२७ जेठ २०८३, बुधबार

मदिराले मातेका बेहुलाले आफ्नै साथीलाई वरमाला लगाइदिए : दुलहीले थप्पड हानिन्, बिहे नै रद्द

फागुन १३, २०८१
काठमाडौं
मदिराले मातेका बेहुलाले आफ्नै साथीलाई वरमाला लगाइदिए : दुलहीले थप्पड हानिन्, बिहे नै रद्द
एआई जेनेरेटेड फाइल तस्वीर ।

बिहेअघि केटाकेटीको चालचलन र आनीबानी सोधपुछ गर्ने गरिन्छ । उनीहरूले गर्ने काम र व्यवहारबारे दुवै पक्षले जान्न खोज्छन् । अझै केटाले जाँडरक्सी खान्छ कि खाँदैनन् भनेर पनि सोध्ने चलन हुन्छ । यी सबै कुरामा चित्त बुझेपछि विवाह तय हुन्छ । 

तर, भारतको उत्तर प्रदेशस्थित बरेलीमा एक दुलाहले मदिरा सेवन गरेर मण्डपमै पुगेपछि हंगामा भएको छ । मदिराले मातेका बेहुलाले केटीको सट्टा साथीलाई वरमाला लगाइदिएपछि वबिहे नै रद्द भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुलहीले सबैको अगाडि थप्पड हानेर बिहे गर्न अस्वीकार गरेको समाचारमा उल्लेख छ । घटनाले उग्र रूप लिएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

इन्डिया टुडेको रिपोर्टका अनुसार घटना बरेलीको क्लोडिया थाना क्षेत्रको बरखेडा गाउँमा भएको हो। गत आइतबार रविन्द्र कुमारले आफ्नो विवाहमा धेरै रक्सी पिएका थिए । जब वरमालाको समय आयो, रविन्द्र साथीहरूसँग स्टेजमा पुगे। उता दुलही पनि साथीहरूसँग स्टेजमा पुगेकी थिइन् । तर माला लगाउने पालो आउँदा रविन्द्रले रक्सीले मातेर आफ्नै साथीलाई माला लगाइदिए ।

यो देखेर दुलहीले रिसाएर मञ्चमै थप्पड हानेकी थिइन् । उनले पनि बिहे गर्न अस्वीकार गरिन् । यसपछि दुलहा र दुलहीका परिवारबीच झगडा शुरू भएको समाचारमा उल्लेख छ । केही समयपछि विवाद झडपमा परिणत भयो । विवाहको जन्ती र बेहुली पक्षका मानिसहरूले एकअर्कालाई कुर्सी हान्न थाले। खाना पनि फालियो । स्थिति तनावपूर्ण बनेको देखेर प्रहरी बोलाइएको थियो ।

प्रहरीले घटनास्थलमा पुगेर स्थिति नियन्त्रण गर्ने प्रयास गरेको थियो । तर दुलहीले आफ्नो निर्णय बदलिनन्। उनलाई परिवारका सदस्यले पनि साथ दिए ।

त्यसपछि प्रहरीले बेहुलालाई नियन्त्रणमा लिएको थियो । बेहुली पक्षका मानिसहरूले बेहुलाले मादक पदार्थ सेवन गरी थप दाइजो मागेको आरोप लगाएका छन् । त्यसपछि दाइजो ऐनअन्तर्गत मुद्दा दर्ता भएको समाचारमा उल्लेख छ । 

घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ । भिडियो हेर्दा प्रहरीले दुवै पक्षसँग कुरा गरिरहेको देखिन्छ । भिडियोमा रविन्द्रले रक्सी पिएको स्वीकार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्