
नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामा ताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न गएकी उनी घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाइन् ।
‘छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो’, उनले भनिन् ।
मध्यवर्ती क्षेत्रमा रहेको स्वर्गद्वारी सामुदायिक वनको हरियालीले वरपरबाट घेरिएको च्यामा ताल बर्दियाको बाँसगढी नगरपालिका–२ राँझाटापुमा पर्दछ । उनले अरूलाई पनि च्यामा तालको मनमोहक दृश्य हेर्न जान आग्रह गरिन् ।
पूर्णिमा जस्तै बाँके नेपालगञ्ज उपमहानगरपालिका–१८ की सङ्गीता थापाले पनि आफू प्रायः वनभोजका लागि च्यामा सिमसार क्षेत्रमा आउने गरेको बताइन् । प्राकृतिक सुन्दरता र शान्त वातावरणमा रमाउन रूचाउने सङ्गीता साथीभाइ र परिवारसहित घुम्न होस् या वनभोजका लागि होस् च्यामा ताल नै जाने गरेको बताउँछिन् ।
च्यामा तालमा परिसरमा वनभोजका लागि आएका बर्दिया बढैयाताल–४ का श्यामकुमार पौडेलले पनि पूर्णिमा र सङ्गीतालाई जस्तै उक्त तालले मनमोहक बनाएको बताए । च्यामा तालका बारेमा आफूले सुनेको तर पहिलो पटक साथीसँग घुम्न आएको बताउँदै उनले भने, ‘म यही जिल्लाको भए पनि यहाँ पहिलो पटक आएको हुँ । साथीहरूले सुनाएको जस्तै सुन्दर र आकर्षक रहेछ ।’
च्यामा ताल सिमसार क्षेत्रमा वनभोजका जानेका लागि बाँसगढी नगरपालिकाले ३० लाखको बजेट खर्चिएर वनभोज स्थल बनाएको वडा नं २ का वडाध्यक्ष अर्जुन खड्काले बताए । उनका अनुसार २०६२/६३ तिर उक्त ताल भएको ठाउँमा पानीको मुहान थियो, जमिन भासिन्थ्यो । त्यसरी भासिएको ठाउँलाई संरक्षण गर्न सामुदायिक वनले केही बजेट खर्च गरेर वरपर निश्चित घेरा लगाएर बाँध बाँधेर ताल तलैया बनाएको हो ।
२०७४ मा बाँसगढी नगरपालिकाले आफ्नै खर्चमा ताललाई सिमसारका रूपमा घोषित गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज र नगरपालिकाको संयुक्त आयोजनामा च्यामा तालको नामकरण गरिएको वडाध्यक्ष खड्काले बताए । उनका अनुसार हाल उक्त च्यामा तालमा दिनप्रतिदिन आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको छ ।
बाँसगढी नगरपालिका निवर्तमान प्रमुख सालिकराम अधिकारीले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यताको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न समुदायले अग्रसरता देखाउनुपर्ने बताए । तालको विकास र संरक्षणको महत्त्वपूर्ण जिम्मेवारी समुदायको भएकाले तालको सरसफाइ, व्यवस्थापन, संरक्षण र प्रवर्द्धनमा समुदायले नै चासो देखाउनुपर्ने उनको भनाइ छ ।
वडाध्यक्ष खड्काका अनुसार उक्त च्यामा तालमा भित्रदेखि पानी निस्कने र चौबीसै घण्टा पानी भइरहने भएकाले वन्यजन्तु पानी खान आउने गर्दछन् । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ । जसको लम्बाइ ११ सय मिटर रहेको छ भने चौडाइ आठ सय मिटर छ । तालको प्रचारप्रसारमा सहज होस् भन्ने उद्देश्यले बाँसगढी नगरपालिकाको लोगोमै च्यामा सिमसार क्षेत्रलाई समेटेको छ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जङ्गली जनावर र विभिन्न प्रजातिका चराचुरूङ्गीको बासस्थान रहेको च्यामा ताल सिमसार क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वनभोज स्थल बनाइएको हो । पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तर लखना चोक हुँदै झण्डै १२ किलोमिटरको दूरीमा च्यामा ताल अवस्थित छ । च्यामा तालमा रमाउन बाँके र बर्दियासँग जोडिएका जिल्लाबाट आन्तरिक पर्यटकहरू आउने गर्दछन् ।