१२ साउन २०८३, मंगलबार
हार्न नजानेकी सृष्टि

समाजले कमजोर ठानिरह्यो, उनी बलियो बन्दै गइन्

बाबा उत्तमको साथले रोकिएका छैनन् सृष्टिका पाइलाहरू
माघ १२, २०८१
पाेखरा
समाजले कमजोर ठानिरह्यो, उनी बलियो बन्दै गइन्

भनिन्छ इच्छाले बाटो देखाउँछ । दृढताले सफल बनाउँछ । इच्छाशक्ति हुनुपर्छ, अप्ठ्यारो पार गरेर हिँडिन्छ । यसलाई २३ वर्षीय सृष्टि ढेवाजुले आफ्नो जीवनमा लागू गरेकी छन् । त्यसैले त आफ्नो इच्छाको बाटोमा छन् । शारीरिक अपाङ्गताका साथ जन्मिएकी सृष्टिको दायाँ हात छैन । उनी फुटसल खेलाडी हुन् । उनको सपना छ, उत्कृष्ट खेलाडी बन्ने । 

सानैबाट खेलमा रूचि भएकी सृष्टि दौडमा सधैँ प्रथम हुन्थिन् । हाइजम्प, दौड यी खेल प्रतियोगितामा मेडल जितेर सधैँ घर पुग्थिन् । दौडदेखि शुरू भएको खेलको लगाव फुटबल हुँदै फुटसलतर्फ गयो । खेल उनको चाख मात्र भएन । प्रेरणा बन्यो । 

‘स्कुलमा रनिङमा जहिल्यै प्रथम हुन्थेँ । स्कुलमा बेष्ट एथलेष्ट पाएँ मैले’, उनले भनिन्। 

उनी विस्तारै फुटबल खेल्न थालिन् । जुन आजसम्म निरन्तर छ । फरक यत्ति हो उनी आजकल मैदानमा ट्रफीका लागि भिड्छिन् । विद्यालयस्तर, अन्तर विद्यालयस्तरका प्रतियोगितामा उनी सहभागी हुन्थिन् नै । चार वर्ष भयो उनी विभिन्न संघसंस्था र जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएर फुटसल खेल्न थालेको । 

उनलाई पहिलो व्यावसायिक प्रतियोगिता याद छ । जसमा उनको समूहले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । त्यस समय उनीहरूले प्रतिव्यक्ति १५ सय पाएका थिए । 

स्ट्राइकरको जिम्मेवारी सम्हाल्दै मैदानमा प्रवेश गर्ने सृष्टिलाई उनका बाबा उत्तरकुमार ढेवाजुले उत्तिकै साथ दिन्छन् । पढ्न पनि सानैदेखि अब्बल सृष्टि अन्य क्रियाकलाप पनि उत्तिकै अगाडि थिइन् । तर, शारीरिक अपाङ्गता कारण उनलाई विद्यालयमा हेय भावले हेर्थे । खेल वा अन्य क्रियाकलापमा सृष्टि अगाडि सर्दा शंकाको नजरले हेर्थे । यो व्यवहारले सृष्टिको कलिलो मन पोल्थ्यो । घर आएर बाबासँग रुन्थिन् । उनलाई बाबाले हौसला दिन्थे । 

बुवा उत्तमका साथमा सृष्टि ।

‘स्कुलमा ऊ पढ्न खेल्न गर्न, यताउता सक्दैन भनेर गिज्याउने । घर आएर रुन्थ्यो । रुने होइन बरु उनीहरूलाई गरेर देखाउने भन्थेँ । उसलाई मनमा आयो । त्यसले उसलाई अलिकति बल आयो’, सृष्टिका बाबा उत्तमले भने ।
०००
२०५८ साल गण्डकी अस्पतालमा हर्षको माहोल छायो । परिवारमा छोरी जन्मिएको खुसियालीमा उत्तम रमाएका थिए । एकैछिनमा नर्स आएर छोरीबारे उत्तमलाई खबर दिइन् । त्यसपछि उनी झस्किए । 

‘पहिलो बच्चा । छोरी पायो भनेर खुशी । दाजुभाइमा तीन जनाका छोरा थिए । छोरी पायो भनेर खुशी भए । तपाईंको छोरीको मुखमा यस्तो, यस्तो छ भन्यो । ठीकै छ के गर्ने त नि भन्ने लाग्यो । पछि, तपाईंको छोरीको दाहिने हात नै छैन भन्यो’, उत्तमले सुनाए । 

जन्मेदेखि नै बाँच्नका लागि संघर्ष गरेकी सृष्टि योद्धाको रूपमा उभिएकी छन्, अहिले । मुखको संरचना सामान्य बच्चाको जस्तो थिएन । दूध चुस्न उनले सक्थिनन् । भोकले भने रुन्थिन् । तब बाबाले चम्चाले दूधले पिलाउँथे । 

‘बाँच्ने अवस्था गाह्रो थियो । विस्तारै डिस्चार्ज भएर आयौं । आधा रातमा बच्चा रुन्थ्यो । आमाको दूधको मुन्टो च्याप्नलाई ओठ थिएन । रुन्थ्यो।  मैले चम्चाले दूध खुवाइँदिन्थेँ । आमाको दूधसँगै बाउको आँसु पनि खाएर हुर्केको’, उत्तमले भने । 

सृष्टि तीन महिनाको भएदेखि उपचार शुरू भयो । २० वर्षसम्मको उमेरसम्म निरन्तर उपचार नै भयो । पाँचवटा मेजर अप्रेसन नै भयो । 

‘पाँचवटा मेजर अप्रेसन गरियो । त्यो बेलामा धेरै संघर्ष गर्नुपर्‍यो । १२ वर्ष जति महिनाको एकचोटी काठमाडौं जान्थ्यौँ । देब्रेतिर मुख नभएको, दाहिनेको हात नभएको यस्तो अवस्था थियो । २० वर्षको उमेरसम्म उपचार क्रम चल्यो’, उत्तमले भने । 

सृष्टिले ८ कक्षाबाट फुटबल खेल्न थालेकी हुन् । आफू फुटबल खेल्ने भएपनि खेल्नका लागि केटी साथी पाउँथिनन् । त्यसैले विद्यालयमा हुने अन्य खेल पनि खेल्न थालिन् । बास्केटबल, टेनिस पनि खेल्छन् उनी । यी सबैमा उत्तिकै उत्कृष्ट छन् । हिसानमा बास्केटबल खेलेर मेडल पाएकी छिन् । पछि, उनको रस फुटसलमै बस्यो ।

मैदानमा प्रवेश गर्दा उनी खेलाडी हुन्छिन् । जसको लक्ष्य हुन्छ जित्ने । तर, दर्शकले उनलाई खेलाडीको रूपमा मात्र हेर्दैनन् । उनको खुबी छोडेर शारीरिक अपाङ्गतामा खिल्ली उडाउने मान्छे पनि भेटिन्छन् । यस्तै अनुभव छ उनको जिल्लास्तरीय फुटसल प्रतियोगितामा भिड्दाको । 

‘एकचोटी खेल खेल्न जाने बेलामा म खेल्दा गेमभित्रै थिएँ । बाहिरबाट भनेको सुनेको थिएँ, उसको हात नै नरहेनछ भनेर हाँसिरहेको थियो । त्यो चाहिँ अलि नरमाइलो लागेको थियो’, उनले सुनाइन्। 

तरपनि उनलाई साथ दिने उत्तिकै छन् । उनी केही कारणवश खेल्न पाइनन् भनेपनि खेल्न हौसाउने उस्तै छन् । उनको इच्छामा सबैभन्दा बढी बाबाले समर्थन गरिरहेका छन् । पढाइमा उत्तिकै अब्बल सृष्टि पोखरा कलेज अफ म्यानेजमेन्टमा छात्रवृत्तिमा पढिरहेकी छिन् । खेलमा रुचि भएकाले विभिन्न प्रतियोगितामा सहभागी हुन्छिन् । छोरी सँगसँगै साथ दिन उनै उत्तम पुग्छन् । कतिले भन्छन्- छोरीलाई किन खेलाएको ? तर, उत्तमले अरुको कुरा सुन्दैनन् । छोरीको खुशी र रहरमा हात समाएर हिँडिरहन्छन् । 

null

‘छोरीलाई कति खेलाएको ? नेपालमा खेलकुदको विकास छैन भनेर कतिपयले पढाउन पर्छ भन्छन् । पोजेटिभ सोच्ने पनि हुन्छन् । जन्मिँदा कस्तो थियो बच्चा, बाँच्ला जस्तो पनि लागेको थिएन । हात र मुख नभएको बच्चा । अप्रेसन गरियो । अहिले उसलाई देखेर गर्व लाग्छ । उसले हरेक कुरा फेस गर्दै गयो । मैले सपोर्ट गर्दै गएँ । सपोर्ट गर्‍यो भने गर्नेले गर्छन्’, उत्तमले भन्छन् । 

सृष्टि एक्कासी फुटसलमा छाएकी होइनन् । खेलमा रुचि हुँदा सक्दिनस् भनेर पछि हटाउने पनि थिए । उनले प्रतियोगितामा खेल्नुअघि आफूलाई कयौंपटक प्रमाणित गर्नुपर्‍यो। पछि, उनको खेल देखेर फुटबलमा शुरूआतमा उनको नाम अगाडि नै आउन थाल्यो । जन्मँदै बाँच्न संघर्ष गरेकी छोरीलाई स–साना प्रतियोगितामा मेडल जितेको हेर्दा उत्तम खुशी हुन्छन् । 

खेलसँगै पढाइमा अगाडि बढेकी सृष्टिले भविष्य खेलकुदमै खोजेकी छिन् । उनलाई थाहा छ नेपालमा अवसर छैन । त्यसैले विदेशिने योजना छ । जहाँ उनी जस्तै खेलाडीले पनि अवसर पाउँछन् । 

‘हामीहरूको लागि अरु केही भइदिएको भए हुन्थ्यो लाग्छ । विदेशमा हामी जस्तोहरूलाई पनि धेरै अवसर छ । अझै पनि बाहिर गएर गेम खेल्छु लाग्छ । नेपालमा छैन । बाहिर गएर नै गेम र पढाइमा अगाडि जान्छु भन्ने सोचेको छु’, सृष्टिले भनिन् । 

हिजो शंकाको नजरले हेर्नका अघि सृष्टि संघर्ष गर्दै उभिएकी छन् । त्यसैले पनि आफैंमा गर्व महसुस गरिरहेको उनी बताउँछिन् । 

salt training

कमेन्ट गर्नुहोस्