
कर्णाली प्रदेशका दुई जिल्ला सभापतिले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको साथ छोडेका छन् । पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लाका सभापति मोहन सिंह र प्रदेश सभापति ललितजंग शाहको गृह जिल्ला जुम्लाका पूर्वसभापति दीपबहादुर शाहीले क्याम्प परिवर्तन गरेका हुन् ।
खड्का क्याम्प परिवर्तन गरेर उनीहरू महामन्त्री गगन थापाको समूहमा सामेल भएका हुन् । उनीहरू यसअघि कांग्रेस संस्थापन र उपसभापति खड्का निकटका नेता मानिन्थे । पूर्वमुख्यमन्त्री शाही र प्रदेश सभापति शाह कर्णाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन् ।
कांग्रेस हुम्लाका सभापति सिंहले १५औं महाधिवेशनमा गगन थापाजस्तो नेतृत्व आउनुपर्ने बताए । 'विगतदेखि गुट निर्माण भइरहेको थियो । एउटा हार्नेको टिम हुन्छ, अर्को जित्नेको टीम। अहिले नै टीम समाप्त हुँदैन,' उनले भनेका छन्, 'गगन दाइलाई नै सभापति बनाउनुपर्छ भनेर देश दौडाहामा हामी छौं । यसलाई त्यही रूपमा लिनसक्नुहुन्छ ।' यद्यपि, टिम बदल्नु भएको हो ? भन्ने लोकान्तरको प्रश्नको उनले स्पष्ट जवाफ दिएनन् ।
जुम्लाका पूर्वसभापति शाहीलेले टीम बदल्नुलाई जिल्लाका कार्यकर्ताले सकारात्मक भएको बताए । कर्णाली प्रदेशका सबै कांग्रेसलाई एकै स्थानमा राख्न र महामन्त्री गगन थापालाई सभापतिमा ल्याउन आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने उनले बताए । विगत एक वर्षदेखि नै आफू महामन्त्री थापाको टिममा रहेको उनको भनाइ छ ।
कर्णालीका प्रमुख नेताहरूकै गृहजिल्लाका सभापतिले टिम बदल्दा संस्थापन पक्षलाई ठूलो नोक्सान हुने आँकलन कांग्रेस वृत्तमा चलेको छ ।