
पूर्व–पश्चिम राजमार्गको मध्ये भागमा पर्ने बुटवल–गोरुसिंगे सडक खण्ड चार लेनमा विस्तार कार्य शुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअल माध्यमबाट सडक विस्तारको शिलान्यास गरेका हुन् ।
यस्तै, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलको जीतगढीमा सडक विस्तार कार्यको शुभारम्भ गरे ।
५० किलोमिटरको यो सडक रुपन्देही र कपिलवस्तुमा पर्छ । सडक कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण सम्पन्न हुने अनुमान छ ।
सडक विस्तारको शुभारम्भ गर्दै मन्त्री सिंहले बुटवल-गोरुसिंगे सडक गुणस्तरीय रूपमा र समयमै सम्पन्न गर्न आग्रह गरे ।
त्यस्तै अर्थमन्त्री पौडेलले बुटवलदेखि गोरुसिंगेसम्मको सडक निर्माणमा कुनै पनि ढिलाइ नगरी निर्माण सम्पन्न गर्न व्यवसायलाई आग्रह गरे । बुटवल–नारायणगढ सडकबाट पाठ सिकेर त्यस्तो गल्ती नदोहोर्याउने मन्त्री पौडेलले आग्रह गरे ।
६ दशकपछि स्तरोन्नति हुन थालेको यो सडक विक्रम संवत् २०१९ मा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेका थिए । शहरी क्षेत्रमा फुटपाथ, साइकल लेन र सर्भिस सहित ‘सिक्स लेन’ र ग्रामीण क्षेत्रमा ‘फोर लेन’मा स्तरोन्नति गरिने छ ।
विभागका सहसचिव तथा उपमहानिर्देशक डा. विजय जैसीका अनुसार दुई खण्डमा विभाजित गरी यो सडक स्तरोन्नतिको काम हुँदैछ ।
बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर दुई खण्ड २५/२५ किलोमिटरमा विभाजित गरी निर्माण गरिने छ ।
एसियाली विकास बैंकको सहयोगमा केही वर्षअघि डिजाइन सम्पन्न भएको २ लेनको यो सडक अब ४ लेनको बन्नेछ ।
एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् ।
यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ ।
यो सडक क्षेत्रभित्र पर्ने १० किलोटिरको कोरिडोरलाई हरित क्षेत्रको रुपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाएको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए ।

सडकको दुवै किनारलाई हरियाली क्षेत्रको रूपमा विकास गर्नेगरी उच्च प्राथमिकतामा राखेर कार्यक्रम प्रस्ताव गरिएको छ । अहिले बुटवलदेखि गोरुसिंगे खण्डमा रुखको मार्किङ, विद्युत् पोलको व्यवस्थापन, माटो, ढुंगा, गिट्टी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामग्री व्यवस्थापन र सडकको नापजाँचको काम भएको छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् ।
१४९ कल्भर्ट र ६ वटा अन्डर/ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ । सडक क्षेत्रमा पर्ने रुखहरूको नम्बरिङ सकिएर वन मन्त्रालयको अनुमतिमा अहिले मार्किङको काम भइरहेको र त्यसपछि रूख कटान सुरु हुने बुटवल गोरुसिंगे सडक परियोजना प्रमुख इन्जिनियर न्यौपानेले बताइन् ।
सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सम्झौता गरेका छन् । काम आशिष निर्माण सेवाले गर्नेछ ।
सम्झौताको तीन वर्षभित्रै काम सक्ने निर्माण व्यवसायी विजय गौलीले दाबी गरे । रुख कटान र विद्युत्का पोल स्थानान्तरणपछि सडक किनारको एक तर्फबाट निर्माण शुरू हुने गरी परियोजनाले डिजाइन गरेको छ । पूर्व-पश्चिम राजमार्ग भएर दैनिक हजारौं सवारी ओहोरदोहोर गर्ने भएकाले सवारीसाधन र यात्रुलाई सास्ती नहुने गरी निर्माणका काम हुने उनले बताइन् ।
सालझन्डीदेखि पिपरासम्म र बनगाईदेखि गोरुसिंगे क्षेत्रमा १४९ वटा कल्र्भट निर्माण गर्ने आयोजनाले जनाएको छ । तीमध्ये तीन वटा वन्यजन्तु आवतजावत गर्ने अन्डरपास र अन्य पानी बग्नसमेत मिल्ने गरी निर्माण हुनेछन् ।
सालझन्डी–पिपरा खण्डमा चार वटा, कोइली–घेरुवा–बनगाई–गोरुसिंगे क्षेत्रमा ६ वटा अन्डर/ओभर पाससहितका कल्भर्ट निर्माण हुने आयोजनाले बताएको छ ।