
जतिबेला उनको गाउँमा मात्र होइन जिल्लामै सडक सञ्जाल पुगेको थिएन । टाढाको बजार पुगेर दैनिक आवश्यकता वस्तु आपूर्ति गर्नुपर्ने बाध्यता थियो । र, ‘बजार’ जानका लागि मानिसहरू घोडा, भेडा, खच्चड लिएर हिँड्ने रेशमी मार्गको मुख्य केन्द्र थियो कालीकोटको सुकाटिया-८ हाउडी ।
यहीँ जन्मिएका हुन् ४० वर्षीय पुष्पराज आचार्य । जो अहिले साहित्यमार्फत् खासगरी गजलमार्फत् खस भाषा, साहित्यको उन्नयनमा लागिरहेका छन् । हाल शुभकालिका गाउँपालिका-६ मा पर्छ उनको गाउँ । जुन दैलेख र कालीकोटको सीमामा पर्ने हाउडी लेकको काखैमा छ ।
यही लेकको काखमा तातेताते गर्दै हुर्किएका पुष्पराज जीवनलाई पल्लवित बनाउन सुर्खेत झरे । बिर्सिगए सुर्खेत झर्दाका सपनाहरू । उसो त जिन्दगी कर्णाली नदीजस्तो एउटै लयमा कहाँ बग्छ र !
तत्कालीन मध्यापश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम र हाल कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा क्याम्पस थिए । पहाडका जिल्लामा क्याम्पस थिएनन् । त्यसकारण उच्च शिक्षाका लागि कालीकोटजस्ता पहाडी जिल्लाबाट नेपालगञ्ज, धनगढी वा सुर्खेत झर्नुपर्ने बाध्यता थियो । उनी पनि उच्च शिक्षा अध्ययनका लागि २०६० सालमा सुर्खेत झरे । कालीकोटबाट पैदल सुर्खेत झरेका दिनहरू पुष्पराजको मानसपटलमा ताजै छन् ।
उनी सुर्खेतमा रहेको ‘सुर्खेत क्याम्पस शिक्षा’ भर्ना भए । त्यतिबेला सुर्खेतमा गजलका बारेमा धेरैलाई खासै जानकारी थिएन । केही सीमित मान्छेहरू यो विधामा लेख्न थालेका थिए । शुरू-शुरूमा सुर्खेतका अलवा दाङ, कैलाली लगायतका जिल्लाबाट सुर्खेतमा पुगेका साथीहरूसँग गजल लेखन कार्यमा उनी सहभागी भए ।
युवराज संगम (शर्मा), अर्जुन भण्डारी ‘कुण्ठित’ सुरेन्द्र न्यौपाने ‘आँसु’, ऋषि शर्मा ‘सुदामा’, रमेश चन्द ‘कुसुम’, लिलावती देवकोटा, लक्ष्मण बिसी ‘प्रभात’ लगायतका स्रष्टासँग उनको हिमचिम भयो । उनीहरूसँग गजल लेख्दै, सिक्दै, अघि बढे ।
त्यसपछि क्षितिज समर्पण, महेन्द्र चन्द महासागर, विद्या निर्दोष ‘पहाडी’, धिरेन थापा ‘अनुपम’, झलक भण्डारी, निराजन विष्ट ‘दोषी’, पहल असिम थापा, कृष्ण विरहीलगायत गजल अभियानमा जोडिन पुगे । अनि, सुर्खेतमा गजल विधा मौलाउन थाल्यो । २०६२ पछि सुर्खेतमा गजल स्थापित गर्न यो पुस्ताको भूमिका महत्त्वपूर्ण रह्यो ।
पुष्पराजका समकालीनहरू धेरैजना गजल विधाबाट अलग भइसके । कोही साहित्यबाटै अलग भइसके । तर, उनी निरन्तर लागिरहेका छन् । गजलका मञ्च उक्लिरहेका छन् । गजलमा गुञ्जिरहकेका छन् । गजलमार्फत् काठमाडौंलाई कर्णालीको गर्जन सुनाइसकेका पुष्पराज गजलमा आफ्नो माटोको सुगन्ध खोजिरहेका छन् ।
पहिले पहिले नेपाली भाषामा गजल लेख्ने गरेका उनी अचेल त्यसका अलवा खस भाषामा पनि लेख्छन् । समय कस्तो आइदियो भने नेपालीमा भन्दा खस भाषामा लेखिएका उनका गजल नै स्रोता/दर्शको रोजाइ बन्न थालेका छन् । उनलाई देशदेखि विदेशमा गरेका गजलप्रेमीले ‘खस गजलकार’का रूपमा चिन्न थालेका छन् । उनी जुन मञ्चमा गजल वाचनका लागि उक्लिन्छन् त्यहाँ ‘वान्समोर’ नआएको ठावैं छैन ।
गजल प्रस्तुत गर्ने शैलीले पनि पुष्पराजलाई आमदर्शकमाझ परिचित गराएको छ । शब्द अनुसार प्रस्तुतिमा आउन अभिव्यक्तिले उनलाई ‘नोटिस’मा राख्ने गरेको छ । उनका गजलमा पीडाका मात्र कुरा हुँदैनन्, सम्भावनाका पनि कुरा हुन्छन् । सामाजिक, राजनीतिक विकृति विसंगतीका विषय उनका गजलका मेरुदण्ड हुन् ।
पुष्पराज खस भाषामा गजल लेखनका शुरूआतकर्तामध्येका एक हुन् । उनको सिको गर्दै पछिल्लो छिमलका गजलकारहरू पनि खस भाषामा गजल लेखिरहेका छन् । जसले पुष्पराजलाई एकप्रकारको खुशी र आत्मसन्तुष्टि दिइरहेको छ ।
पुष्पराजले गजलको महफिललाई जुरुक्क उठाइदिन्छन् । गजल मात्र होइन उनी देउडा खेलमा पनि उत्तिकै सक्रिय र अब्बल छन् । ‘जुन माध्यम भएपनि आफ्नो भाषा, संस्कृति र कला जगेर्ना गर्नुपर्छ, प्रचार प्रसार गर्नुपर्छ भन्ने मेरो मान्यता हो’, पुष्पराज भन्छन्, ‘नेपाली भाषाको जननी नै खस भाषा हो । हामी यही खसभूमिमा जन्मिएकाले नै यसलाई बिर्सिन थाल्यौं भने कसले जोगाउने ?’
२०४१ चैत २३ मा जन्मेका पुष्पराजका दुई भाइ र एक बहिनी छन् । उनी कान्छा हुन् । उनका बुवा भगीराम देउडा खेलाडी थिए । तर, पुष्प सात वर्षकै हुँदा भगीराम दिवंगत भए । त्यसपछि उनको परिवारमा ठूलो बज्रपात पर्यो ।
उनका दाजु सात कक्षासम्म मात्रै पढ्न पाए । पुष्पलाई उनकी दिदीले माया गरेर पढाउने व्यवस्था मिलाइन् । चन्द्रसूर्य निमावि हाउडीमा कक्षा ६ सम्मको अध्ययन गरेका पुष्प त्यसपछि भने महादेव माध्यमिक विद्यालय राराकाटियामा गए । त्यहाँ उनको फुपूको घर थियो । उनी त्यहीँ बसेर पढे । २०५७ सालमा एसएलसी पास गरे ।
‘उतिबेला हामीसँग टालो हालेको सुरुवाल लगाउनुको विकल्प थिएन । शरीरभरि जुम्रा पर्थे’, उनले भने, ‘एसएलसी पास गरिसकेपछि मात्रै मैले टालो हालेको सुरुवाल छोडेको थिएँ । कारण, म सुर्खेत पढ्न आएँ ।’
अंग्रेजी विषयमा स्नातकोत्तर गरेका पुष्पराज खस भाषाका गजलकार मात्रै होइनन्, देउडा सर्जक पनि हुन् । उनका केही देउडा गीत र गजलका किताब प्रकाशित छन् । उनी कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा देउडा खेल खेल्न गइसकेका छन् ।
साहित्यका अलवा उनी राजनीतिमा पनि सक्रिय छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा शुभकालिका गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका उनी निर्वाचित हुन सकेनन् ।
त्यसपछि एमाले फर्किएका पुष्पराज पछिल्लो समय एमाले जिल्ला कमिटी कालिकोटका सचिवको भूमिकामा छन् ।
भिडियो