
भनिन्छ इच्छाले बाटो देखाउँछ । दृढताले सफल बनाउँछ । इच्छाशक्ति हुनुपर्छ, अप्ठ्यारो पार गरेर हिँडिन्छ । यसलाई २३ वर्षीय सृष्टि ढेवाजुले आफ्नो जीवनमा लागू गरेकी छन् । त्यसैले त आफ्नो इच्छाको बाटोमा छन् । शारीरिक अपाङ्गताका साथ जन्मिएकी सृष्टिको दायाँ हात छैन । उनी फुटसल खेलाडी हुन् । उनको सपना छ, उत्कृष्ट खेलाडी बन्ने ।
सानैबाट खेलमा रूचि भएकी सृष्टि दौडमा सधैँ प्रथम हुन्थिन् । हाइजम्प, दौड यी खेल प्रतियोगितामा मेडल जितेर सधैँ घर पुग्थिन् । दौडदेखि शुरू भएको खेलको लगाव फुटबल हुँदै फुटसलतर्फ गयो । खेल उनको चाख मात्र भएन । प्रेरणा बन्यो ।
‘स्कुलमा रनिङमा जहिल्यै प्रथम हुन्थेँ । स्कुलमा बेष्ट एथलेष्ट पाएँ मैले’, उनले भनिन्।
उनी विस्तारै फुटबल खेल्न थालिन् । जुन आजसम्म निरन्तर छ । फरक यत्ति हो उनी आजकल मैदानमा ट्रफीका लागि भिड्छिन् । विद्यालयस्तर, अन्तर विद्यालयस्तरका प्रतियोगितामा उनी सहभागी हुन्थिन् नै । चार वर्ष भयो उनी विभिन्न संघसंस्था र जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएर फुटसल खेल्न थालेको ।
उनलाई पहिलो व्यावसायिक प्रतियोगिता याद छ । जसमा उनको समूहले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । त्यस समय उनीहरूले प्रतिव्यक्ति १५ सय पाएका थिए ।
स्ट्राइकरको जिम्मेवारी सम्हाल्दै मैदानमा प्रवेश गर्ने सृष्टिलाई उनका बाबा उत्तरकुमार ढेवाजुले उत्तिकै साथ दिन्छन् । पढ्न पनि सानैदेखि अब्बल सृष्टि अन्य क्रियाकलाप पनि उत्तिकै अगाडि थिइन् । तर, शारीरिक अपाङ्गता कारण उनलाई विद्यालयमा हेय भावले हेर्थे । खेल वा अन्य क्रियाकलापमा सृष्टि अगाडि सर्दा शंकाको नजरले हेर्थे । यो व्यवहारले सृष्टिको कलिलो मन पोल्थ्यो । घर आएर बाबासँग रुन्थिन् । उनलाई बाबाले हौसला दिन्थे ।

‘स्कुलमा ऊ पढ्न खेल्न गर्न, यताउता सक्दैन भनेर गिज्याउने । घर आएर रुन्थ्यो । रुने होइन बरु उनीहरूलाई गरेर देखाउने भन्थेँ । उसलाई मनमा आयो । त्यसले उसलाई अलिकति बल आयो’, सृष्टिका बाबा उत्तमले भने ।
०००
२०५८ साल गण्डकी अस्पतालमा हर्षको माहोल छायो । परिवारमा छोरी जन्मिएको खुसियालीमा उत्तम रमाएका थिए । एकैछिनमा नर्स आएर छोरीबारे उत्तमलाई खबर दिइन् । त्यसपछि उनी झस्किए ।
‘पहिलो बच्चा । छोरी पायो भनेर खुशी । दाजुभाइमा तीन जनाका छोरा थिए । छोरी पायो भनेर खुशी भए । तपाईंको छोरीको मुखमा यस्तो, यस्तो छ भन्यो । ठीकै छ के गर्ने त नि भन्ने लाग्यो । पछि, तपाईंको छोरीको दाहिने हात नै छैन भन्यो’, उत्तमले सुनाए ।
जन्मेदेखि नै बाँच्नका लागि संघर्ष गरेकी सृष्टि योद्धाको रूपमा उभिएकी छन्, अहिले । मुखको संरचना सामान्य बच्चाको जस्तो थिएन । दूध चुस्न उनले सक्थिनन् । भोकले भने रुन्थिन् । तब बाबाले चम्चाले दूधले पिलाउँथे ।
‘बाँच्ने अवस्था गाह्रो थियो । विस्तारै डिस्चार्ज भएर आयौं । आधा रातमा बच्चा रुन्थ्यो । आमाको दूधको मुन्टो च्याप्नलाई ओठ थिएन । रुन्थ्यो। मैले चम्चाले दूध खुवाइँदिन्थेँ । आमाको दूधसँगै बाउको आँसु पनि खाएर हुर्केको’, उत्तमले भने ।
सृष्टि तीन महिनाको भएदेखि उपचार शुरू भयो । २० वर्षसम्मको उमेरसम्म निरन्तर उपचार नै भयो । पाँचवटा मेजर अप्रेसन नै भयो ।
‘पाँचवटा मेजर अप्रेसन गरियो । त्यो बेलामा धेरै संघर्ष गर्नुपर्यो । १२ वर्ष जति महिनाको एकचोटी काठमाडौं जान्थ्यौँ । देब्रेतिर मुख नभएको, दाहिनेको हात नभएको यस्तो अवस्था थियो । २० वर्षको उमेरसम्म उपचार क्रम चल्यो’, उत्तमले भने ।
सृष्टिले ८ कक्षाबाट फुटबल खेल्न थालेकी हुन् । आफू फुटबल खेल्ने भएपनि खेल्नका लागि केटी साथी पाउँथिनन् । त्यसैले विद्यालयमा हुने अन्य खेल पनि खेल्न थालिन् । बास्केटबल, टेनिस पनि खेल्छन् उनी । यी सबैमा उत्तिकै उत्कृष्ट छन् । हिसानमा बास्केटबल खेलेर मेडल पाएकी छिन् । पछि, उनको रस फुटसलमै बस्यो ।
मैदानमा प्रवेश गर्दा उनी खेलाडी हुन्छिन् । जसको लक्ष्य हुन्छ जित्ने । तर, दर्शकले उनलाई खेलाडीको रूपमा मात्र हेर्दैनन् । उनको खुबी छोडेर शारीरिक अपाङ्गतामा खिल्ली उडाउने मान्छे पनि भेटिन्छन् । यस्तै अनुभव छ उनको जिल्लास्तरीय फुटसल प्रतियोगितामा भिड्दाको ।
‘एकचोटी खेल खेल्न जाने बेलामा म खेल्दा गेमभित्रै थिएँ । बाहिरबाट भनेको सुनेको थिएँ, उसको हात नै नरहेनछ भनेर हाँसिरहेको थियो । त्यो चाहिँ अलि नरमाइलो लागेको थियो’, उनले सुनाइन्।
तरपनि उनलाई साथ दिने उत्तिकै छन् । उनी केही कारणवश खेल्न पाइनन् भनेपनि खेल्न हौसाउने उस्तै छन् । उनको इच्छामा सबैभन्दा बढी बाबाले समर्थन गरिरहेका छन् । पढाइमा उत्तिकै अब्बल सृष्टि पोखरा कलेज अफ म्यानेजमेन्टमा छात्रवृत्तिमा पढिरहेकी छिन् । खेलमा रुचि भएकाले विभिन्न प्रतियोगितामा सहभागी हुन्छिन् । छोरी सँगसँगै साथ दिन उनै उत्तम पुग्छन् । कतिले भन्छन्- छोरीलाई किन खेलाएको ? तर, उत्तमले अरुको कुरा सुन्दैनन् । छोरीको खुशी र रहरमा हात समाएर हिँडिरहन्छन् ।

‘छोरीलाई कति खेलाएको ? नेपालमा खेलकुदको विकास छैन भनेर कतिपयले पढाउन पर्छ भन्छन् । पोजेटिभ सोच्ने पनि हुन्छन् । जन्मिँदा कस्तो थियो बच्चा, बाँच्ला जस्तो पनि लागेको थिएन । हात र मुख नभएको बच्चा । अप्रेसन गरियो । अहिले उसलाई देखेर गर्व लाग्छ । उसले हरेक कुरा फेस गर्दै गयो । मैले सपोर्ट गर्दै गएँ । सपोर्ट गर्यो भने गर्नेले गर्छन्’, उत्तमले भन्छन् ।
सृष्टि एक्कासी फुटसलमा छाएकी होइनन् । खेलमा रुचि हुँदा सक्दिनस् भनेर पछि हटाउने पनि थिए । उनले प्रतियोगितामा खेल्नुअघि आफूलाई कयौंपटक प्रमाणित गर्नुपर्यो। पछि, उनको खेल देखेर फुटबलमा शुरूआतमा उनको नाम अगाडि नै आउन थाल्यो । जन्मँदै बाँच्न संघर्ष गरेकी छोरीलाई स–साना प्रतियोगितामा मेडल जितेको हेर्दा उत्तम खुशी हुन्छन् ।
खेलसँगै पढाइमा अगाडि बढेकी सृष्टिले भविष्य खेलकुदमै खोजेकी छिन् । उनलाई थाहा छ नेपालमा अवसर छैन । त्यसैले विदेशिने योजना छ । जहाँ उनी जस्तै खेलाडीले पनि अवसर पाउँछन् ।
‘हामीहरूको लागि अरु केही भइदिएको भए हुन्थ्यो लाग्छ । विदेशमा हामी जस्तोहरूलाई पनि धेरै अवसर छ । अझै पनि बाहिर गएर गेम खेल्छु लाग्छ । नेपालमा छैन । बाहिर गएर नै गेम र पढाइमा अगाडि जान्छु भन्ने सोचेको छु’, सृष्टिले भनिन् ।
हिजो शंकाको नजरले हेर्नका अघि सृष्टि संघर्ष गर्दै उभिएकी छन् । त्यसैले पनि आफैंमा गर्व महसुस गरिरहेको उनी बताउँछिन् ।