
काठमाडौंको कालीमाटीस्थित नाम चलेको एक कलेजमा ‘प्लस टु’ पढ्दै गरेकी युवती (परिसर ४३) मायाप्रेममा सीमा नाघ्दा संघर्षपूर्ण जीवन बिताउन बाध्य छिन् । उनका प्रेमी पनि प्रहरी हिरासतमा पुगेका छन् ।
परिसर ४३ लाई अभिभावकले उच्च शिक्षाका लागि भनेर ओखलढुंगाबाट काठमाडौं ल्याई कलेजमा भर्ना गरिदिएका थिए । पढाइका क्रममा ‘परिसर ४३’ एक युवकसँग नजिकिइन् ।
सिन्धुलीको दुधौली नगरपालिका– ८ खोरभञ्ञ्याङ घर भई कलंकीमा डेरा गरी बस्दै आएका २० वर्षीय युवक (खड्का थरका)सँग ‘परिसर ४३’ को सामिप्यता यति बढ्यो कि उनीहरूबीच शारीरिक सम्बन्ध समेत हुन पुग्यो ।
खड्का बागबजारस्थित एक कलेजमा ‘प्लस टु’मै पढ्थे । शुरूमा उनीहरूको चिनजान फेसबूकमार्फत भएको थियो ।
फेसबूकको कुराकानीले पुगेन । दुवैजना २०८० वैशाख ७ गते कलंकीमा भेट्ने निधो गरे । उनीहरू त्यहाँबाट गोंगबु घुम्न गए । फर्किंदा खसीबजारस्थित एक ‘गेस्ट हाउस’मा पुगेर खाजा खाए ।
खड्काले पहिलेदेखि नै सो गेस्ट हाउसमा कोठा बूक गरेका रहेछन् । आराम गरौं भन्दै कोठामा लगेर ‘परिसर ४३’ सँग शारीरिक सम्पर्क राखे । ‘परिसर ४३’ को पेटले दिनदिनै आकार लिन थाल्यो । उनले सिन्धुलीमा रहेका खड्कालाई फोन गरेर आफू गर्भवती भएको जानकारी गराइन् । खड्का काठमाडौं आए ।
दुवैजना बेरोजगार रहेको र बच्चा जन्माउने उमेर नभएकाले गर्भपतन गराउने भन्दै मेडिकलमा गएर बुझे । मेडिकलले गर्भपतन गराउन मिल्दैन भनेर फर्काइदियो । खड्का पुनः सिन्धुली फर्किए ।
छोरीले तारन्तार बान्ता गर्ने र रिँगटा लागेर ढल्ने गरेपछि परिवारले अस्पताल लगे ।
काठमाडौं मोडल हस्पिटलमा चिकित्सकले स्वास्थ्य जाँचपछि ‘तपाईंकी छोरी गर्भवती छ’ भनिदिए । परिवारका सदस्य छाँगाबाट खसेजस्तो भए । ७ महिनाको गर्भ फाल्न अस्पतालले मानेन ।
त्यसो त सुबोध र ‘परिसर ४३’ ले आफैं पनि गर्भ फाल्न मेडिकलमा गएर बुझिसकेका थिए । अवैध गर्भपतन कानूनविपरीत मानिन्छ । केही दिन ‘परिसर ४३’ लाई मोडल अस्पतालमा राखियो । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मोडलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लैजान रिफर गर्यो ।
अन्ततः २०८० मंसिर २० मा ‘परिसर ४३’ले छोरीलाई जन्म दिइन् । तर, पनि उनको स्वास्थ्य अवस्था सुध्रिएको छैन । कलिलै उमेरमा आमा बनेकी उनले अभिभावकको खप्की उत्तिकै खानुपरेको छ । उपचारका लागि परिवारले हालसम्म ५ लाख खर्चिसकेको छ ।
‘परिसर ४३’ का अभिभावकले खड्काविरुद्ध प्रहरीमा जाहेरी दिए । खड्का प्लस टुको परीक्षा दिएर गाउँ सिन्धुली पुगिसकेका थिए । प्रहरीले खड्कालाई गत २०८१ पुस २२ गते सिन्धुलीबाट पक्राउ गर्यो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले खड्कालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई पत्राचार गरेको थियो ।
अनुसन्धान सकाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धानको मिसिल बुझायो । यही माघ १५ गते सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा खड्काविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।
सरकारी वकिल कार्यालयसँगको बयानमा खड्काले ‘परिसर ४३’सँग आफूले सहमतिमै शारीरिक सम्पर्क राखेको बताएका छन् । तर, ‘परिसर ४३’ नाबालिका रहेकाले खड्काविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) अन्तर्गत कसुरमा संहिताको दफा २१९ को (३) (घ) र दफा २१९ को (३क) (ख) बमोजिम सजायको मागदाबी सरकारी वकिल कार्यालयले लिएको छ ।
कार्यालयले बन्द इजलासमार्फत सुनुवाइ गर्न समेत माग गरेको छ ।
जबरजस्तीकरणी गरेको युवतीको बयान (बयान कागज)
प्रतिवादी (खड्का)सँग २ वर्ष अगाडि फेसबूकमार्फत चिनजान भई कुराकानी शुरू भएको थियो । निजसँग कुराकानी हुँदा कहिले काहीँ बाहिर भेट्न बोलाउने गरेकोमा म निजलाई भेट्न जान्थें ।
खाजा खान भनी रेस्टुरेन्टहरूमा पनि लाने गर्थ्यो । सोही क्रममा मिति २०८० वैशाख ७ गते म्यासेन्जरमा म्यासेज गरी ‘मलाई भेट्न कलंकी आऊ’ भन्यो । दिउँसो १२ बजे म खड्कालाई भेट्न भनी सुन्धाराबाट कलंकी जाने सार्वजनिक बस चढें । हामी दुवैको भेट भयो ।
खड्काले मलाई खाजा खान भनी गेस्ट हाउसमा लग्यो । उक्त गेस्ट हाउसमा हामीले खाजा खायौं । सोपश्चात खड्काले एकछिन आराम गरौं भनी उक्त गेस्ट हाउसको कोठा नम्बर १०६ मा लग्यो ।
कोठामा कुराकानी गर्दै बस्ने क्रममा खड्काले मेरो शरीरमा छुने, चुम्बन गर्न खोज्ने काम गरेकोमा मैले यस्तो नगर, मलाई मन पर्दैन भनी इन्कार गरें । म कोठामा जान्छु भनी निस्किन खोज्दा उसले जबरजस्तीकरणी गर्यो । उसले उक्त कुरा कसैलाई भनेमा राम्रो हुँदैन भनेर धम्की दियो ।
त्यसपछि म कोठाबाट निस्किएँ । आमाबुवालाई यो कुरा भनेमा मलाई नै गाली गर्ने होला भन्ने सोची कसैलाई भनिनँ । सोपश्चात पनि निज प्रतिवादीले मलाई म्यासेज गरिरहन्थ्यो ।
२०८० सालको कात्तिकदेखि म बिरामी हुन थालें । मेरो महिनावारी पनि भएको थिएन । सो कुरा मैले कसैलाई भनेको थिइनँ । म धेरै बिरामी हुन थालेपछि मेरो आमाबुवाले मंसिर ७ गते काठमाडौं मोडेल हस्पिटलमा लगी चेकजाँच गराउँदा म गर्भवती भएको कुरा थाहा पाएँ ।
म गर्भवती भएको कुरा थाहा पाएपछि मेरो बुवाले समेत के कसरी गर्भ रह्यो भनी सोधपुछ गर्नुभयो । मेरो स्वास्थ्य अवस्था बिग्रिन गएकाले मलाई उक्त अस्पतालबाट त्रि.वि. शिक्षण अस्पतालमा रिफर गरियो । म जाहेरी दिन सक्ने अवस्थामा थिइनँ ।
मैले २०८० मंसिर २० गते टिचिङ अस्पतालमा छोरीलाई जन्म दिएँ । मेरो स्वास्थ्य अवस्था कमजोर भएकाले मलाई सोही अस्पतालमा भर्ना गरी राखिएको थियो ।
मेरो स्वास्थ्य अवस्थामा केही सुधार आएपछि मेरो बुवाले जाहेरी दरखास्त दिन आउनुभएको थियो । निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही हुनुपर्छ ।
भिडियो