३० जेठ २०८३, शनिबार
नियात्रा

दुई सुन्दरीसितको समुद्रयात्रा

फागुन ३, २०८१
काठमाडौं
दुई सुन्दरीसितको समुद्रयात्रा

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित सेन्टपिटरवर्ग एक पुरानो इतिहास बोकेको शहर रहेछ । त्यो शहर हेर्ने निकै पहिलेदेखिको मेरो इच्छा थियो । गल्फ अफ मेक्सिकोको काखमा रहेको यो सेन्टपिटरवर्ग शहर साँच्चै सुन्दर लाग्यो हामीलाई । म र मेरी जीवन संगिनी, छोरीज्वाइँको घर फ्लोरिडामा थियौं । जीवनमा नयाँ-नयाँ ठाउँ घुमेर जीवनको आनन्द लिँदै, नयाँ-नयाँ अनुभव र अनुभूति गर्दै तिनीहरूलाई स्वदेशका स्थान र व्यक्तिहरूसित तुलना गर्दै आफन्तसित विचार विनिमय गर्ने चाहनाले हामी अमेरिकाका विभिन्न शहरमा निरन्तर घुमिरहेका थियौं।​

अमेरिकाभरिकै सुन्दर राज्य रहेछ, फ्लोरिडा । नेपालको पोखरा अमेरिकाको फ्लोरिडा निकै कुरामा समान लागे मलाई । दुवै पर्यटकीय नगरी, दुवै सबैको गन्तव्य मानिने ।  फ्लोरिडा राज्यका अति नै सुन्दर शहर ओरल्याण्डो, वेस्टपामबिच, मायामीजस्तै सुन्दर नगरी रहेछ सेन्ट पिटरवर्ग ।  यसलाई त्यहाँका रैथानेहरू माया गरेर सेन्पिट भन्दा रहेछन् । वरिपरि समुद्र बीचमा सेन्पिटको डाउनटाउन, विशाल विशाल महलहरू, आँखाले देखिउन्जेलसम्म समुद्र देखिने गल्फ अफ मेक्सिको, नानाभाँतीका जलयानहरू, घर बाहिर बोटमा लटरम्म फलेर पाकिरहेका सुन्तला, त्यहाँ पाकेका सुन्तला कसैले टिपेर खाँदा रहेनछन् , किनकि तिनीहरूको चेकजाँच गरेको छैन रे । सुन्तला देख्दा म र सपनाले मन थाम्नै सकेनौं । 

सुन्तला जाँचुन् कि नजाँचुन्  हामीलाई त के मतलब ! टपकटपक टिपेर पहिले एउटा ठूलो झोलामा अटेसम्म हाल्यौं । अनि घाम लागेका ठाउँमा वर्तिरपर्तिर बसेर बोक्रा छोडाउँदै  झ्यामझ्याम पेट चर्किनेगरी खायौं । ती सुन्तलाले हामीलाई धनकुटाको खोकु छिन्ताङको सम्झना दिलाए । हामीले सुन्तला खाएको देखेर त्यहाँका ‘खैरेखैरी’हरू उदेक मानेर हेर्दै थिए ।

केहीबेर हामी सेन्पिटमा घुम्यौं ।  त्यहाँका सफा सडकका किनारामा उभिएर ती गगनचुम्बी महलहरूका तलाका गन्ती गरिन् सपनाले ।  ठाडै गाउँबाट शहर आएको नितान्त ग्रामीण व्यक्तिले उदेक मानेर शहरको रमझम हेरेझैं मैले पनि निर्निमेष नियालेँ, सेन्पिटका भीमकाय महलहरूलाई । एकजना नेपाली उहिले कलकत्ता पुगेर त्यहाँका गगनचुम्बी महलका तला गन्दै थियो रे । एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ, दश भनेर गन्ती गर्दै रहेछ । कलकत्ताको कुनै ठग त्यही बेला त्यहाँ आएर भनेछ ‘ओ भाइ, यहाँ त एक तला गनेको पाँच रूपैयाँ लाग्छ तिमीले कति तला गन्यौ ?’
‘तीन तलामात्र गनेँ’, नेपालीले भनेछ ।
‘त्यसो हो भने पन्ध्र रूपैयाँ भयो देऊ’, कलकत्ताको ठगले भनेछ । 
नेपालीले त्यही बेला खुसी हुँदै पन्ध्र रूपैयाँ दिएछ । 
ऊ गएपछि नेपालीले मनमनै भनेछ, ‘कलकत्तामा ठग हुन्छन् भन्थे, मैले नै त्यहाँका ठगलाई ठगिदिएँ । दश तला गनेँ तर तीन तलाको पैसा दिएँ ।’ 
यति भनेर ऊ अरु घरका तला नगनी बाटो लागेछ । 
यहाँ पनि त्यस्तै ठग आएर ‘कति तला गन्यौ ? भन्यो भने के भन्छ्यौ भनेर मैले सपनासँग ठट्टा गरेँ । 

सेन्पिटको डाउनटाउनका अगाडि एउटा विशाल पार्क रहेछ । त्यस पार्कमा किसिम किसिमका मानिसहरू समय कटाउन आउँदा रहेछन् । उनीहरूमध्ये कोही बुढाबुढी, कोही अधबैंसे त कोही तन्नेरी तरुनीहरू । इसाइहरूको प्रसिद्ध चाड क्रिसमसको बेला हुनाले पार्कमा जिसस क्राइस्टका शैशवावस्थाका मूर्ति, भेडाहरू चरिरहेको,आमाका काखमा साना र निर्दोष  बालक जिसस क्राइस्ट खेलिरहेका मूर्तिहरू हामीले नियालेरहेरेका थियौं । त्यस विशाल पार्कमा जेजति बोटबिरुवाहरू थिए सबैलाई तारैतारले पूरै बेरेर रुखभरि झिलिमिली बत्तीले रिमिझिमी पारिएको थियो । आखिर ती सुन्दर रुखहरू हामीजस्ता घुमन्तेहरूको मन बहलाउनकै लागि बनाइएको होला । नीलो पानी, सुन्दर शहर , सफा आकाश झलल बलेका रुखहरूले त्यहाँको सौन्दर्यतामा मोहक थपिदिएका थिए ।   

प्रकृतिले बेहुली सिंगारेजस्तो सिंगारेको सेन्पिटको सौन्दर्यमा लुटुपुटु हुँदैथियौं हामी । सेन्पिट डाउनटाउनका पूर्वतर्फ अनन्तसम्म फैलिएर रहेको समुद्र , समुद्रमा किसिम किसिमका पानीजहाजहरू किनारामा तैरिरहेका थिए । कुनै  निकै ठूला, कुनै मझौला त कुनै सानासाना पानीजहाज तथा मोटर बोटहरू थिए त्यहाँ  । ती जहाजमा चढेर समुद्र यात्राको बहार लुट्न  किसिम किसिमका मानिसहरू जहाज चढ्न र उत्रनमा व्यस्त  देखिन्थे । उनीहरूमा  कोही गोरागोरी, कोही कालाकाली, कोही कोही एसियन, कोही युरोपियनजस्ता देखिन्थे । समुद्र यात्रा गर्ने यात्रीहरूको  कमी भएका दिन पानीजहाजका चालकहरू नजिकैको  पार्कसम्मै आएर पानीजहाजको यात्रा गर्न निम्तो दिँदा रहेछन् । 

कालो चस्मा लगाएकी कालै कपाल भएकी  एउटी नवयुवतीले मेरा नजिकै आएर मलाई अंग्रेजीमा सोधी ‘तिमीहरू डल्फिन हेर्न चाहन्छौ ?’ मैले टाउको हल्लाएर  सकारात्मक जवाफ दिएँ, ‘हो , हामी डल्फिन हेर्न चाहन्छौं ।’

उसले नजिकै तैरिरहेको एउटा सानो पानीजहाजतिर आफ्नो चोर औंलाले  देखाउँदै भनी, ‘उसो भए जाउँ न त । ऊ त्यो पानीजहाजमा । त्यो मेरो हो ।’
‘हामी दुईजना छौं । कति लिन्छ्यौ पैसा ?’, मैले सोधें ।
उसले भनी, ‘एकजनाको २० डलर ।’  
‘त्यो  त धेरै महँगो भएन र ?’, मैले प्रश्न गरें । 
‘यहाँ घुमेको  भाडामा घटीबेसी हुँदैन । फेरि  म त विद्यार्थी पनि हुँ । मैले यही जहाज चलाएर आफ्नो कलेजको  खर्च र जहाजको भाडा जुटाउनु पर्छ । अपार्टमेन्ट त्यस्तै मँहगो हुन्छ ।’

null

उसको भनाइले मेरा मनमा टिठ पलायो  । उसका कुराले  मैले आफूले क्याम्पसमा पढाउने गरेका विद्यार्थीहरूलाई सम्झिएँ । 

‘केहीबेर अघि अर्को एकजना अफ्रिकी मूलको अश्वेत मानिसले पनि त्यति नै पैसा भनेको थियो’, सपनाले भनिन् ।  उनले त्यही  युवतीको  पानीजहाज चढ्न जाउँ भनेर मलाई इसारा गरिन् । उनका भनाइले मलाई के खोज्छस् ... आँखो भनेजस्तै भयो । 

‘लौ, जाउँ त !’ भनेर  हामी  दुवैजना त्यही सुन्दरी ठिटीका पछि लाग्यौं ।

‘कति घण्टा घुमाउँछ्यौ ?’ मैले सोधें । उसले जवाफ दिई, ‘डल्फिन नदेखुन्जेल घुमाउँछु , त्यो देखेपछि त फर्काइहाल्छु । लाग्छ होला कम्तीमा दुई घण्टा जति । डल्फिन यता नजिक आउँदैनन् , तिनीहरूलाई हेर्न निकै टाढा जानुपर्छ ।’

यति भनेर ऊ मुसुक्क हाँसी । गहुँगोरो पूर्णचन्द्रजस्तो खुलेको अनुहार । कालो कपाल । रगत चुहिएलाजस्ता राता गाला । सिन्काले चिरेर निकालेजस्ता आँखा । सुन्तलाका केस्राजस्ता ओठ । अनारदाना जस्ता मिलेका दाँतका लहर । उच्च पुष्ट छाती । युवती  निकै आकर्षक देखिन्थी । सृष्टिकर्ताले फुर्सदमा सिर्जना गरेजस्ती, कुशल शिल्पीकारले मनलगाएर ढालेको स्वर्ण प्रतिमाजस्ती । के भनौं स्वर्गबाट बाटो बिराएर झरेकी रम्भा, तिलोत्तमा, मेनकाजस्तै लाग्ने निकै लोभलाग्दी थिई । त्यसमा पनि  कालो घामचस्मा, घिउ रङको सेतो ज्याकेट, सेतै टिसर्ट र हरियो पेन्ट उसका लागि निकै म्याचिङ पोशाक थिए  ।

हामी दुबै उसको पानीजहाजतिर गयौं  । मैले उसको पानीजहाजमा टेक्दा हल्लिएको जस्तो लाग्यो । उसले मेरो देब्रे पाखुरामा च्याप्प समातेर भनी, ‘बसिहाल ! नत्र लडौला !’
म र सपना सिटमा बस्यौं । ऊ मुस्कुराउँदै त्यो सानो पानीजहाज चलाउन थाली । सपना उसकै छेउमा गएर बसिन् ।

‘मान्छे पनि कति राम्री रहिछे । साँच्ची सेन्पिटकी सुन्दरी जलपरी नै रहिछे नि’, उसको अनुहार नियाल्दै सपनाले भनिन् । उसले सपनाले नेपालीमा भनेको बुझ्ने कुरै भएन । उसले सपनातिर हेर्दै भनी  ‘सरी !’
सपनाले भनिन्, ‘आई मिन यु आर सो ब्युटिफुल । यु आर द सिंगल पिस ब्युटी अफ सेन्पिट । (तिमी धेरै राम्री छ्यौ । सेन्पिटकी एकमात्र सुन्दरी )’

उसले सपनालाई हाँस्दै धन्याद दिई । उसले सपनालाई पनि भनी, ‘तिमी त मलाई झन् राम्री लाग्यौ, ब्ल्याक ब्युटी । अनि तिम्रो श्रीमान् टल डार्क हेण्डसम ।’

उसको प्रसंशा सुनेर हामी दुवैले उसलाई धन्यवाद दियौं । वास्तवमा अमेरिकीहरू कसैलाई नराम्रो र कुनै चीजलाई नमीठो भन्दा रहेनछन् । उसले फेरि भनी, ‘मेरो जहाज चढ्न आउनेहरूमध्ये  पूर्वकाले चाहिँ मलाई त्यसै भन्छन् ।’ अमेरिकीहरू एसियाका मानिसलाई पूर्वका भन्दा रहेछन । मैले फेरि जोड दिएर भनेँ, ‘राइट इभ्यालुसन गर्ने त पूर्वैका हुँदा रहेछन् नि होइन ?’ मैले यति भनेको सुन्दा ऊ मसक्क मस्किई ।  ऊ मस्किदा सिंगै सेन्पिट नै हाम्रासामू मसक्क मस्किएको अनुभूति भयो । त्यस नवयुवती जलपरीको सौन्दर्यमा हामी दुवै मग्न भएर उसलाई विभिन्न कुरा सोधिरहेका थियौं । ऊ लजाउँदै , मुस्कुराउँदै हामीसित मस्किँदै जहाज चलाइरहेकी थिई । लाजले उसका गाला झन् राता, रगत चुहिएलान् जस्तै देखिएका थिए ।  समुद्रमा परबाट उठेर आउने छालहरू हेर्दै म आफूभित्रभित्रै  उठेका छालहरू मनमनै नियाल्दै थिएँ । वास्तवमा उसका अगाडि डल्फिन हामीलाई फिका लागेको थियो । डल्फिनभन्दा पनि हाम्रा आँखा त्यही जलपरीका अनुहारमा अल्झिरहेका थिए,अडिरहेका थिए ।

बेलाबेला म उसलाई जिस्काइदिन्थें । मैले  जिस्काउँदा ऊ लजाएर राती हुन्थी, उसका गालाबाट रगत चुहिएला जस्तो हुन्थ्यो ।  अनारदानाजस्ता मिलेका दाँतका पंक्ति देखाएर ऊ सुन्तलाकेस्रे ओठबाट मीठो साँच्चै मीठो मुस्कान छाड्थी । हामी दुवै उसको मीठो मुस्कानका फिदा बनेका थियौं । 

‘बानी पनि कति राम्रो रहेछ नि, नहाँसी त बोल्दै नबोल्ने कस्ती फरासिली ! लक्षणकी रहिछ’, मैले भनेँ । सपनाले मेरा कुरामा सही थापिन् । र, मलाई जिस्क्याउँदै भनिन्, ‘ए बुढा , मोहनी लगाउली है! यससित धेरै बोल्ने होइन ।’

‘के तिमीहरू पनि  पूर्वबाट आएका हौ ?’, उसले  सोधी ।
मैले सपनासित सोधें, ‘म यसको जवाफ दिउँ कि तिमी दिने ?’
‘जवाफ दिए भइहाल्यो नि, जिस्काइ पो दिएकी त !’, सपनाले भनिन् ।
‘हो, हामी पूर्वबाट आएका हौं । एसिया महादेशको नेपाल भन्ने देशबाट’, मैले भनें । मैले फेरि उसलाई सोधें, ‘संसारको सर्वोच्च चुचुरो माउण्ट एभरेष्टको नाम तिमीले सुनेकी छ्यौ ?’

उसलाई डिज्नेवर्ल्डमा भएको  एभरेष्टको नाम मात्रै थाहा रहेछ  । मैले भनें, ‘डिज्नेको  एभरेष्ट पनि  नेपालकै माउण्ट एभरेष्टको सिम्बोल हो ।’
मेरा कुरा सुन्दासुन्दै ऊ फेरि मसक्क मस्किँदै गई । जहाज चलाउँदै गई । जति मस्किन्थी, त्यति कटक्क पार्थी । 

हामी टाढाटाढा अनन्तसम्म फैलिएर रहेको समुद्रको नीलो पानीमाथि तैरिदै तैरिदै धेरै टाढा पुगिसकेका थियौं । ‘खोई त अझै डल्फिन देखिएन त ?’ सपनाले उसलाई  सोधिन् । 
‘यिनका अगाडि त डल्फिन पनि फिका भए । किन चाहियो डल्फिन ?’, मैले ठट्टा गर्दै भनें । 
‘ए बुढा , पात्तिने चाहिँ होइन है !’, सपनाले ठट्टा गरिन् । 
जलपरीले मुसुक्क  हाँस्दै भनी, ‘हतार नगर, अब म डल्फिन देखाइहाल्छु ।’

चितवनको सौराहामा गैँडा नदेखुन्जेल हात्ती चढाएर लगेका यात्रुहरूलाई  घुमाइरहन्छ नि त्यस्तै रहेछ यहाँ पनि । सपनाले धेरैवर्ष अघि चितवनको सौराहा गएको दिनलाई सम्झिइछन् । 

हामी दुवै सौराहामा हात्ती चढेर गैँडा हेर्न खुब घुमेका थियौं । साथमा अरु विदेशीहरू थिए । माहुतेले काँसघारीमा गैँडा छ कि भनी यताउता हात्तीलाई  घुमाउनसम्म घुमाएको थियो । अन्त्यमा उसले हामीलाई काँसघारीमा एकजोडी गैँडा देखाएरै छाड्यो । ती गैँडाको फोटो खिचेर हामी फर्केका थियौं । त्यही दिनको सम्झना यसबेला पनि मलाई पुनरावृत्ति भयो ।

null

केहीबेरमै चलिरहेको जहाज टक्क रोकी जलपरीले । अनि दाहिने हातको चोर औंलाले केही पर समुद्रतिर देखाउँदै प्वाक्क भनी, ‘लौ हेर डल्फिनका जोडी ।’

मैले हातमा मोबाइल पहिलेदेखिनै ठीक पारेर राखेको थिएँ । मौका यही हो भन्दै ती डल्फिनलाई क्यामेरामा कैद गरिहालें । 

एकछिनपछि बाटो कटाउन, दिल बहलाउन उसले सपनालाई सोधी, ‘तिमीहरूले बिहे गरेको कति वर्ष भयो ?’

‘४२ वर्ष भयो’, सपनाले औंला भाँच्दै भनिन् ।

‘माइगड ! फोर्टी टु  इयर्स ?’

सपनाका कुरा सुनेर ऊ छक्क परी । उसले भनी,  ‘यतिका वर्षसम्म डिभोर्स नगरी कसरी मिलेर बस्न सक्यौ हँ तिमीहरू ? यहाँ त दुईचार वर्षभन्दा बढी कोही पनि बस्दैनन् । डिभोर्स गरिहाल्छन् ।’

उसका कुरा सुनेर हामी दुवैजना मजाले हाँस्यौं । 

सपनाले हाम्री जलपरी सारथीलाई सोधिन्, ‘तिम्रो नाम के हो ?’

‘जेनी स्मिथ’, उसले भनी ।

‘कस्तो सजिलो र राम्रो नाम’, सपनाले भनिन् । उसले धन्यवाद दिई ।

‘तिम्रो नि ?’ उसले पनि सपनालाई सोधी ।

‘सपना’, सपनाले भनिन् । जेनीले सपनाको अर्थ सोधी । 

‘नाइट ड्रिम’, सपनाले भनिन् । 

‘वाओ ! यु आर रियली ग्रेट !’ जेनीले भनी । सपनाले धन्यवाद दिइन् ।

जेनीले सपनालाई  घर, परिवार, जगिर सबै कुरा सोधी । सपना पनि के कम उनले पनि जेनीलाई सबैथोक सोध्न बिर्सिनन् । सपनाको जवाफ सुनेपछि जेनी कहिले, ‘भेरी गुड !’ भन्थी कहिले ‘ग्रेट !’ भन्थी । 

सपना पनि उसलाई धन्यवाद दिएर औपचारिकता पूरा गर्थिन् । सपनाका प्रश्नको जवाफ पनि जेनी दिँदै जान्थी । सपना बीचबीचमा भन्थिन्, ‘भेरी गुड !’। जेनी भन्थी, ‘थ्याङक्यु !’ सपना भन्थिन् ‘वेलकम !’

जलपरी जेनीका कुरा म बडो ध्यानपूर्वक सुनिरहेको थिएँ । मेरो ध्यान डल्फिनमा कम र जेनी स्मिथमा बढी थियो । त्यो कुरा सपनालाई भन्न मिल्ला कि नमिल्ला भनेर म रनभुल्ल परेको थिएँ ।

जेनीका कुरैकुराबाट थाहा भयो । उसकी आमा सनफ्रान्सिस्कोमा जेनीको, सौतेलो बाबुसित बस्दिरहिछन् । जेनीका बाबुसित त जेनी जन्मेकै वर्ष डिभोर्स भएको रे । 

‘डिभोर्स किन भएछ नि तिम्रा बाआमाको ?’ सपनाले सोधेको प्रश्न भुईमा खस्न नपाउँदै जेनीले भनी, ‘मेरा बाको घुर्ने बानी थियो रे । आमाले सहनै सक्नुभएन रे ।’

जेनीका कुरा सुनेर सपनाले मतिर पुलुक्क हेरिन् । त्यो हेराइसँगै मलाई व्यङ्ग्य पस्केजस्तो लाग्यो ।  मपनि कम घुर्दिनँ रे । त्यसैले मलाई हेरेकी हुन् भन्ने बुझ्न मलाई केही कठिनाइ भएन । 

मैले त्यसबेला नेपालका निरिह आमा, दिदीबहिनीहरूलाई सम्झें । सधैं साँझ परेपछि रक्सी धोकेर घर फर्केपछि घाँसदाउरा , मेलापातबाट लखतरान भएका श्रीमतीहरूलाई कुट्ने श्रीमानको गोडा धोएर पानी खाने, पति परमेश्वर मान्ने महिलाहरू पनि नेपालमा देखेको छु । उनीहरू त्यस्तो पीडा खपेर बस्छन् । तर, लोग्ने छाड्ने त कल्पनासमेत गर्दैनन् । लोग्नेलाई ठीक ठाउँमा ल्याउन कैयौं नेपाली महिलाहरू प्रहरीमा उजुरबाजुर समेत गर्दैनन् । लाग्यो, नेपालमा आजसम्म पनि सतिसावित्री नारीहरू छन् । तीमध्ये एक जना त मेरैसामू बसेकी सपना नै हुन् भन्ने ठानें मैले ।

‘म पनि अमेरिकी भएकी भए त तिमीलाई उहिले नै छाड्ने रहेछु हगि !?’ सपनाले मसित ठट्टा गर्न पनि बिर्सिनन् । 

आमा र सौतेलो बाबुसँग एकवर्ष अघिसम्म जेनी सँगै बसेकी रहिछ । एकवर्षअघि १८ वर्ष पूरा भइछ, अनि त एकजना ब्वाइफ्रेन्डसित कोठा सेयर गरेर ऊ  सेन्पिटमा बस्दिरहिछ ।  यहाँ यो जहाज भाडामा लिएर काम गर्दै आत्मनिर्भर भएर फ्लोरिडा विश्वविद्यालयमा पढ्न पनि थालेकी रहिछ ।

जेनीका कुराले मलाई निकै गम्भीर बनायो । अमेरिकी बालबालिकाहरू १८ वर्षका भइसकेपछि  आफ्ना बाबुआमाबाट छुट्टिएर स्वतन्त्र भएर बस्दा रहेछन् । १८ वर्ष पुग्नुभन्दा पहिले नै आफ्ना भावी योजनाहरू बनाउँदा रहेछन् । आफ्नै शीरमा आफ्नो सम्पूर्ण जिम्मेवारी आएपछि,के विषय पढ्ने, कसरी पेटपालो गर्ने भन्ने कुराले उनीहरूमा परिश्रम गर्ने बानीको विकास हुँदो रहेछ । श्रमप्रति आस्था पैदा हुँदोरहेछ ।

जेनीले पहिलेभन्दा छिटो छिटो गरेर चलाउन थाली । मैले घडी हेरें । हामी समुद्रको यात्रामा निस्केको डेढ घण्टा पूरा भएछ ।

मलाई त्यसबेला आफ्नो देशका कतिपय धनी बाबुआमाका बिग्रेका छोरछोरीको सम्झना भयो । जो बाबुको सम्पत्ति छँदैछ किन पढ्नु भनेर स्कूल र कलेज बंक हानेर बार, केबिन, रेस्टुरेन्ट र डिस्को पुग्छन् । बाबुआमाको सम्पति उडाउँछन् । चुरोट, गाँजा, लागूऔषधको नसामा फस्छन् । सुई लिनेसम्मको लागूऔषधको दुर्व्यवसनीमा परेको आफ्नै आँखाले देखेको छु । अंशमा वंशको अधिकारको कानूनले पो हाम्रा युवालाई बिगारिरहेको छैन ? मष्तिष्कमा गम्भीर प्रश्नवाचक चिन्ह ख डाभयो । बाउआमाको सम्पत्तिमा अधिकार नहुने हो भने हाम्रो समाजका युवाहरू पनि कुलतबाट जोगिएर आत्मनिर्भरताको बाटोमा अग्रसर हुने थिए कि !

हाममी पानीजहाजमै थियौं । हाम्रा वरिपरि त्यस्तै ठूला, साना थरीथरीका पानीजहाज चलिरहेका थिए । कुनै जहाजका यात्रीहरू हामीलाई हात हल्लाउँथे, कुनैलाई हामी आफैं हात हल्लाइदिन्थ्यौं । हाम्रो जहाज विस्तारै फर्कन थाल्यो । जेनीले पहिलेभन्दा छिटो छिटो गरेर चलाउन थाली । मैले घडी हेरें । हामी समुद्रको यात्रामा निस्केको डेढ घण्टा पूरा भएछ ।

त्यसबेलासम्ममा जेनी र सपनाको निकै मित्रता भइसकेको थियो । सपनाले उसलाई सोधिन्,  ‘जेनी यो सेन्पिटमा जानै पर्ने ठाउँ अन्त कहाँ छ हँ ?’

‘तिम्रो श्रीमान् जर्नालिस्ट भनेको होइन ? त्यो पार्किङ लटको बायाँतर्फ जानु त्यहाँ एउटा सानो फुच्चे केटो पत्रिका बेच्दै हुन्छ । त्यसलाई साँच्चैको फुच्चे नठान्नु नि ! त्यो एकसय वर्ष अघिको डमी मात्र हो । पत्रिका पढ्नुपर्दछ भनेर गरेको विज्ञापन हो ।  धेरै पत्रकारहरू त्यहाँ गएर ऊसित फोटो खिचाउँछन् । त्यसको ठीक सामु सेतो अग्लो मूर्ति छ । त्यो कृस्टोफर कोलम्बसको हो । क्रिस्टोफर कोलम्बसले यो अमेरिका पत्ता लगाएका हुन् । उनी अमेरिका खोज्दै पहिले यही सेन्पिटमा आइपुगेका रहेछन् ।  त्यो पनि हेर्न नबिर्सनु नि’, जेनीले भनी । 

‘त्यहाँबाट पूर्वतर्फ अघि बढेपछि समुद्रकाबीचमा एउटा आठतले घर आउँछ । त्यसभित्र धेरै राम्रा कुरा छन् , त्यसको माथि तलाबाट समुद्रको राम्रो दृश्य देखिन्छ । त्यो हेर्न नबिर्सनु’, उसले हाँस्दै भनी,  ‘अनि मलाई पनि नबिर्सनु है ?’

त्यसैबेला जहाज किनारमा पुग्यो ।  जलपरीसित झण्डै दुई घण्टा घुमेर हामी त्यहाँबाट हिँड्यौं । बाहिर निस्किनासाथ देख्यौं हाम्रा ज्वाइँछोरी प्रकाश-साधनालाई ।

मैले निकै पर पुगेर जेनीतिर फर्केर हेरें । ऊ पनि हामीलाई नै हेरिरहेकी रहिछे । मैले फेरि  जेनीलाई बिदाइको हात हल्लाएँ । उसले पनि मलाई बिदाइको हात हल्लाई । मलाई त्यसबेला सिंगै सेन्पिटले नै हात हल्लाएर हामीलाई बिदा गरेजस्तो लाग्यो । म निकै पर पुगेर पनि पछाडि फर्केर हेरें । जलपरी जेनी हामीलाई नै हेरिरहेकी थिई । त्यसपछि जेनीले भने भनेका ठाउँ हेर्न हामीले छिटोछिटो पाइला चाल्यौं ।

salt training

कमेन्ट गर्नुहोस्