![कालीकोटमा नेकपाको भेडा फार्म, विप्लवले गरे उद्घाटन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Netrabikram_Chand_Sheep_Farm_5_BNbZu4UP4J.jpeg)
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कालीकोटमा भेडा फार्म शुरू गरेको छ ।
नरहरिनाथ गाउँपालिका–५ ,रुप्साको चिसापानीमा त्रिवेणी साझेदारी भेडा फार्म शुरू गरिएको हो । जसलाई महासचिव विप्लवले उद्घाटन गरेका छन् ।
भेडाफार्मको उद्घाटन गर्दै उनले राजनीतिलाई उत्पादनसँग जोड्नुपर्ने बताए । उनले कुनै पनि क्रान्ति वा विद्रोह अमुक नेताहरू पदमा पुग्नका लागि, सांसद्, मन्त्री, प्रधानमन्त्री हुनका लागि नभएको समेत बताए ।

‘राजनीति गर्दाखेरी हामीले कुनै त्यस्तो मन्त्री, ठूलो पद या पैसाको कुरा सोचेर मात्र गरेको होइन । नेपाली कांग्रेसले सात सालमा क्रान्ति गर्यो, एमालेले कुनैबेला विद्रोह गर्यो । हामी माओवादीहरूले ०५२ सालदेखि जनयुद्ध गर्यौं’, उनले भने, ‘अहिले हाम्रो पार्टीले एकीकृत जनक्रान्ति गर्दैछ । यो सबै गर्नुको उद्देश्य के होइन भने केही नेताहरूले सुख भोग गर्ने, मन्त्री हुने, पैसा कमाउने पद पाउने, यो होइन ।’
तर, पछिल्लो समय कांग्रेस, एमाले र माओवादीका नेताहरूको जीवनशैली र व्यवहार त्यस्तो भइरहेको विप्लवले टिप्पणी गरे ।

विप्लव नेतृत्वको नेकपाले कपिलवस्तुमा कृषि फार्म सञ्चालन गरिरहेको छ भने जुम्लाको हिमा गाउँपालिका–७ धाँचुमा चार हजार स्याउ फार्म सञ्चालन गरिरहेको छ ।

