
व्यापार व्यवसायका साथै सामाजिक काममा समेत सक्रिय पर्साका युवा व्यवसायी रूपेशकुमार पाण्डेयले ३ वर्षपछि हुने संसदीय चुनावको तयारी थालेका छन् । आर्थिक एजेन्डा लिएर पर्सा क्षेत्र नम्बर ३ बाट संसदीय चुनाव लड्ने उनको तयारी छ ।
पर्सा-३ मानिकपुरको वार्ड नम्बर २ का पाण्डेयले सो क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणका लागि विभिन्न अध्ययन तथा काम गर्दै आइरहेका बताएका छन् । स्थानीयका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने काम उनले गरिरहेका छन् ।
‘युवा उद्यमी पाण्डेयले सानै उमेरमा समाज रूपान्तरण तथा जनताको सेवामा पुर्याउँदै आएका योगदानका कारण अहिले आमजनमानसमा छुट्टै पहिचान बनाइसकेका छन्’, स्थानीय भन्छन् ।
पटक-पटक चुनाव जित्दै आएका नेताले जनताका समस्या समाधानमा ध्यान नदिएकाले आफू उठ्न लागेको उनले बताए ।
‘२०४८ सालदेखिका उम्मेदवारहरूबाट मतदाता आजित छन्’ मानिकपुरका एक स्थानीयले भने, ‘यहाँका मतदाताहरू काम गर्न सक्ने युवाको खोजीमा छन् ।’
युवा उद्यमी पाण्डेयले चुनाव लडेर जनताको सेवा गर्ने योजना अगाडि सारेपछि अहिलेदेखि नै पर्सामा चर्चा शुरू भएको छ । पोखरिया, पकाहाँ, महुवन र चीपुर पंचगाको बजारलाई व्यवस्थित गर्दै पर्सा-३ मा पर्ने धार्मिक स्थल भाडा भगवान स्थललाई राष्ट्रिय निकुञ्जसँग समन्वय गरी व्यवस्थित गर्ने लगायतका एजेन्डा लिएर पाण्डेयले तयारी शुरू गरेका हुन् ।
पोखरिया बजारलाई देखिने गरी विकास गर्न आफूले भिजन तयार गरिसकेको पाण्डेयले बताए । मठमन्दिरको सम्वर्द्धन, कृषिमा प्रविधिकरण तथा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा नागरिकको सहज पहुँच लगायत विषयलाई उनले प्राथमिकतामा राखेको बताए ।
भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै जनतालाई सुशासनको प्रत्याभूति दिन अहोरात्र काम गर्ने उनको प्रतिबद्धता छ । ७ वटा स्थानीय तहका ३५ वटा वडालाई आर्थिक दृष्टिकोण र सामाजिक दृष्टिकोणबाट विकास गर्ने उनको योजना छ ।
मधेश प्रदेशकै आर्थिक केन्द्रको रूपमा रहेको पर्सा जिल्ला व्यापारिक, आर्थिक, सामाजिक दृष्टिकोणमा राम्रो रहे पनि हुनुपर्ने जतिको विकास हुन नसकेको पाण्डेयको भनाइ छ ।
‘जनताको प्रतिनिधित्व गर्ने व्यक्ति कुनै पार्टी र संगठनप्रति बफादार हुने भन्दा पनि जनताको सेवक बन्न जरुरी छ’, उनले भने ।
नेताहरू चुनावको बेला मात्र निर्वाचन क्षेत्र जाने गरेकोमा आफू भने चुनाव आउन ३ बर्ष बाँकी रहेको समयमै जनताका कुरा सुन्न थालेको पाण्डेय बताउँछन् ।