
गत साता (पुस २८ देखि माघ ३ गतेसम्म) ४६.४७ अंकले घटेको शेयर बजार यो साता ६५.७३ अंकले बढेको छ ।
माघको पहिलो सातामा दोहोरो अंकको गिरावटपछि यस साता (माघ ६ गतेदेखि १० गतेसम्म) नेप्से परिसूचक ६५.७३ अंकले बढेर २६५४.३५ को बिन्दुमा बन्द भएको हो ।
न्यूनतम् २५८०.०१ र अधिकतम २६८१.४९ को बिन्दुसम्मको उतारचढावमा चार दिन परिसूचक बढ्यो भने एक दिन दोहोरो अंकले घट्यो ।
साताभरमा बजारमा ३६ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ ।
६ सातादेखि रेड–ग्रिनको लयमा शेयर बजार गइरहेको शेयर विश्लेषक सुभाष ढुंगाना बताउँछन् । एक साता बढ्ने र एक साता घट्ने ट्रेन्ड बनिरहेको उनको भनाइ छ ।
‘६ सातादेखि एक साता बढ्ने र एक साता घट्ने भइरहेको देखिन्छ’, उनले भने, ‘रेड–ग्रिनको ट्रेन्ड बनिरहेको छ ।’
अहिले शेयर बजार २५४५ देखि २६८० सम्मको साइडवेज मुभमेन्टमा चलिरहेको ढुंगानाले बताए । २५४५ देखि २६८० को रेन्जलाई तोडेपछि मात्रै नयाँ मुभमेन्ट समात्ने उनको तर्क छ ।
यस्तो रह्यो साताको कारोबार
निरन्तरको गिरावटपछि साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १२.५९ अंकले बढेर २६०१.२१ को बिन्दुमा बन्द भयो ।
०.४९ प्रतिशतले बढेको पहिलो कारोबार दिन आइतबार ६ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
साताको दोस्रो कारोबार दिन सोमबार परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ को बिन्दुमा बन्द भयो । यस दिन बजारमा कुल ६ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भयो ।
त्यस्तै, सातको तेस्रो कारोबारका दिन मंगलवार पनि परिसूचक सामान्य अंकले बढ्यो । सोमबार परिसूचक ५.०९ अंकले बढेर २६१३.०८ को बिन्दुमा कायम भयो । यस दिन ६ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन बुधवार परिसूचक उच्च अंकले बढ्यो । बुधवार नेप्से परिसूचक ५२.३७ अंकले बढेर २६६५.२७ को बिन्दुमा बन्द भयो । यस दिन ९ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
र, साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा बन्द भयो ।
यस दिन १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँको कारोबार भयो ।