
पाकिस्तानबाट अवैध रूपमा भारत छिरेकी सीमा हैदरले आफू गर्भवती भएको खुलासा गरेपछि आक्रोशित भएका उनका पूर्वपति तथा पाकिस्तानी नागरिक गुलाम हैदरले भारतीय विदेशमन्त्रीसँग गुहार मागेका छन् ।
चार सन्तानसिहत २०२३ मा अवैध तरिकाले भारत प्रवेश गरेकी पाकिस्तानी महिला सीमा हैदरका पूर्वपति गुलाम हैदरले आफ्ना बच्चाहरूलाई भेट्न र आफ्नै संरक्षणमा ल्याउन सहयोग गरिदिन छिमेकी मुलुक भारतको सरकारसँग आग्रह गरेका हुन्। उनले विदेशमन्त्री एस. जयशंकरसँग सहयोगको याचना गरेका छन् ।
सीमा आफ्नो प्रेमीसँग बस्नका लागि भारत आएकी थिइन्, जससँग उनको भेट अनलाइन माध्यमबाट भएको थियो। सीमा (३२) पाकिस्तानको सिन्ध प्रान्तस्थित ज्याकोबावादकी बासिन्दा हुन्। उनी मे २०२३ मा आफ्ना बच्चाहरूलाई लिएर कराँचीस्थित आफ्नो घरबाट नेपाल हुँदै भारत प्रवेश गरेकी थिइन्।
सीमा जुलाई २०२३ मा चर्चामा आइन्, जब भारतीय अधिकारीहरूले उनलाई उत्तर प्रदेशको ग्रेटर नोएडामा भारतीय नागरिक सचिन मीणा (२७)सँग बसिरहेको अवस्थामा फेला पारे। सचिनको दाबी अनुसार उनीहरूले विवाह गरिसकेका छन् ।

गुलाम हैदरको अपिल
सीमाका पूर्वपति गुलाम हैदरले हालै एउटा भिडियो सन्देशमार्फत भारतका विदेशमन्त्री एस. जयशंकरसँग न्याय दिलाउन अपिल गरेका छन्।
हैदरले दाबी गरेका छन् कि उनी प्रमुख पाकिस्तानी अधिवक्ता र मानवअधिकार कार्यकर्ता अन्सार बर्नीको सहयोगमा २०२३ को अन्त्यदेखि आफ्ना बच्चाहरूको संरक्षण पाउन प्रयासरत छन्।
बर्नीले गत वर्ष फेब्रुअरीमा हैदरले उनीसँग सहयोग मागेका बताएका थिए । र, भारतीय अदालतमा मुद्दा दायर गर्न भारतीय वकिलको सहयोग मागेका थिए।
अन्सार बर्नीले भने ‘उचित प्रक्रियापछि, हामीले भारतीय वकिल अलि मोमिनको सहयोग लिएर भारतीय अदालतमा कानूनी प्रक्रिया शुरू गर्न वकालतनामा पठाएका छौं।’ तर, मुद्दा शुरू भए/नभएको भने प्रष्ट छैन ।
बच्चाहरू आमाकै कारण समस्यामा
हैदरले भिडियो सन्देशमा दाबी गरेका छन्, मुद्दा अदालतमा एक वर्षदेखि अड्किएको छ । उनले २०२३ देखि आफ्ना बच्चाहरूलाई भेट्न पाएका छैनन्।
हैदरले आमाका कारण आफ्ना बच्चाहरू भारतमा फसेका आरोप लगाएका छन् । उनले भने, ‘उनले (सीमाले) जबर्जस्ती बच्चाहरूको नाम र धर्म परिवर्तन गर्न खोजिरहेकी छन्।’
नेपाल हुँदै भारत पुगेकी थिइन् सीमा
सीमा संयुक्त अरब इमिरेट्स र नेपाल हुँदै भारत पुगेकी थिइन्, जबकि हैदर साउदी अरेबियामा काम गरिरहेका थिए।
मे २०२३ मा सीमाले ल्याउँदा उनका सबै बच्चाहरूको उमेर सात वर्षभन्दा कम थियो। सीमाले यसअघि बीबीसीलाई दिएको अन्तर्वार्तामा आफूले हिन्दू धर्म अपनाइसकेको बताएकी थिइन्।
उनले पाकिस्तान फर्किन अस्वीकार समेत गरेकी छन्। सीमाको दाबी अनुसार उनका बच्चाहरूले पनि हिन्दू धर्म अपनाएका छन्।
हालै, सीमाले इन्स्टाग्राममार्फत पोस्ट जारी गर्दै सचिनसँग आफू गर्भवती भएको दाबी गरेकी छिन्।
त्यसपछि गुलामले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गर्दै सीमा र उनकी भारतीय प्रेमी सचिनमाथि आक्रोश पोखेका थिए । भिडियोमा गुलाम हैदरले भनेका थिए, ‘सीमासँग लाज छैन । उनले जे गरिरहेकी छन्, कुनै लाज नभएको महिलाले पनि गर्न सक्दैन ।’