२८ जेठ २०८३, बिहीबार
सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय

भएकै कानून कार्यान्वयनको उदाशीनताले बढाएको ‘ग्रे लिस्ट’मा पर्ने खतरा

माघ १६, २०८१
काठमाडौं
भएकै कानून कार्यान्वयनको उदाशीनताले बढाएको ‘ग्रे लिस्ट’मा पर्ने खतरा

वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, सहकारी समस्या र कानून कार्यान्वयनमा उदासीनता जस्ता विषयले नेपाललाई सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट'मा धकेल्न सक्ने देखिएको छ ।

विश्वभर हुने सम्पत्ति शुद्धीकरण, आतंकवाद फन्डिङ, लागूऔषध ओसारपसारजस्ता विषयमा सूक्ष्म निगरानी राख्ने फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)ले नेपाललाई 'ग्रे लिस्ट'मा राख्न खोजेको हो ।

राष्ट्र बैंक र अर्थमन्त्रालयकै कतिपय पदाधिकारीहरूले नेपालले सम्पत्ति शुद्धीकरण सम्बन्धमा अपेक्षित सुधार नगरेकाले आगामी फागुनमा नेपाललाई 'ग्रे लिस्ट'मा राख्ने पक्कापक्की भएको बताएका छन् ।

राष्ट्र बैंकका एक अधिकारीले भने, '२ साताअघि हामीले फिलिपिन्सको मनिलामा एफएटीएफका प्रतिनिधिसँग आमनेसामने वार्ता गरेका थियौं । उनीहरू कतिपय विषयमा असन्तुष्ट देखिए । हाम्रो कानून निर्माण प्रक्रिया र कार्यान्वयनबारे उनीहरूले बढी चासो राखेका थिए ।'

सम्पत्तिसम्बन्धी कानूनको थप प्रभावकारी कार्यान्वयन र वित्तीय अपराधको जोखिम न्यूनीकरणका लागि थप कानूनी व्यवस्थाबारे एफएटीएफका पदाधिकारीले राखेको चासोमा नेपाली पक्षको डिफेन्स फितलोजस्तो देखिएको ती अधिकारीको भनाइ छ ।

एफएटीएसले एक वर्षअघि नै नेपालको वित्तीय परिचालनको अवस्था खराब भएको कारण देखाउँदै 'ग्रे लिस्ट'मा राख्ने चेतावनी दिएको थियो । त्यसपछि तत्कालीन पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले १८ वटा ऐन संशोधन गरेको थियो । राष्ट्र बैंकले पनि पछिल्ला निर्देशिकाहरूमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयहरूलाई केही कडाई गर्न खोजेको थियो ।

तर, त्यो पर्याप्त नभएको भन्दै २ साताअघि फिलिपिन्समा एफएटीएफका प्रतिनिधिहरूले नेपाली अधिकारीहरूलाई हकारे । एक महिनापछि एफएटीएफका प्रतिनिधिसँग पुनः वार्ता हुने कार्यक्रम छ । त्यसलगत्तै उनीहरूले सूची जारी गर्नेछन् ।

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै भने, 'ग्रे लिस्ट'को चर्चा भएको भएपनि यसबारे कुनै निर्णय भइसकेको छैन । हामीले हाम्रोतर्फबाट गर्नुपर्ने सम्पूर्ण डिफेन्ड गरिरहेका छौं । आउँदो महिनामा पनि हामी छलफलमा संलग्न हुनेछौं । सकेसम्म हामीले गरेको प्रगतिबारे जानकारी गराउँछौं ।'

प्रवक्ता पौडेलले कुनै पनि निर्णय नभइसकेको अवस्थामा प्यानिक हुन जरुरी नभएको बताए । 'हामीलाई उनीहरूले निकै पहिलादेखि निगरानीमा राख्दै आएका छन् । हामीले धेरै नीतिहरू संशोधन गरेर अनुकूल हुने प्रयास पनि गरेका छौं,' उनले भने, 'त्यसैले प्यानिक हुन जरुरी छैन ।'

एफएटीएफले सामान्य निगरानी गरिरहेको भएपनि नेपाल गत वर्षदेखि सूक्ष्म निगरानीमा थियो । तोकिएको समयभित्र आवश्यक सबै क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता नेपालले गरेपछि एक वर्षसम्म सूचीकरणमा नपार्ने निर्णय एफएटीएफले गरेको थियो । अहिले तोकिएका सूचकमा नेपालले प्रगति नगरेको निष्कर्ष एफएटीएफले निकालेको छ ।

मन्त्री, मुख्यसचिव र गभर्नरले देखाएको संकेत

सम्पत्ति शुद्धीकरण निवारण ऐन जारी भएको १७ वर्षपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत सोमबार राष्ट्रिय दिवस मनाएको थियो । त्यहाँ बोल्ने अधिकांश वक्ताहरूले घुमाउरो अभिव्यक्ति दिँदै नेपाल 'ग्रे लिस्ट'मा पर्न लागेको संकेत दिएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका विषयमा गर्नुपर्ने जति काम नभएको स्वीकार गर्दै भनेका थिए, 'कानूनी सुधारमा प्रगति भए पनि संरचनात्मक र व्यावहारिक सुधारमा कमजोरी रहेको जस्तो देखिन्छ । वित्तीय अपराधसँग सम्बन्धित विषयमा हामीले अनुसन्धान र अभियोजनलाई तीव्र बनाउनुपर्ने आवश्यकता छ ।'

उक्त कार्यक्रममा बोल्दै मुख्य सचिव एक नारायण अर्याल र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि नेपालले पर्याप्त कानून बनाएको तर त्यसको कार्यान्वयनमा कमजोरी रहेको बताएका थिए ।

'ग्रे लिस्ट'मा परेपछि नेपाललाई के बेफाइदा हुन्छ?

नेपाल एफएटीएफको 'ग्रे लिस्ट'मा पर्ने हो भने अर्थतन्त्रमा सिधै नकारात्मक असर पर्ने जानकारहरूको भनाइ छ ।

'ग्रे लिस्ट'मा पर्नासाथ, विशेष गरी वित्तीय क्षेत्र, अन्तर्राष्ट्रिय व्यापार र वैदेशिक लगानीका क्षेत्रमा नेपालको हैसियत गुम्ने सम्भावना हुन्छ ।

एफएटीएफले 'ग्रे लिस्ट'मा राखेको देशमा वैदेशिक लगानी गर्नु उच्च जोखिमयुक्त मानिने गर्छ । त्यस्तै, अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालसँग व्यापार गर्न वा सहकार्य गर्न अप्ठ्यारो मान्ने परिस्थिति सिर्जना हुनेछ ।

नेपाल 'ग्रे लिस्ट'मा पर्नासाथ बैंकिङ प्रणालीमा तत्कालै असर पर्नेछ । नेपाली बैंकहरूले अन्तर्राष्ट्रिय कारोबार गर्न कठिनाइ भोग्न सक्छन् । विदेशी बैंकले नेपाली बैंकसँग कारोबार गर्दा थप कडाइ गर्नेछन्, जसले विदेशी मुद्रा भित्र्याउन कठिन पार्छ ।

नेपाल 'ग्रे लिस्ट'मा पर्‍यो भने विदेशमा रहेका नेपाली श्रमिकहरूले नेपाल पैसा पठाउन समेत अप्ठ्यारो हुन्छ । निर्यात-आयात कारोबार महंगो हुन्छ, किनभने नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय भुक्तानी गर्न झन्झट बेहोर्नुपर्ने हुन्छ ।

त्यस्तै, यसले वैदेशिक सहायता र ऋणमा समेत उल्लेख्य प्रभाव पार्ने बताइएको छ ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई ऋण वा अनुदान दिनुअघि विश्वसनीयता खोज्नेछन् । यसका साथै नेपालको अन्तर्राष्ट्रिय छवीसमेत कमजोर हुने जानकारहरूको भनाइ छ ।

अहिले एफएटीएफले विश्वभरिका २३ देशहरूलाई आफ्नो 'ग्रे लिस्ट'मा राखेको छ । यस सूचीमा रहेका देशहरूलाई वित्तीय सुरक्षा र आतंकवादमा हुने लगानी नियन्त्रणका लागि थप निगरानीमा राखिएको छ ।

एफएटीएफका अनुसार अल्जेरिया, अंगोला, बुल्गारिया, बुर्किना फासो, क्यामरून, आइभरी कोस्ट, क्रोएशिया, कंगो, हाइटी, केन्या, लेबनान, माली, मोनाको, मोजाम्बिक, नामिबिया, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, दक्षिण सुडान, सिरिया, तन्जानिया, भेनेजुएला, भियतनाम र यमन 'ग्रे लिस्ट'मा छन् ।

सुधारात्मक कदम चालिरहेका यीमध्ये कतिपय देशहरू अहिले उक्त सूचीमा बाहिरिने क्रममा छन् ।

नेपालका लागि अभिशाप - विज्ञ

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल 'ग्रे लिस्ट'मा पर्‍यो भने त्यो नेपालका लागि अभिशाप हुने बताउँछन् । डा. नेपालले भने, 'नेपाललाई एफएटीएफले २०१४/१५ सालदेखि नै उच्च निगरानीमा राख्न शुरू गरेको हो । त्यसपछि नेपालले जसरी सुधारात्मक पहल गर्नुपर्थ्यो, त्यो गर्न सकेन । मन्त्री/सचिवको कार्यकाल टुंगो लाग्दैन । हामी निकै कमजोर हुनुको प्रतिफल हो ।'  

उनले केन्द्रीय बैंकले सबै सूचकहरू ठीकठाक राखेको भएपनि सरकारको पक्षबाट निकै कमजोर कारबाही हुने गरेको बताए । नेपाल सरकारका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले 'ग्रे लिस्ट'मा नपर्न राजनीतिक र कूटनीतिक हिसाबले बलियो गरी प्रस्तुत हुनुपर्ने सुझाव दिएका छन् ।

लोकान्तरसँगको संक्षिप्त कुराकानीमा उनले भने, 'यो विशुद्ध प्राविधिक विषय मात्र होइन, राजनीतिक विषय पनि हो । हामीले राजनीतिक हिसाबले पनि ट्याकल गर्नुपर्छ ।'

उनले 'ग्रे लिस्ट'बाट बाँच्न वार्ता नै मुख्य कुरा भएको बताए । एफएटीएफले नेपालको सिंगो प्रणालीमाथि नै अविश्वास गरेको दाबीसहित पूर्व अर्थमन्त्री पाण्डेले भने, 'गहिरो गरी वार्ता गर्नुपर्छ, त्यहीँबाट समाधान निकाल्नुपर्छ । उनीहरूले हामीलाई विश्वास गर्न सक्ने गरी तर्क र तथ्य प्रस्तुत गरे मात्र यो समस्याबाट पार पाउन सकिन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्