
जब युवा आफ्नो व्यावसायिक जीवन शुरू गर्छन्, उनीहरूको दैनिक शारीरिक गतिविधि र निद्रामा समस्या आउने गरेको एक अध्ययनले देखाएको छ ।
स्वस्थ जीवनका लागि आवश्यक शारीरिक र निद्रा तीव्र रूपमा घट्ने बताइएको छ । यो तथ्य क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अध्ययनमा खुलासा गरिएको छ।
अध्ययन अनुसार, नोकरी शुरू गर्दा प्रारम्भमा शारीरिक गतिविधि बढे पनि समयसँगै यो निकै घट्ने गरेको छ।
अधिक शारीरिक गतिविधि गर्ने युवा प्रायः बस चालक, हेयरड्रेसर, सफाइकर्मी, वेटर वा प्राविधिक काम गर्नेहरू हुन्छन्।
यसका विपरीत व्यवस्थापकीय वा व्यावसायिक पदमा कार्यरत व्यक्ति शारीरिक गतिविधिमा कम संलग्न हुन्छन्।
शारीरिक गतिविधिमा सबैभन्दा ठूलो गिरावट घरबाट काम गर्ने व्यक्तिहरूमा देखिएको छ, यद्यपि उनीहरूको निद्राको समयमा कुनै उल्लेखनीय परिवर्तन देखिएको छैन।
क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिल (एमआरसी) महामारी विज्ञान इकाईकी अनुसन्धानकर्ता एलेना अक्सनहेम भन्छिन्, ‘यदि हामी जीवनभर स्वस्थ रहन चाहन्छौं भने सक्रिय रहनु आवश्यक छ।’
अक्सनहेमले घरबाट काम गर्नेहरूलाई ‘आफ्नो दिनचर्यामा शारीरिक गतिविधि समावेशका लागि विचार गर्न’ सल्लाह दिएकी छिन्।
काम अघि वा पछि, वा मध्यान्हको भोजनको समयमा हिँड्न जानु उपयुक्त हुने उनको सुझाव छ ।
यस अध्ययनमा १६–३० वर्ष उमेर समूहका ३,००० भन्दा बढी युवाका तथ्यांकको विश्लेषण गरिएको थियो। ती सबैले सन् २०१५ देखि २०२३ बीच पहिलो पटक नोकरी शुरू गरेका थिए।
इन्टरनेशनल जर्नल अफ बिहेभियरल न्यूट्रिशन एन्ड फिजिकल एक्टिविटीमा प्रकाशित नतिजाअनुसार नोकरी शुरू गरेपछि औसतमा २८ मिनेट मध्यम शारीरिक गतिविधि (जस्तै; साइकल चलाउने) बढेको देखिएको छ। तर, पछि गएर यो गतिविधि घट्ने गरेको पाइयो।
शोधकर्ताहरूका अनुसार, युवा वयस्कहरूको निद्रा प्रतिरात करिब १० मिनेटले घटेको छ।
शोधकर्ताहरूले कार्यस्थललाई युवामा स्वस्थ आहार, शारीरिक गतिविधि र निद्राजस्ता स्वस्थ बानीहरूलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन्।
किनभने यसले ‘स्वस्थ कर्मचारीहरू’ उत्पादन गर्छ र बिरामी भएर छुट्टी लिने दिनहरू कम गर्छ।