०९ साउन २०८३, शनिबार

पर्यटन नीतिका लागि सुझाव संकलन गर्दै लुम्बिनी सरकार

फागुन ८, २०८१
बुटवल
पर्यटन नीतिका लागि सुझाव संकलन गर्दै लुम्बिनी सरकार

लुम्बिनी प्रदेशको पर्यटन नीति बनाउन प्रदेश सरकार जुटेको छ  । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न जिल्ला पुगेर यसका लागि सुझाव संकलन गरिरहेको छ । 

सोही क्रममा मन्त्रालयको आयोजनामा बिहीबार बुटवलमा पर्यटनमैत्री नीति कसरी निर्माण गर्न सकिन्छ ? भन्ने विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरिएको छ । 

कार्यक्रममा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पर्यटन नीति निर्माणमा जुटेको बताए । मन्त्रीका रूपमा पदभार ग्रहण गर्दा आफूले पर्यटन नीति निर्माण गर्ने पहिलो निर्णय गरेको न्यौपानेले उल्लेख गरे । 

भेगीय रूपमै सुझाव संकलन गरी त्यसको आधारमा पर्यटन नीति निर्माण गरिने मन्त्री न्यौपानेको भनाइ छ । लुम्बिनी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहे पनि यसलाई प्रचारप्रसार र प्रवर्द्धन गर्न नसकिएको उनको भनाइ छ ।

कार्यक्रममा पर्यटन मन्त्रालयका प्रवक्ता गणेश घिमिरेले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले अघि सारेका नीति तथा कार्यक्रमबारे जानकारी गराए । यसवर्ष ‘घुम्न जाऔं बर्दिया’ अभियान सञ्चालन गरिएकोमा आगामी वर्ष ‘जाउँ घुम्न जलजला’ अभियान सञ्चालन हुने उनले बताए । साथै, रुकुम पूर्वलाई पर्यटकीय हब घोषणा गर्ने तयारीसमेत भएको प्रवक्ता घिमिरेले बताए ।  

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा.सुदन कुमार वलीले पर्यटन नीति निर्माणबाट यस क्षेत्रमा विकास र आर्थिक गतिविधिमा वृद्धि हुने विश्वास व्यक्त गरे । डा. वलीले पर्यटन क्षेत्रको सम्भावना र विकासबारे बहस गरेर आर्थिक क्षेत्रको पनि विकास गर्नुपर्ने धारणा राखे ।

salt training

कमेन्ट गर्नुहोस्