
साहित्य क्षेत्रमा योगदान गर्नेहरूलाई प्रदान गर्नेगरी विराटनगरमा ३ वटा राष्ट्रिय पुरस्कार स्थापना गरिएको छ ।
मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले बुधबार विराटनगरमा आयोजना गरेको पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त पुरस्कारहरू घोषणा गरिएको हो ।
आयोजक संस्थाका अध्यक्ष कवि एवं समालोचक बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको रकमको ब्याजबाट बर्सेनि पुरस्कार प्रदान गरिने छ ।
मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट ११ हजार १११ रुपैयाँ राशिको नन्दलाल स्मृति साहित्य पुरस्कार, मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट ११ हजार १११ रुपैयाँ राशिको माधव–नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कार र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवं साहित्यकार सीताराम पोखरेलबाट १५ हजार रुपैयाँ राशिको नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कार स्थापना गरिएको हो ।
कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कारहरूको स्थापना गरिएको बताए ।
त्यस्तै संस्थापक परिवारकी सदस्य कवि नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएकोले नेपाली समाजलाई सकारात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्री वृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उद्देश्यले पुरस्कारहरूको स्थापना गरिएको जानकारी दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने बताए ।