१० असार २०८३, बुधबार
जेहेन्दार विद्यार्थी

बीबीए सातौं सेमेस्टरमा ‘टीयू टपेकी' सुनिता– 'समयको राम्रो व्यवस्थापन गर्नुपर्छ, सकिन्छ'

माघ २६, २०८१
विराटनगर
बीबीए सातौं सेमेस्टरमा ‘टीयू टपेकी' सुनिता– 'समयको राम्रो व्यवस्थापन गर्नुपर्छ, सकिन्छ'

मोरङको सुन्दरहरैँचाकी सुनिता थापा त्रिभुवन विश्वविद्यालय (टीयू) टपर हुन् । सामान्य परिवारमा जन्मिएकी सुनिताले सुकुना बहुमुखी क्याम्पसबाट बीबीए सातौं सेमेस्टरमा ४ जीपीए ल्याएर टीयू टप गरेकी हुन् । 

सुन्दरहरैँचाको गछियामा आमाबुवासँग बस्दै आएकी सुनिताले अहिलेसम्म कुनै परीक्षामा अनुत्तीर्ण भएको अनुभव गरेकी छैनन् ।

कक्षा १ देखि नै पहिलो र दोस्रो हुन मात्रै उनले प्रतिस्पर्धा गर्नुपर्थ्यो । सुकुना क्याम्पसबाटै ३० जना उत्तीर्ण भएका छन् । यो पहिलो संयोग भने होइन । यसअगाडि पनि क्याम्पसका सबैजना पास भएको उनले बताइन् । 

उनलाई अहिले नै जागिर खानेमा भने ध्यान छैन । सहकारी तथा निजी क्षेत्रमा जागिर पाए पनि पढाइ सकेर मात्रै जागिर खाने उनी बताउँछिन् । छोराछोरीलाई पढाउन बुवाआमा पसल नै बेचेर गछिया आएका हुन् । बुवाआमाले धनकुटाको जोरपाटीमा इलेक्ट्रोनिक पसल चलाउने गरेका थिए । 

उनले कक्षा १० सम्म भने निजी विद्यालय मै पढेकी हुन् ।  उनीसँगै पढ्नेहरू पनि अब्बल छन् । ‘कहिले कसले बाजी मार्छ कहिले कसले,’ उनले भनिन्, ‘यसपटक मेरो ग्रेड (जीपीए) धेरै आयो  । अब मेरै आउँछ भन्ने छैन । तर, दबाब भने हुन्छ ।’

आफूले दबाबमा नपढ्ने गरेको उनी बताउँछिन् । कलेजबाहेक अतिरिक्त कक्षा नलिएको उनले बताइन् । ‘बिहान साढे १० बजेदेखि मेरो कलेज लाग्छ,’ उनले भनिन्, ‘अनि बेलुका ४ बजे मात्रै छुट्टी हुन्छ ।’ 

कलेज भने नछुटाइ पढ्ने गरेको उनले बताइन् । उनी यसअघि पनि पटक–पटक कलेजमा प्रथम भएकी थिइन् । 

उनलाई कलेजले नगदसहित सम्मानसमेत गरेको थियो । ‘कलेजमा पुगेपछि टपर हुने कुरा नै ठूलो हो भन्ने लाग्छ,’ उनले भनिन्, ‘तर आज पढ्दिनँ भनेर अल्छीचाहिँ गर्नुभएन । नियमित पढ्नुपर्छ ।’ 

पढाइमा समय व्यवस्थापन सबैभन्दा ठूलो कुरा भएको उनी बताउँछिन् । ‘समय व्यवस्थापन गर्न सक्नुपर्छ । म दैनिकजसो नै अध्ययन गर्छु । आज धेरै पढ्छु, भोलि पढ्दिनँ भन्ने हुँदैन । हिजो पढेको कुरा आज नै बिर्सन पनि सकिन्छ । तर, दैनिक समय मिलाएर पढ्यो भने त्यो बिर्सँदैन,’ उनले भनिन् । 

पढेर विदेश जाने सोच भने आफूले नबनाएको उनको भनाइ छ । फर्स्ट सेमेस्टरमा उनी पहिलो भएकी थिइन् । तेस्रोमा पनि उनी पहिलो भइन् । सेमेस्टर टप हुने विद्यार्थीलाई कलेजले नगदसहित सम्मान गर्ने गर्छ । 

कलेजले २५, २० र १५ हजार गरेर नगद दिने गरेको छ । पहिलो हुनेलाई २५, दोस्रो हुनेलाई २० र तेस्रो हुनेलाई १५ हजार दिने गरेको छ । तेस्रो पुरस्कार भने नलिएको उनले बताइन् । 

‘सातौँमा पनि छैटौं सेमेस्टरमाभन्दा बढी मेहनत गरेको थिइनँ,’ उनले भनिन्, ‘तर, यसपटक टीयू टपर भनेर सरहरूले भन्दा म पनि अचम्ममा परेको छु ।’ 

फर्स्ट सेमेस्टरमा उनले २५ हजार पाएकी थिइन् । तेस्रोमा भने तीन जनाको बराबर जीपीए आएकाले पैसा पनि बाँडिएको उनी बताउँछिन् । 

मेहनत गरेर समयको सदुपयोग गर्दा पढाइमा निजी र सामुदायिक भन्ने नहुने उनको तर्क छ । सामुदायिकमा पनि शिक्षक र विद्यार्थी लगनशील भएर लाग्दा राम्रो नतिजा आउने उनको भनाइ  छ ।

सुकुना कलेजले एक सेमेस्टरमा २ वटा आन्तरिक परीक्षा गराउने गरेको छ । ६ महिनाको अवधिलाई एक सेमेस्टर भन्ने गरिन्छ  । 

यो अवधिमा तीनवटा परीक्षा दिनुपर्छ । परीक्षा आउँदा पनि कहिल्यै दबाब महसुस नभएको उनले बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्