
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा अहिले पूर्व–पश्चिम दौडाहामा छन् ।
यसक्रममा कतिपय नसोचेका घटना पनि भएको माओवादी नेताहरू बताउँछन् । अभियानकै क्रममा यात्रा गरिरहेका बेला एकपटक बीच जंगलमा आफ्नो पक्षमा नारा लागेपछि प्रचण्ड गाडीबाट झर्न बाध्य भए ।
‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’अन्तर्गत १२ फागुनमा प्रचण्ड झापाको कचनकवलमा कार्यक्रम सकेर फर्किएका थिए । गाउँपालिकाको हुकाहुकी चोकमा अभियानको शुरूआत गरेपछि उनी राति बास बस्ने ठाउँमा फर्किँदै थिए । तर, कुनै तालिकामा नभएको स्थानमा युवाहरूले रोकेपछि गाडीबाट झर्न बाध्य भए ।
गाडीबाट झरेपछि युवाले खादा लगाइदिने, फोटो खिच्ने गरेपछि प्रचण्ड हिँडेरै पुल पार गरेपछि गाडी चढेर गन्तव्यतर्फ लागेको माओवादी केन्द्रीय सदस्य गोकर्ण भट्टले बताए । प्रचण्डलाई भेट्न पाएँ, छुन पाएँ भन्दै ती युवाहरू गन्तव्यतर्फ लागेको भट्ट बताउँछन् ।
झापाबाट शुरू भएको माओवादीको अभियानले ७ दिनमा पाँचवटा जिल्ला पार गरेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र धनुषामा कार्यक्रम सकिएको छ । दुई दिन रोकिएपछि अब बिहीबार महोत्तरीबाट अभियान पुनः शुरू हुने माओवादीले जनाएको छ ।

५ बजे उठे, ८ किलोमिटरसम्म हिँडे
बिहान ५ बजे उठिसक्ने र आधा घण्टामा तयार भएर हरेक दिन 'मर्निङवाक'मा निस्किने प्रचण्डको तालिका छ । पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित अन्य नेतासहित ५० जना हाराहारीको टीम यो अभियानका लागि काठमाडौंबाट हुलाकी राजमार्गतर्फ लागेको थियो । अभियानमा प्रचण्डसँगै यी नेता हिँडेका थिए । यसमा जिल्लाअनुसार स्थानीय नेता अभियानमा जोडिएको प्रचण्डका सचिवालय प्रमुख गोविन्द आचार्यले बताए ।
६ देखि ८ किलोमिटरको मर्निङवाक अँध्यारोमै शुरू गर्ने र उज्यालो भएपछि भेटघाटमा परिणत गर्ने प्रचण्डको रूटिन छ । बिहान अँध्यारोमा आधा हिँडेपछि मर्निङवाककै क्रममा स्थानीय नेता–कार्यकर्तासँग भेटघाटका कार्यक्रम हुने गरेको उनले बताए ।
‘प्रचण्ड आए, नेताजी आए’ भन्दै हेर्न आउने उत्सुक भीडसँग केहीबेर उनी बिताउँछन् । कुनै टोलमा चिया खाने र सामान्य छलफल गरेपछि राति बसेको ठाउँमा फर्किने प्रचण्डको तालिका छ ।
त्यसपछि जिल्लामा राखिएका सभाका कार्यक्रममा प्रचण्डले गाडीबाटै यात्रा गरे । यस क्रममा हुलाकी राजमार्गका साना बजारमा सभा गर्ने, बीचमा पनि अचानक जम्मा भएका मान्छेसँग भलाकुसारी गर्ने गरेको प्रचण्डको सचिवालय बताउँछ ।
अहिलेसम्मको अभियानमा प्रचण्डले स्थानीयको घरमै खाना खाएका छन् र राति बास पनि स्थानीयकैमा बसेका छन् । ‘अभियानका क्रममा स्थानीय जनताको घरमा नै बास बसियो । कतिपय ठाउँमा नेताहरू हलमा पनि सुत्नुभयो,’ प्रचण्डको सचिवालयले भन्यो, ‘हुलाकी राजमार्गमा ठूला होटल हुँदैनन् । यसैले स्थानीयकै घरमा बसियो । कोही घर राम्रा हुन्छन्, कोही ठीकै हुन्छन् ।’
यसबीचको अभियानमा दिउँसोको कार्यक्रम सकेपछि बास बसेकै ठाउँमा मेसको खाना नै शीर्ष नेतासहितको टोलीले खाएको सचिवालय बताउँछ । खानामा दाल, भात, तरकारी, माछा र दही प्रायः कतै पनि नछुटेको सचिवालयले जानकारी दियो । अभियानको नाम नै जनतासँग माओवादी राखिएकाले होटलमा नबसिएको नेताहरू बताउँछन् ।
पछिल्लो केही दिनको अभियानमा माओवादीले नजितेका पालिकामा पनि स्वागत पाएको नेताहरू बताउँछन् । यस क्रममा प्रचण्डले जनकपुरमा उद्योग वाणिज्य महासंघसँग अन्तरक्रिया र सप्तरीमा सर्वपक्षीय छलफल गरेका थिए ।
‘कतिपयले तपाईंहरू पनि कांग्रेस–एमालेजस्तो नै हुन खोज्नुभयो नभनेका होइनन् । माओवादीले १८ महिनाको अवधिमा राम्रो प्रयास गरेको भनेर धेरैले रुचाएको पाइयो । गरे प्रचण्डले नै गर्छन् भनेर पनि प्रतिक्रिया दिए,’ प्रचण्डको सचिवालयले भन्यो, ‘तर माओवादीधाराका दलहरू विभाजन भएकोमा धेरैले चिन्ता गर्दै एक भएर अगाडि बढ्न सुझाव दिनुभएको छ ।’

मधेशमा परम्परागत दलकै प्रभाव
माओवादी नेताहरू अभियानका क्रममा मधेशलाई आधार बनाएका दलभन्दा परम्परागत राष्ट्रिय दलप्रति नै जनताको आशा–भरोसा देखिएको बताउँछन् ।
‘हामीलाई काठमाडौंमा तराई–मधेशमा मधेशवादी दलको प्रभाव होला भन्ने थियो । तर, हामी डुलेको हुलाकी राजमार्ग आसपास कांग्रेस, एमाले र माओवादीकै प्रभाव देखियो,’ माओवादीको अभियानमा जोडिएका ती नेता भन्छन्, ‘मधेशवादी दलको ठूलो प्रभाव र माहोल देखिएन । परम्परागत दलकै पक्षमा माहोल पायौं ।’

... जसले पहिलोपटक ठूला नेता देख्न पाए
जनकपुरको एउटा गाउँमा पहिलोपटक नेताको रूपमा प्रचण्डलाई देख्न पाएपछि स्थानीय वृद्धाहरूले खुशी व्यक्त गरेको नेता भट्ट बताउँछन् ।
‘जनकपुरको एउटा गाउँमा १५/२० वृद्धबाहरू मन्त्री आएका छन् भनेर हेर्न आउनुभएको रहेछ । तर, उहाँहरूलाई कुन पार्टीको हो भनेर थाहा थिएन,’ भट्ट भन्छन्, ‘७० देखि ९० वर्षसम्मका हुनुहुन्थ्यो । आजसम्म एउटा पनि नेता आएका थिएनन् भन्दै प्रचण्डलाई भेट्न पाएपछि खुशी हुनुभयो ।’
आफूलाई पहिलो नेताको रूपमा हेर्न आएको भन्दै प्रचण्डले ‘सौभाग्य पाएँ’ भनेका थिए ।

विभेद र कृषिका समस्या
माओवादीको अभियानका क्रममा स्थानीयले विभेद, दण्डहीनता र कृषि क्षेत्रका समस्या उठाएका छन् । ‘हुलाकी राजमार्ग पूर्व पश्चिम राजमार्ग जस्तो होइन, गरिबी धेरै भएको दलित, भूमिहीन, मुसहर, कोचे, मेचे, चाम, डोम समुदायकाले विभेदको कुरा उठाउनुभएको छ । कतिपयले गाउँ–गाउँमा महिला हिंसा भए पनि कानूनी उपचार नपाएको विषय उठाउनुभयो,’ भट्टले भने, ‘कृषिका लागि मलखाद र सिञ्चाई, सीमापारिबाट हुने डकैतीका कुरा, जमिन्दारको शोषण, बाटोघाटो, रोजगारी, लालपुर्जा र नागरिकताको कुरा उठाउनुभएको छ ।’
माओवादीको अभियानका क्रममा अहिलेसम्म २ हजार बढी पार्टी प्रवेश गरेको नेताहरू बताउँछन् । माओवादीका अध्यक्ष प्रचण्डले तराई–मधेश अभियानले जनतासँगको सम्बन्ध थप जीवन्त भएको बताएका छन् । कैलालीमा शुरू भएको राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जागरण अभियानले पार्टीको जनतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लगेको बताएका हुन् । अभियान पूरा हुँदासम्म पार्टी र जनताबीचको सम्बन्ध अझ बढी प्रगाढ हुने उनको भनाइ छ ।
‘अहिले हामी अभियान भनेर नेताहरू जाने, भाषण गर्ने र फीर्कने गरिरहेका छैनौं । जहाँ जान्छौं, त्यहाँका स्थानीय जनताकै घरमा बस्छौं, जनताले खाने खाना खान्छौं र ती क्षेत्रका जनताले भागेका समस्याबारे खुलेर छलफल गर्छौं,’ प्रचण्डले भने, ‘जनतासँगै उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसिएसनजस्ता नागरिक समाजका अगुवा संस्थाहरूसँग पनि अन्तरक्रिया गर्छौं, यसबाट पनि सम्बन्धित जिल्लाको अवस्था बुझ्न सहज भएको छ ।’

मुख्य वक्ता प्रचण्ड
माओवादीले अहिलेसम्मको अभियानको क्रममा छोटा सभालाई प्राथमिकता दिएको छ । अलि ठूलो बजार क्षेत्रमा ठूला सभा पनि भएका छन् । प्रायः सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन् । कुनैमा दोस्रो तहका नेताले पनि सम्बोधन गरेका छन् । यस क्रममा २ हजार बढी माओवादीमा प्रवेश गरेका छन् । अभियानमा पुरातात्त्विक महत्त्वका ऐतिहासिक संरचनाहरूको अवलोकन र स्थानीय समस्याबारे गुनासो सुन्ने काम भइरहेको नेताहरू बताउँछन् ।
अभियानका क्रममा समुदायले भोगेका समस्या पहिचान भएको प्रचण्डले बताए ।

‘पार्टीलाई समाजका सबै वर्ग–समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गरेको छ,’ प्रचण्डले भने, ‘अभियानका क्रममा आउने जनताका गुनासा, अपेक्षा र आवश्यकतालाई केन्द्रित गरेर पार्टीले पहल लिन्छ । पहुँच नभएका ठाउँका लागि कार्यक्रम बनाउँछ । सरकारलाई ध्यानाकर्षण गर्छ । राष्ट्रियस्तरमै सम्बोधन गर्नुपर्ने विषयमा संसदमा आवाज उठाउँछ ।’
प्रचण्डले हुलाकी मार्ग दक्षिण नेपालको समृद्धि र उत्पीडित समुदायको पहिचानसँग जोडिएको बताए । साथै, हुलाकी मार्ग दशकौंको सपना भए पनि अलपत्र परेकाले आफूले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा भारत भ्रमणका क्रममा लगानी सुनिश्चित गरेको उनले बताए ।
अब फेरि २२ गतेपछि माओवादीले महोत्तरीबाट अभियानलाई निरन्तरता दिनेछ । महोत्तरी, सर्लाही, बारा र पर्सापछि मधेशमा माओवादीको अभियान सकिने छ । त्यसपछि चितवन नवलपुर हुँदै पश्चिम तराईका जिल्लामा अभियान गरेर चैत १४ गते कञ्चनपुरमा कार्यक्रम समापन गर्ने तयारी माओवादीको छ ।