
ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्र अहिले शान्त छ । मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित गर्ने सहमति भएपछि ताप्लेजुङ शान्त बनेको हो ।
सरकार र आन्दोलनरत पक्षबीच गत मंगलबार भएको वार्तामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य तत्काललाई स्थगन गर्ने सहमति भएको थियो । सहमतिसँगै आन्दोलनरत पक्षले विरोधका कार्यक्रम पनि तत्काललाई स्थगित गरेको हो ।
यसअघि ‘नो केबरकार’ पक्ष र प्रहरीबीच झडपमा गोली चलेपछि प्रदर्शन चर्किएको थियो । प्रहरीले गोली चलाउँदा चार जना घाइते भएका थिए ।
कोशीको नामकरणदेखि एकजुट भएका पहिचान पक्षधरहरू केबलकार निर्माण गर्ने कुरामा मात्रै होइन पाथीभराको नाम नै मुक्कुमलुङ राख्नुपर्ने एक ठाउँमा छन् ।
तर, प्रदेशको नामकरणजस्तै केबलकार बनाउने विषयमा पनि प्रमुख दलहरू एक ठाउँमै छन् । सत्तादेखि प्रमुख प्रतिपक्षसम्म रहेका दलहरूले विकास निर्माणको काम रोकिन नहुनेमा एकमत देखिएका छन् ।
विकास निर्माणको काममा विरोध गर्न नहुने नेकपा (एमाले) ताप्लेजुङका अध्यक्ष डम्बरधोज तुम्बाहाम्फेले बताए । स्थानीय तहको आन्तरिक स्रोत पनि बढ्ने भएकाले केबलकार बन्नुपर्ने उनको तर्क छ । ‘आन्दोलनरत पक्षका साथीहरू लिम्बू समुदायको मुन्धुमी स्थल हो भन्छन् । इतिहास जोडिएको छ भन्छन् । मैले पहिला सुनेको पनि थिइनँ । मुन्धुमी स्थल हो/होइन भन्ने कुरा मैले पहिला नसुनेको हुनाले विश्वास लागेको छैन’ उनले भने ।

राज्यले सबै प्रक्रिया पुर्याएर निजी कम्पनीलाई दिएको उनले बताए । बनाउने कम्पनीले राजश्व तिरेकाले रोक्न नहुने उनको धारणा छ । नेपाली कांग्रेसले भने वार्ताको माध्यमबाट सहमति गरेर काम अगाडि बढाउनु पर्ने बताएको छ । कांग्रेस ताप्लेजुङका जिल्ला सभापति गजेन्द्र तुम्हाङले जैविक, दैविक र प्राकृतिक स्वरूपलाई बढी क्षति नगरी केबलकार निर्माणको काम गर्नुपर्ने बताए ।
मन्दिरभन्दा तल स्टेसन राख्नेगरी आन्दोलनकारीलाई पनि सहमतिमा ल्याएर निर्माणको काम गरिनु पर्ने उनले बताए । सबैको आ–आफ्नै स्वार्थ भएकाले समस्या आएको उनको भनाइ छ । ‘सरकारले सबै प्रक्रिया पूरा गरेर अगाडि बढ्नपर्छ,’ उनले भने ‘कम्पनीलाई स्वीकृति प्रदान गरेपछि काम गर्न दिनुपर्छ । तर, गोली हानेर होइन सहमतिमा ल्याएर काम गर्नुपर्छ ।’
२०७४ साल देखि नै आन्दोलन भइरहेको उनले बताए । पहिला ठूल्ठूला संरचना बनाउनु हुँदैन भनेर विरोध भएको उनले स्मरण गरे । पछि केबलकार आएपछि जोडिएर आन्दोलन भएको उनको भनाइ छ ।
‘विकास निर्माणको काम नगर त भन्न मिलेन । गर भन्दा पनि गोली ठोकेर गर्न हुँदैन । आन्दोलन गर्दागर्दै गर पनि भन्न सकिएन । वार्ताको माध्यमबाट सहमति गरेर जैविक र प्राकृतिक आस्थाको संरक्षण गरेर नै अगाडि बढ्नु पर्छ,’ उनले भने ।
नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभादेखि प्रतिनिधिसभासम्म मुक्कुम्लुङको विषयमा कडा आवाज उठाएको थियो । तर, जिल्ला स्तरका नेताले भने विकास निर्माणको काम रोक्न नहुने बताउने गरेका छन् । स्थानीय स्तरमा उठेको विषयलाई भने सम्वादबाट समाधान गर्नुपर्ने उनीहरूको भनाइ छ । ‘नारा जुलुस, खुकुरी हानाहानदेखि गोली काण्डसम्मका घटना भए,’ माओवादीका ताप्लेजुङ जिल्ला संयोजक विष्णुकुमार हाङगामले भने, ‘यस्तो हिसाबले गर्नु हुँदैन भन्ने हो । ऐतिहासिकताको कुरालाई उठाएका विषयले समाधान गरेर जानुपर्छ ।’
अहिलेसम्म भावनात्मक हिसाबले सहयोग गरेको पनि उनले बताए । ‘मौन समर्थन गरेका छौं । ७/८ दिनसम्म बन्द गर्दा पनि मौन समर्थन गरेका हौं । अब बन्द हड्ताल भए मौन समर्थन गर्न सकिँदैन । निकास निस्कियोस् भनेर पर्खेका हौं,’ उनले भने, 'हामी जे नाम राखे पनि समर्थन गर्छौं तर, निकास निस्कनु पर्यो । माथिबाट टुङ्गिएको कुरालाई हामीले साथ दिन्छौं ।’