
बंगलादेशी नागरिक (बंगाली)ले नेपालमा ‘ओभर स्टे’ गरी काम गर्दै आएको घटना त यसअघि पनि सार्वजनिक भएका हुन् । तर, प्रहरीले एक बंगालीलाई पक्राउ गरेर अनुसन्धान गर्दा नौलो तथ्य फेला परेको छ ।
अनिक अम्ब्रोज रोजारियो नामका बंगालीले भिजिट भिसामा नेपाल आएर विभिन्न म्यानपावर तथा कन्सल्टेन्सीमार्फत सम्पर्कमा आएका नेपाली र बंगालीलाई युरोपियन मुलुकमा पठाउँदै आएका थिए ।
यो घटनामा अनिक एउटा मोहरा मात्रै हुन् । उनी एजेन्टको रूपमा काठमाडौंमा बसेर काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनिकको मोबाइलमा भेटिएको विवरण अनुसार रोमानियामा २१५, कोसोभोमा ४५, सर्भियामा १९, बोस्नियामा २५ र माल्टामा ११ जना गरी ३१५ जनालाई उनले वैदेशिक रोजगारी तथा अध्ययनका लागि पठाएको देखिन्छ ।
अचम्मको कुरा त के भने अनिकको मोबाइलमा अझै ४ हजार २८ जना नेपालीको राहदानीको विवरण सुरक्षित रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अनिकबाट ५ नेपालीको सक्कल राहदानी पनि बरामद गरेको छ । नेपालीहरू देवबहादुर तामाङ, दिनेश परियार, कविमान गुरुङ, सनम गुरुङ, कर्मा राई र एकजना बंगालीको राहदानी फेलापरेपछि प्रहरीले अनिकमाथि अनुसन्धान अघि बढाएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश कुमार बस्नेतका अनुसार अनिकले बयानमा आफू सन् २०२५ जनवरी २ मा नेपाल आएको बताएका छन् ।
बंगलादेशमा हुँदा उनले बिडी जब्स डटकममार्फत अल्टरनेटिभ रिक्वायरमेन्ट प्रालिमा जागिरका लागि अप्लाइ गरेका थिए । अन्तर्वार्ता पनि दिए । अनिकले सोही कम्पनीमा जागिर शुरू गरे ।
कम्पनीका मालिक मोहम्मद मिर्जा गलिबले आफूलाई एजेन्टका रूपमा नेपालमा काम गर्न पठाएको अनिकले प्रहरीसँगको बयानमा खुलाएका छन् ।
‘मलाई काठमाडौंमा कुरियर र फोनमार्फत आएका राहदानीहरू रिसिभ गर्नू र कम्पनीले भनेको व्यक्तिलाई राहदानी दिनू निर्देशन हुन्थ्यो,’ अनिकले प्रहरीसँग बयानमा भनेका छन्, ‘एउटा राहदानी सम्बन्धित व्यक्तिलाई दिएबापत विदेश जान चाहने व्यक्तिले ६५ हजारदेखि ७० हजार रुपैयाँसम्म दिनुपर्थ्यो ।’
प्रहरीका अनुसार म्यानपावर र एजुकेसन कन्सल्टेन्सीले युरोप जान चाहने व्यक्तिलाई अनिकसँग सम्पर्क गराउँथे । उनीहरूमध्ये कोहीले अनिकलाई भेटेरै राहदानी र रकम दिन्थे ।
शुरूमा राहदानी कुरियरमार्फत बंगलादेशमा रहेको अल्टरनेटिभ रिक्वायरमेन्ट प्रालिमा पठाउँथे ।
कम्पनीले भिसा र श्रम स्वीकृतिको प्रक्रिया मिलेपछि ती राहदानी कुरियरमार्फत अनिकलाई पठाउँथ्यो । अनिकले ती राहदानी कम्पनीले भनेका व्यक्तिलाई दिन्थे ।
‘नेपालमा भिजिट भिसामा आएको छ, तर भित्री धन्दा म्यानपावर र कन्सल्टेन्सीमार्फत युरोपमा मानिस पठाएको देखिन्छ,’ अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बस्नेतले लोकान्तरसँग भने, ‘यो घटना अलि नौलो लागेर हामीले अनुसन्धान प्रक्रिया अगाडि बढाएका हौं ।’
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार नेपालस्थित वैदेशिक रोजगार विभाग र कुरियर कम्पनीहरूले पैसा आउने नाममा अवैध धन्दालाई प्रश्रय दिएको देखिन्छ ।
‘नेपालबाट जारी भएका राहदानी कुरियरमार्फत बंगलादेश जाने र पुनः बंगलादेशबाट नेपालमा राहदानी पठाएपछि श्रम स्वीकृति हुने र व्यक्ति युरोप उड्ने गरेको देखिन्छ,’ ती अधिकृतले भने, ‘यसमा श्रमले के हेर्यो ? कुरियर कम्पनीहरूले के हेरे ?’
अनिकको हकमा के कारबाही गर्ने भनेर अनुसन्धान कार्यालयले अध्यागमन विभागसँग समन्वय गरेको थियो ।
विभागले जरिवाना तिराएर बंगलादेश डिपोर्ट गर्ने बताएपछि प्रहरीले अनिकलाई विभागको जिम्मा लगाएको छ । प्रहरीका अनुसार अनिकसँगै अन्य ९ जना बंगाली पनि पक्राउ परेका थिए । तर, उनीहरू अवैध गतिविधिमा लागेको नदेखिएको र उनीहरूको भिसा अवधि नसकिएकाले सामान्य सोधपुछपश्चात छाडिएको थियो ।
नेपालमा अझै पनि सयौंको संख्यामा बंगाली भिजिट भिसामा आएर बसेका छन् । विशेषगरी इलेक्ट्रिसियन र निर्माणसम्बन्धी काम गरिरहेका छन् ।
प्रहरीले सूचना पाएसम्म ओभर–स्टेमा रहेका बंगालीलाई पक्राउ गरेर विभागको जिम्मा लगाउँदै आएको छ ।
विगतमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी)मार्फत कल बाइपास गर्ने गिरोहमा बंगालीहरू संलग्न रहने गरेका थिए ।