
विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ ।
रिटमा बुधबार निवेदक ओमप्रकाश अर्यालले बहस गरेका छन् ।
निवेदक अर्यालका तर्फबाट वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बहस शुरू गरेका छन् । तर बहस नसकिएपछि उनले अर्को दिन बहस सकाउने छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार बुधबारको बहस सकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । अर्को पेशी फागुन २१ गतेका लागि तोकिएको उनले जानकारी दिए ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित ५ जना न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा रिटको सुनुवाइ शुरू भएको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी छन् ।
संवैधानिक इजलासमा पटक-पटक पेशी तोकिएर स्थगित भएको रिटमाथि चार वर्षपछि सुनुवाइ शुरू भएको हो । बुधबार इजलासमा प्रधानन्यायाधीश राउतले आजै सुनुवाइ शुरू गर्ने बताएका थिए ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ पुसमा संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।
संसदीय सुनुवाइ प्रक्रिया छलेर पदाधिकारी नियुक्त गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायत, अधिवक्ता कृतिनाथ शर्मा पौडेलले छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।