०३ असार २०८३, बुधबार
साताको शेयर समीक्षा

मौद्रिक नीतिको ‘सपोर्ट’मा नेप्सेले झन्डै ६ महिनापछि पार गर्‍यो २८०० सयको अवरोध

फागुन १६, २०८१
काठमाडौं
मौद्रिक नीतिको ‘सपोर्ट’मा नेप्सेले झन्डै ६ महिनापछि पार गर्‍यो २८०० सयको अवरोध

यस साता (फागुन ११ देखि फागुन १५ गतेसम्म) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७१.३० अंकले बढेको छ । झन्डै ६ महिनापछि नेप्से परिसूचकले २८०० बिन्दु पार गरेको छ । 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ४९.१५ अंकले बढेर २८१५.०४ को बिन्दुमा कायम भएको हो । गत भदौ १८ गते अन्तिमपटक परिसूचक २८३०.१६ को बिन्दुमा बन्द भएको थियो । त्यसयता झन्डै ६ महिनासम्म नेप्सेले २८०० बिन्दुलाई पार गर्न सकेको थिएन ।

यस साताभर उकालो यात्रामा रहेको नेप्से २८१५.०४ को बिन्दुमा बन्द भयो । कारोबारका चारै दिन बजारमा हरियाली कायम भयो । साताभर ४३ अर्ब ९३ करोड रुपैयाँ बढीको कारोबार भयो । 

अघिल्लो साता (फागुन ४ देखि फागुन ८ गतेसम्म) नेप्से ६५.२७ अंकले बढ्दा ४३ अर्ब ९३ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।  

यसै साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भयो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएपछि शेयर बजारमा तीव्र उतारचढाव देखियो । र, बजारले ६ महिनापछि २८०० बिन्दुलाई पार पनि गर्‍यो । 

यस साता शेयर बजार बढ्नुमा मौद्रिक नीतिको समीक्षाले अप्रत्यक्ष सपोर्ट गरेको विश्लेषक सुवास ढुंगाना बताउँछन् । मौद्रिक नीतिबाट गरिएका व्यवस्थाले बैंकिङ क्षेत्रलाई फाइदा पुर्‍याएको र बैंकिङ क्षेत्र फाइदामा भएपछि पुँजी बजारलाई सपोर्ट गर्ने उनी बताउँछन् ।

उनका अनुसार मौद्रिक नीतिको प्रभाव तत्काल नदेखिए पनि दीर्घकालीन समयमा यसले पुँजी बजारलाई फाइदा नै पुर्‍याउनेछ । यसका साथै, २५४५ देखि २६८० सम्मको साइडवेज मुभमेन्ट पनि क्र्यास भएको विश्लेषक ढुंगाना बताउँछन् । नयाँ साइडवेज मुभमेन्टमा बजार गइसकेको उनको भनाइ छ । 

‘पुरानो साइडवेज मुभमेन्ट क्र्यास भइसकेको छ । अब ठूलो करेक्सन आउने सम्भावना निकै कम हुन्छ’, उनले भने, ‘केही सामान्य करेक्सन देखिन्छ, तर बजार पुनः २६६० भन्दा तल जाने सम्भावना छैन ।’

प्रत्येक त्रैमासमा ठूला नीतिगत परिवर्तन नहुने र त्यसबाट डराउनुपर्ने अवस्था नरहेको शेयर बजारका जानकार नवराज दाहाल बताउँछन् । 

‘हरेक त्रैमासमा मौद्रिक नीतिले के व्यवस्था गर्छ भनेर लगानीकर्ताहरूले डराउनुपर्ने अवस्था अहिले छैन । राष्ट्र बैंकबाट क्वार्टरमा ठूला परिवर्तन भएका छैनन् । वर्षमा एकपटक मात्रै ठूला नीतिगत व्यवस्था भएका छन्’, दाहाल भने, ‘अहिले सबैभन्दा अप्ठ्यारोमा बैंक र माइक्रो फाइनान्स थिए । मौद्रिक नीतिले दुवैलाई सहज गरिदिएको छ । यसबाट दीर्घकालीनरूपमा पुँजी बजारलाई नै फाइदा हुने हो ।’ 

यस साता शेयर बजार बढे पनि मौद्रिक नीतिबाट लगानीकर्ताहरूका कुनै माग सम्बोधन नगरिएको लगानीकर्ता राधा पोखरेलले बताइन् । लगानीकर्ताहरू उत्साहित रहेका कारण शेयर बजारमा त्यसका सकारात्मक प्रभाव देखिएको उनको भनाइ छ । 

यस्तो रह्यो साताको कारोबार 

यस साता चार दिन कारोबार भयो भने एक दिन सार्वजनिक बिदाका कारण कारोबार बन्द रह्यो । 

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० को बिन्दुमा बन्द भएको थियो । यस दिन बजारमा ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

साताको दोस्रो दिन ३.३५ अंकले बढेर परिसूचक २७५८.७५ को बिन्दुमा बन्द भएको थियो । सोमबार ११ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन मंगलवार ७.१३ अंकले बढेर परिसूचक २७६५.८८ को बिन्दुमा बन्द भयो । यस दिन ९ अर्ब ९० करोड रुपैयाँ बढीको कारोबार भएको थियो । बुधवार शेयर बजार बन्द रह्यो । 

र, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ४९.१६ अंकले बढेर २८१५.०४ को बिन्दुमा बन्द भयो । बिहीबार बजारमा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भयो । 


 

salt training

कमेन्ट गर्नुहोस्