३ वर्षदेखि रुसले गरिरहेको आक्रमणका कारण थिलो-थिलो भएको युक्रेनले अहिलेसम्म करिब एकतिहाइ भूमि गुमाइसकेको छ । युद्धको शुरुआतदेखि नै अमेरिकाबाट आर्थिक र सैन्य सहयोग पाएको युक्रेन जसोतसो ३ वर्षसम्म टिकिरहेको छ । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएर डोनाल्ड ट्रम्पले व्हाइट हाउस सम्हालेपछि रुस-युक्रेन युद्धको मात्र होइन, विश्व व्यवस्था (वर्ल्ड अर्डर) नै परिवर्तन हुने संघारमा छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई लाग्थ्यो- आफ्नो देशमा भएको दुर्लभ खनिजमा अमेरिकालाई पहुँच दिए रुससँग लड्न अमेरिकाले आफूलाई हतियार दिनेछ र युद्ध थप सहज हुनेछ ।
तर, राष्ट्रपति ट्रम्पले जेलेन्स्कीको विश्वास उत्तिखेरै भंग गरिदिए ।
अमेरिकी समयअनुसार शुक्रबार अपराह्न व्हाइट हाउसमा भएको छलफल चर्काचर्कीमा परिणत भयो । ट्रम्पले जेलेन्स्कीलाई 'तेस्रो विश्व युद्धका लागि जुवा खेलेको' आरोप लगाए ।
ओभल अफिसमा कसरी छिर्यो रुसी समाचार एजेन्सी ?
अमेरिकी राष्ट्रपति कार्यालय ओभल अफिसमा रुस, चीन र अन्य कतिपय देशका राज्य नियन्त्रित सञ्चारमाध्यमलाई प्रवेश गर्न रोक लगाइएको हुन्छ । पछिल्लो समय त रोयटर्सलाई पनि ट्रम्पको पहिलो क्याबिनेट बैठक कभर गर्न रोक लगाइयो ।
दुई हप्ताअगाडि मात्र विश्वको सबैभन्दा ठूलो समाचार संस्था एसोसिएटेड प्रेस (एपी)लाई पनि अनिश्चितकालका लागि ओभल अफिस र एयर फोर्स वन (राष्ट्रपतिको जहाज) मा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध 'गल्फ अफ मेक्सिको'लाई 'गल्फ अफ अमेरिका' नभनेकै कारण लगाइएको हो ।
'तर शुक्रबारको बैठकमाचाहिँ एकदमै अनौठो भयो,' सीएनएन लेख्छ, 'रुसको समाचार एजेन्सी TASS का रिपोर्टरलाई ह्वाइट हाउस छिर्ने अनुमति पाएका पत्रकारको समूहमा राखिएको थिएन । तर, राष्ट्रपतिका प्रेस सचिवले उनलाई व्यक्तिगत तवरबाट बाहिर गएरै ल्याए ।'
'टेलिग्राफ एजेन्सी अफ सोभियत सोसलिस्ट युनियन (TAAS)' रुसको राज्यनियन्त्रित तर संसारकै ठूलोमध्येको समाचार संस्था मानिन्छ । रुसी राष्ट्रपति पुटिनले व्हाइट हाउसमा देखिएको ट्रम्प र जेलेन्स्कीबीचको चर्काचर्कीको लाइभ भिडियो TAAS मार्फत हेर्दै दंग परिरहेका थिए ।
कतिपय अमेरिकी डेमोक्रेट्स र सञ्चारमाध्यमहरूले जेलेन्स्कीलाई नंग्याउनकै निम्ती ह्वाइट हाउसमा 'एम्बुस' थापिएको टिप्पणी गरेका छन् । बहस चर्काचर्कीमा परिणत भएपछि ट्रम्पले थप कुराकानी गर्न नसकिने भन्दै जेलेन्स्कीलाई 'जान' सन्देश पठाए । त्यसपछि जेलेन्स्की एउटा टेलिभिजनमा अन्तर्वार्ता दिएर बेलायत हानिएका थिए ।
युक्रेनलाई अमेरिकाबाट जोगाउनुपर्ने अवस्था
व्हाइट हाउसमा भएको तीतो चर्काचर्कीपछि युरोपेली नेताहरूले युक्रेनलाई आफ्नो साथ र समर्थन रहेको ढाडस दिइरहेका छन् । युक्रेन युद्ध शुरू भएदेखि नै युरोपका अधिकांश नेताहरू युक्रेनको पक्षमा थिए । तर, सैन्य र आर्थिक सहयोग गर्ने मामिलामा अमेरिका सधैँ अगाडि थियो ।
अहिले ट्रम्पले एकाएक युद्धलाई लिएर आफ्नो धारणा १८० डिग्रीमा परिवर्तन गरेपछि युक्रेनलाई अमेरिकाबाट नै खतरा भएको निष्कर्षमा युरोप पुगेको छ ।
जर्मनीका राष्ट्रपति फ्रांक वाल्टर स्टाइनमायरले शनिबार जर्मन समाचार एजेन्सी डीपीएसँग कुराकानी गर्दै भनेका छन्, 'ह्वाइट हाउसमा देखिएको हिजोको दृश्यले मलाई स्तब्ध बनायो । हामीले अमेरिकाबाट युक्रेनको रक्षा गर्नुपर्ने दिन आउनेछ भनेर मैले कहिल्यै विश्वास गरेको थिइनँ ।'
अमेरिकाको यो अप्रत्याशित रणनीतिक परिवर्तनले युरोपका नेताहरूलाई चकित पारेको छ ।
धेरैले युक्रेन युद्ध कमजोर सम्झौतामा अन्त्य भयो भने रुस थप उत्साहित भएर अरू युरोपेली देशमाथि आक्रमण गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
युरोपेली संघकी शीर्ष कूटनीतिज्ञ काजा कल्लासले शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै भनेकी थिइन्, 'हामीले युक्रेनलाई हाम्रो समर्थन बढाउनेछौं । आज यो स्पष्ट भयो कि स्वतन्त्र विश्वलाई नयाँ नेतृत्वको आवश्यकता छ । यो चुनौती स्वीकार गर्न हामी तयार छौं ।'
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि युरोप थप शक्तिशाली हुनुपर्नेमा जोड दिए । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भनेका छन्, 'हामीलाई पहिलेभन्दा अहिले धेरै शक्तिशाली युरोप चाहिएको छ । हामी उठ्नु आवश्यक छ ।'
तर, अहिलेसम्म अमेरिका नेतृत्वको नेटोमा आबद्ध भएर आफ्नो सुरक्षा सुनिश्चित गरिरहेको युरोपलाई नयाँ संयन्त्र बनाएर आफ्नो सुरक्षामा आत्मनिर्भर हुन सहज छैन । यो कुरा जेलेन्स्कीले पनि बुझेका छन् । त्यही भएर व्हाइट हाउसबाट अपमानित भएर निस्केपछि पनि सामाजिक सञ्जाल एक्समा बारम्बार लेख्दै अमेरिका सधैँ आफ्नो पक्षमा रहने विश्वास व्यक्त गरिरहेका छन् ।
'आज सबै कुरा युरोपमा निर्भर छ । युरोपेली देशहरू कसरी अगाडि बढ्छन् भन्ने प्रश्न हो,' जर्मन मार्शल फन्डकी कार्यवाहक अध्यक्ष एलेक्जेन्ड्रा डी हूप स्चेफरको भनाइ छ, 'हामीसँग अर्को कुनै विकल्प छैन ।'
पछिल्ला ३ वर्षमा अमेरिकाले मात्र युक्रेनलाई सैन्य, वित्तीय र मानवीय सहायतामा लगभग ११४ अर्ब डलर खर्च गरेको छ । जबकि युरोपका ३० भन्दा बढी देशहरूले जम्मा १३२ अर्ब डलर खर्च गरेको अनुमान गरिएको छ ।
युरोपका लागि सबैभन्दा ठूलो खतरा रुस नै हो । अमेरिकाले नै राष्ट्रपति पुटिनको भाषा बोल्न थालेपछि युरोपियन देशहरूसँग अब आफ्नो सुरक्षा महत्त्वपूर्ण भएको छ भने युक्रेनलाई काँध थाप्नुपर्ने अर्को काम आइपरेको छ ।
कतिपय विश्लेषकहरूले भने अमेरिकासँगको कूटनीतिक र रक्षा सम्बन्ध यतिमै भंग नहुने बताइरहेका छन् । युरोपियन देशहरूमा अझै पनि अमेरिकी सेनासँगै महत्त्वपूर्ण हतियार प्रणाली र अन्य सैन्य उपकरणहरू छन् । जुन छिटो प्रतिस्थापन गर्न लगभग असम्भव छ ।
'हामीलाई अझै अमेरिकाको आवश्यकता छ,' बेल्जियमको ब्रसेल्समा आधारित एक अनुसन्धान समूह ब्रुगेलका निर्देशक जेरोमिन जेटेलमायरको भनाइ छ ।
नेटोमा युरोपको कमजोर र विभाजित उपस्थिति
युरोपेली युनियनका कतिपय देशहरूले पछिल्ला वर्षमा नेटोमा आफ्नो सैन्य खर्च बढाउँदै आएका छन् । सन् २०२१ को तुलनामा २०२४ मा उनीहरूले ३० प्रतिशत भन्दा बढी खर्च गरेका छन् ।
रक्षामा बढी खर्च गर्दा आमजनताका लागि स्वास्थ्य सेवा र सामाजिक सेवाजस्ता प्राथमिकतामा हुने खर्च कम हुन्छ । जर्मनी, फ्रान्स र बेल्जियमजस्ता तुलनात्मक रूपमा साना अर्थतन्त्र भएका देशहरूले अमेरिकाले अपेक्षा गरेअनुरुप नेटोमा खर्च गर्न सकिरहेका छैनन् ।
यही कारण युक्रेनलाई समर्थन गर्न थप पैसा खर्च गर्नेबारे सबै युरोपियन देशहरू एकै स्वरमा बोलिरहेका छैनन् । युरोपेली अधिकारीहरूले पहिले नै युक्रेनका लागि भविष्यको सहायता प्याकेजबारे छलफल गरिरहेका थिए, जसको खर्च खर्बौं युरोसम्म पुग्न सक्ने अनुमान गरिएको थियो ।
ट्रम्पसँग दुर्लभ खनिज सम्झौता गर्न जेलेन्स्की अमेरिका जाने भएपछि कतिपय युरोपेली देशहरूले अब सबै खर्च अमेरिकाले बेहोर्छ र आफूमाथिको दबाब कम हुन्छ भन्ने अपेक्षा गरेका थिए । उनीहरूको अपेक्षाविपरीत कुनै सम्झौतामा हस्ताक्षर हुन सकेन ।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान पछिल्लो प्रकरणमा राष्ट्रपति ट्रम्पको पक्षमा देखिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'धेरैका लागि पचाउन गाह्रो भए पनि शान्तिका लागि बहादुरीका साथ ट्रम्प उभिएका छन् ।'
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आइतबार लन्डनमा र त्यसपछि बिहीवार ब्रसेल्समा युरोपेली परिषद्को विशेष शिखर सम्मेलनमा रक्षाबारे छलफल गर्न शीर्ष अधिकारीको बैठक आयोजना गरेका छन् ।
त्यसैबीच, ट्रम्पनिकट मानिएकी इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले शुक्रबार राति एक वक्तव्य जारी गर्दै सहयोगीबीच बैठकका लागि प्रयास गर्ने बताएकी थिइन् ।
'आजका ठूला चुनौतीहरूको सामना कसरी गर्ने भन्नेबारे इमान्दारीपूर्वक कुरा गर्न संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र सहयोगीबीच तत्काल शिखर सम्मेलन आवश्यक छ ।'