
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा बयान फेरेको भन्दै एक जना सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगसँगको अनुसन्धानको क्रममा दिएको बयान प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका-११ का दिपेश यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका यादवले अनुसन्धान अधिकृतसमक्ष दिएको बयान विपरीत विशेष अदालतमा बकपत्र गरेका आयोगको आरोप छ ।
यादवले प्रतिवादी वीरेन्द्र प्रसाद साह कानुलाई रकम भुक्तानी दिएवापत ७८ हजार रूपैयाँ घुस दिएको आयोगको दाबी छ । यादवविरुद्ध बिगो बराबर ७८ हजार रूपैयाँ कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।