास यस्तो थियो कि माओवादी आए भन्ने कुरा सुनेको खण्डमा जंगल गएर दिन रात नै बिताउनुपर्थ्यो’, उनले भने, ‘त्यही कारण हामीले बुवाको किरिया समेत गर्न सकेनौं ।’
उनका बुवाले त्यतिबेला माओवादीलाई खान बस्न दिनेदेखि नियमित चन्दा दिइरहेकै हुन्थे । बुवाको हत्या हुनुभन्दा अघिल्लो दिन डाँडीमाडीमा माओवादीको कार्यक्रम थियो । त्यहाँ माओवादी नेताहरूले उनका बुवालाई इमान्दार र कर्मठ नेताको रूपमा रहेको भाषण गरेका थिए । त्यो भाषण सुनेका कारण माआवोदीले आफूलाई नमार्ने विश्वास उनका बुवामा रहेको घनश्याम बताउँछन् ।
अनि, माओवादीको फन्दाबाट उम्किए
साहुबाडा बजारमा उनीहरूको ठूलो पसल पनि थियो । बुवाले चलाउने त्यो पसलमा ‘नुनदेखि सुनसम्म’ भनेझैं सबै सामान पाइन्थ्यो । उनका बुवाको हत्यापछि केही दिन घनश्यामले पसल सञ्चालन गरे । तर, २०५९ को अन्त्यतिर गाउँमा माओवादीले गाउँ जनसरकार (गाजस) गठन गर्ने भनेर अभ्यास गर्न थाले । दुल्लु बाहेक अन्यत्र सबै गाविसमा गाउँ जनसरकार गठन भइसकेको थियो ।
सोही समयमा एक दिन हतियारसहित माओवादीका नेता कार्यकर्ताहरू घनश्यामको घरमा आए । उनलाई गाजस प्रमुख हुन कर गर्न थाले । त्यसपछि शौचालय जाने निहुँ बनाएर उनी घरबाट भागे । उनी दुल्लुदेखि तल्लो डुंगेश्वरसम्म राति हिँडेरै आए । बिहान उनी सुर्खेत जाने बसमा चढे । त्यहाँ कम्ब्याट ड्रेस लगाएका एक माओवादी सेनाले उनीसँग सिफारिस मागे । त्यतिबेला एक गाउँबाट अर्को गाउँ जान माओवादीको सिफारिस चाहिन्थ्यो । सिफारिसबिनै हिँडे ‘जनअदालत’ लगेर ‘कारबाही’ गर्थे ।
‘म बसको छतमा चढें । त्यो माओवादी सेना पनि बसको छतमै आयो । मलाई मात्रै होइन, एक बिरामी महिलालाई पनि गाडीमा चढ्नै दिएनन्’, घनश्याम भन्छन् । त्यो देखेर उनलाई रिस उठिरहेको थियो । उनले बसको छतमै रहेको समयमा ती माओवादी सेनालाई मुक्का प्रहार गरे । तर, ती युवा डोरी समातेर बाँच्न सफल भए ।
‘त्यसपछि त्यो बस बड्डीचौर पुग्यो । मलाई समात्न भनेर माओवादीले बस घेरे । किन आक्रमण गरेकोदेखि सिफारिस किन नल्याएको भनेर उनीहरूले जनअदालतमा प्रश्न सोधे’, घनश्याम सम्झिन्छन्, ‘मैले ती युवाको कर्तुत पनि भनें । दुल्लुमा गाजस गठन नभएका कारण कहाँबाट सिफारिस ल्याउने भनेर भनेपछि उनीहरूले मलाई त्यहाँबाट जान दिए ।’
उनले २०६० मा काठमाडौं पुगेर पत्रकारिता शुरू गरे । द्वन्द्वपीडितहरूका पक्षमा काम गर्ने संस्था नागरिक आवाजसँग पनि जोडिए । उनले आइतबार, बिहीबार र शनिबार संस्थाको कार्यक्रम सञ्चालन गर्ने र सहजीकरण गर्ने काम गर्न थाले । त्यतिबेला अधिकृतको तलब २४ सय भएपनि उनले भने मासिक १८ हजार कमाउन थाले ।
‘त्यतिबेला मैले चाहेको भए अनामनगरमा एक लाखमै घर किन्न सक्थें । तर, दुल्लुमै केही गर्ने सपना देखेका कारण मैले घरजग्गा खरिद गरिनँ’, घनश्याम भन्छन् ।
काठमाडौंमा रहँदा उनी दैलेखी समाजको सचिव बने । त्यसपछि उनको दैनिक कार्य बद्लियो । बिरामी भेट्नेदेखि सशस्त्र द्वन्द्वमा परि ज्यान गुमाउनेहरूका शव हेलिकप्टरमा राखेर गाउँगाउँ पठाउने कामसम्म गर्न थाले ।
काठमाडौंमा त्यतिबेला विद्यार्थी आन्दोलन भइरहन्थ्यो । राजाको कदमका विरुद्ध भएको आन्दोलनमा आफू प्रहरीको ट्यांकर मुनि छिरेर ज्यान जोगाउन सफल भएको उनी बताउँछन् ।
दुल्लु विद्रोह र गाउँ फिर्ता
२०६१ सालमा दुल्लु विद्रोह भयो । माओवादीको ज्यादती भएको भन्दै त्यहाँ माओवादीविरुद्ध आन्दोलन भएको थियो । त्यहीबेला उनी गाउँ फर्किए । जिल्ला सदमुकाममा उनी १० वटा कोठा भाडामा लिएर बस्न थाले । उनीसँग अरु ३४ जना सँगै बस्ने र सँगै हिँड्ने गर्थे । उनीहरू सबैको खर्च भण्डारी आफैंले उठाउँथे ।
२०६१ सालमा उनी नेपाल प्रेस युनियन दैलेखको संस्थापक अध्यक्ष बने । त्यसपछि उनीसहितको टोलीले धमाका दैनिक प्रकाशित गर्यो । पाँच जनाको सहकार्यमा शुरू गरिएको उक्त पत्रिकामा उनी धेरै दिन टिकेनन् । त्यसपछि उनले द्रोणाचल साप्ताहिक भन्ने पत्रिका प्रकाशन गरे । निरन्तर सात वर्षसम्म पत्रिका चलाए । उनको साप्ताहिक दैलेख जिल्लाका सबै विद्यालयमा पुग्ने गरेको थियो ।
त्यसपछि उनी एक कार्यकाल नेपाल पत्रकार महासंघको जिल्ला सचिव बने । अनि, अशल शासन युवा क्लबको जिल्ला सचिव बने । सँगै ग्रामीण विकास संस्थामा काम गर्न थाले भने मध्यपहाड म्यागेजिनको प्रकाशक पनि बने । त्यसका अलावा हाल महालेखा परीक्षकको कार्यालयले गर्ने काम जस्तै दैलेखका सबै गाविस र नगरपालिकामा जिल्ला विकास समिति मार्फत काम गर्न थाले ।
‘कुरा २०६२/०६३ को जनआन्दोलनको हो । हामी प्रेसको ज्याकेट लगाएर आन्दोलन गर्न जान्थ्यौं । आफू पत्रकार भएका कारण राज्यपक्षबाट खतरा भएपनि त्यति धेरै हुन्थेन’, उनी भन्छन् ।
दुल्लु विद्रोहपछि सरकारले दुल्लुमा क्षति भएका संरचना पुनर्निर्माण गर्न भनेर तीन करोड रूपैयाँ विनियोजन गरेको थियो । त्यो रूपैयाँमा कर्णेल नयनराज दाहालले भ्रष्टाचार गरेको भनेर घनश्यामले अशल शासनमा समाचार प्रकाशित गराए भने कार्यक्रम नै तयार गरेर रेडियोबाट बजाए ।
‘त्यो थाहा पाएपछि कर्णेलले जिल्ला प्रशासन कार्यालयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारीमार्फत बोलाए । म त्यहाँ गएँ । म त्यहाँ पुगेर कुरा भइरहेको समयमा एक्कासी आवेशमा आएर कर्णेलले सञ्चारसेट म माथि नै प्रहार गरे’, घनश्याम भन्छन्, ‘धन्न मैले टाउको निहुर्याएँ । त्यो सेट भित्तामा यसरी बजारियो गहिरो डोब नै बन्यो । त्यसपछि प्रमुख जिल्ला अधिकारी खुमराज पञ्जालीले मलाई जोगाए । मलाई त आज नै अन्तिम दिन हो जस्तो लागिसकेको थियो ।’
घनश्याम २०६१ मा नेपाली कांग्रेसको क्रियाशील सदस्य बने । दशौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका भण्डारी एघारौं र बाह्रौं महाधिवेशनमा क्षेत्रीय सभापति बने । १३औं महाधिवेशनमा महासमिति सदस्य बनेका घनश्याम १४औं महाधिवेशनमा भने महाधिवेशन प्रतिनिधिमा चयन हुन सकेनन् ।
‘सबैभन्दा ठूलो कुरा समाजसेवा नै हो । कुनै लोभ, लालसा नराखेर समाजकै लागि केही गर्ने सोंचमा छु’, घनश्याम भन्छन्, ‘नगर प्रमुख हुँदा पनि कसैलाई काखा र पाखा गर्ने, राजनीतिक नजरबाट हेर्ने काम गरिनँ । अहिले मन्त्री हुँदा पनि त्यस्तो गरिरहेको छैन ।’