
टोखाका घरजग्गा व्यवसायी विक्रम लामाको हत्या योजनामा अभियुक्तहरूलाई २० लाखको सुपारी दिएको तथ्य बाहिर आएको छ ।
पानीपोखरीमा इनोभा अस्पतालको पार्किङमा गत कात्तिक ११ गते विक्रममाथि अन्धाधुन्ध रड र बाइकको सकमा प्रयोग हुने फलामे डण्डी प्रहार भएको थियो ।
विक्रम अहिले खतरामुक्त छन् । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली जुट्दा विक्रमको हत्या योजनामा २० लाखको सुपारी दिएको तथ्य खुलेको हो ।
प्रारम्भिक अनुसन्धानमा दुई गुण्डा समूहबीचको ‘ग्याङफाइट’ हो कि भन्ने आशंका प्रहरीलाई थियो । तर, सडकमा राखिएको सीसीटीभी फुटेज केलाउँदै गर्दा विक्रमलाई टोखादेखि नै एउटा मोटरसाइकलले पिछा गरेको तथ्य खुल्यो ।
बा ९६ प ५९७५ नम्बरकोे पल्सर मोटरसाइकलको धनी खोज्दै जाँदा बौद्धका अर्जुन तामाङको पहिचान खुल्यो । सो नम्बर अर्जुनकै भएपनि आक्रमणकारीले अर्कै रंगको मोटरसाइकलमा अर्जुनको बाइकको नम्बर टाँसेको तथ्य खुलेपछि प्रहरीले उनलाई छाडेको थियो ।
यहीबीचमा बिक्रमकै चीनजानकी भाउजू नाता पर्ने लक्ष्मी राईतिर अनुसन्धानको सुई तेर्सियो । प्रहरीले लक्ष्मीको खोजी गर्न थाल्यो । उनी मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन भइसकेकी थिइन् ।
अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेको टोलीले लक्ष्मीको मोबाइल नम्बरलाई लिएर प्राविधिक विश्लेषण गर्दा रमेश सिलवाल, टीकाराम भण्डारी र पदम राईसँग सम्पर्क रहेको देखियो ।
त्यहीबीचमा नुवाकोटका अजय लामा पनि लक्ष्मीसँग निरन्तर सम्पर्कमा रहेको खुल्यो । प्रहरीले अजयको खोजी गर्न थाल्यो । अजय पनि लक्ष्मीजस्तै मोबाइल अफ गरेर फरार भइसकेका थिए ।
अजयलाई खोज्दै जाँदा प्रहरीले मार्सल भन्ने शैलेन्द्र तामाङलाई पक्राउ गर्यो ।
शैलेन्द्रकै बयानका आधारमा विक्रममाथि आक्रमणको योजना बनाउनेदेखि सुपारीदिनेसम्मका काममा अजयसहित ४ जनाको संलग्नता रहेको तथ्य फेला परेको थियो ।
अजयलाई पक्राउ गर्न पनि प्रहरीलाई ठूलै मेहनत गर्नुपरेको थियो । आफूलाई प्रहरीले खोजी गरेको सुईंको पाएपछि उनी शुरूमा गोरखातिर भागेका थिए । प्रहरी गोरखा नै पुग्यो ।
गोरखाका सिजन अधिकारीको घरमा अजय लुकेको थाहा पाएर अनुसन्धान कार्यालयको टोली त्यहीँ पुगेको थियो । तर, प्रहरी पुग्नुअघि दुवैजना भागेर मुग्लिन हुँदै चितवन पुग्न भ्याए ।
अजय र सिजनसँगै चितवनमा दीपक बरामु र निश्चल सुनार पनि पुगेका थिए । प्रहरीले उनीहरूलाई लोकेट गर्दै गरेका बेला सिजनबाहेक अन्य तीनजना झापा पुग्छन् ।
झापाको काँकडभिट्टास्थित एक होटलमा दुईदिन बिताएपछि उनीहरूको पैसा सकिन्छ । अजयका जेठान नाता पर्ने सागर लिम्बूले बिर्तामोडमा एउटा फ्ल्याट खोजेर तीन जनालाई राखिदिन्छन् ।
प्रहरी उनीहरूलाई पिछा गर्दै झापासम्म पुग्छ । उनीहरू बसेको होटलको रेकर्ड फेला पर्छ । त्यही बीचमा सागरलाई सोधीखोजी गरेर सबै बुझ्दा उनीहरू बिर्तामोडमा रहेको बताइदिन्छन् ।
सागर पक्राउ परेको थाहा पाएपछि अजय र दीपक भाग्न सफल हुन्छन् । निश्चल भने प्रहरीको ‘पञ्जा’मा पर्छन् । झापाबाट भागेर अजय धरान पुग्छन् भने दीपक भरतपुर ।
प्रहरीले फोनको कलडिटेल केलाउँदै जाँदा झापामा रहेका बेला अजयले आफ्नी आमासँग सम्पर्क गरेको तथ्य फेला पार्छ । दीपकले पनि श्रीमतीसँग कुरा गरेका हुन्छन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दीपककी श्रीमतीले आफ्ना जेठाजुको नाममा काठमाडौंबाटै १५ लाख र अजयकी आमाले सागर लिम्बूको नाममा ५ लाख रुपैयाँ पठाइदिएको तथ्य खुल्छ ।
प्रहरी धरानसम्म पुग्छ । तर, अजयले धरानबाट लखनउका साथी भारतीय नागरिक पप्पुलाई सम्पर्क गर्छन् । आफू घुम्नका लागि उतै आउन लागेको बताउँछन् ।
पप्पु अजयलाई लिन बुटवल आइपुग्छन् । पप्पुको डेरा कपिलवस्तुको गोरुसिङ्गेमा पनि हुन्छ । त्यहाँ केही दिन बसेपछि दुवैजना लखनउ पुग्छन् । अजयको पैसा सकिँदै जान्छ ।
अनुसन्धान कार्यालयबाट डीएसपी घिमिरेको नेतृत्वमा एउटा टोली दिल्ली पुगेको हुन्छ । दिल्लीमा भारतीय प्रहरीको सहयोगमा गत पुस २३ मै सिजनलाई पक्राउ गरिन्छ ।
सिजन पक्राउ परेको कुरा लखनउमा रहेका अजयले थाहा पाउँछन् ।
दिल्लीमै रहेका दीपकलाई सम्पर्क गरेर अब लखनउमा सुरक्षित नहुने भन्दै उनीहरू दुवै भाग्छन् । लखनउबाट उनीहरू पञ्जाव, चन्डीगढ र हिमाञ्चलको बोर्डरमा पर्नेे पञ्चकुला पुग्छन् ।
पञ्चकुलामा अजयका दाइ काम गर्दै आएका हुन्छन् । उनीहरू १५ दिनसम्म पञ्चकुलामै बस्छन् ।
प्रहरी टोलीले अजयलाई निगरानी गर्न छाड्दैन । अजय र दीपक पञ्चकुलामा रहेको थाहा पाएपछि प्रहरी टोली उतै पुगेर भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्न सफल हुन्छ ।
अनुसन्धान कार्यालयका अनुसार अजयले विक्रममाथि आक्रमण गर्न २० लाखको सुपारी लिएको बयान दिएका छन् । सुपारी दिने व्यक्ति धादिङको ज्वालामुखी– ४ दोभानटारका रमेश सिलवाल रहेको अजयको बयानबाट खुलेको छ । प्रहरीका अनुसार रमेश लक्ष्मीका लिभिङ पार्टनर हुन् ।
रमेशले विक्रममाथि आक्रमण गराउनुको कारण पनि लक्ष्मीसँगै जोडिएको छ । आफ्नो सम्बन्धविच्छेद हुनुमा देवर विक्रमको हात रहेको भन्दै लक्ष्मीले नै हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बेलायतमा बसोबास गर्ने लक्ष्मी नेपाल आएका बेला रमेश सिलवालसँग अवैध सम्बन्ध गाँस्ने गरेको थाहा पाएका विक्रमले उक्त जानकारी आफ्ना दाजुलाई दिने धम्की दिएका कारण लक्ष्मी र विक्रमबीच दुरी बढ्दै गएको हुन्छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार हाल पक्राउ परेका अजय र सिजनको भेट सुन्धारास्थित भद्र गृहमा भएको थियो । त्यतिबेला अजय लिखत कीर्तेको कसुरमा ३ वर्षको कैद सजाय तोकिई जेल पुगेका थिए भने सिजन अधिकारी डाँका चोरीको कसुरमा ६ वर्ष कैद सजाय तोकिएर कैदमा बसेका थिए । त्यतिबेला उनीहरूको भेट भएको थियो ।
अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार विक्रममाथि आक्रमण गर्ने समूहलाई पक्राउ गरिएको छ ।
‘सीसीटीभी फूटेजबाट शुरू भएको अनुसन्धान प्राविधिक पाटो केलाउँदै निष्कर्षमा पुर्याउन र अभियुक्तलाई पक्राउ गर्न सफल भएका हौं,’ भट्टराईले लोकान्तरसँग भने ।
विक्रममाथि आक्रमण गर्ने योजनाकार रमेश र लक्ष्मी अहिले बेलायतमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भिडियो हेर्नुहोस्