१७ असार २०८३, बुधबार

कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै, के भन्छन् चिकित्सक ?

फागुन २०, २०८१
काठमाडौं
कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै, के भन्छन् चिकित्सक ?

वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जिउ आलस्य हुने लक्षण देखियो। दुई हप्ता घरमै आराम गरेर निको भए पनि उनलाई हल्का खोकी अझै लागिरहेको छ।

भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू (इन्फ्लुएन्जा) कडा महसुस गरिन्। उनले लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो पटक भोग्नुपर्‍यो। ‘खोकी एकदमै लामो समयसम्म लागिरहेको छ। एक हप्ता टाउको उठाउनै सकिनँ। जिउ आलस्य र एकदमै कमजोर भएको छ’, खड्काले भनिन्।

उनीहरू मात्रै होइन, यसपटक धेरैले यस्तै समस्याको सामना गर्नुपरेको गुनासो गरिरहेका छन्। छाती तथा दम रोग विशेषज्ञ डा. नवीनकुमार मिश्रका अनुसार फ्लू लाग्ने सिजन सकिए पनि लामो लक्षणसहितको फ्लू देखापरिरहेको छ। सामान्यतया नेपालमा जनवरी–मार्च र जुलाई–सेप्टेम्बर महिनामा फ्लू बढी देखिने भए पनि यस पटक निकै लम्बिएको छ।

डा. मिश्राका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा आफैं हराएर जान्छ, तर केहीलाई भने जटिल समस्या निम्त्याउन सक्छ। मौसम परिवर्तन भएसँगै फ्लूका बिरामी बढिरहेका छन्। धेरैमा कडा लक्षण देखिएको छ। 

विशेषगरी लामो समयसम्म खोकी लाग्ने समस्या देखिएको छ। यसमा अचानक ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, टाउको दुख्नु, मांसपेशी दुख्नु, अस्वस्थ महसुस हुनु, घाँटी दुख्नु, नाक बग्नु आदि लक्षण देखिन सक्छन्। फ्लूमा खोकी गम्भीर हुनसक्छ र दुई हप्ता वा सोभन्दा बढी पनि रहन सक्छ।

यसले श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको सङ्क्रमण) हुन सक्ने सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक रहेका डा. पुनका अनुसार हाल धेरै बिरामी लामो समयसम्म खोकी लागिरहने समस्या लिएर अस्पताल आइरहेका छन्।

डा. पुन भन्छन्, ‘फ्लूले धेरै लामो समयसम्म दुःख दिने गर्छ। सामान्यतया हप्ता वा १० दिनमा निको हुने फ्लू हाल थप केही हप्तासम्म लम्बिएको देखिन्छ। हप्तौंसम्म लम्बिने खोकीलाई ‘पोस्ट भाइरल कफ’ भनिन्छ।’

उनका अनुसार कोभिडमा देखिएको गन्ध र स्वाद थाहा नपाउने लक्षण यो फ्लूमा पनि देखिएको छ, जसले गर्दा कोभिडका ‘सब–भेरियन्ट’ पनि हुनसक्ने आंकलन गर्न सकिन्छ। मौसम परिवर्तन र वायु प्रदूषणले पनि फ्लूको जोखिम बढाएको उनको भनाइ छ।

‘हाल हङकङ फ्लू देखिएको छ। जोखिम समूहमा पर्ने बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी बढी जोखिममा छन्। चिकित्सकको परामर्शमा बस्नुपर्ने र गम्भीर अवस्था देखिएमा निमोनिया हुनसक्ने भएकाले थप सतर्कता अपनाउन आवश्यक छ’, डा. पुन भन्छन्। 

उनले मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सङ्क्रमित व्यक्तिबाट सजग रहने, सङ्क्रमण देखिएमा पर्याप्त आराम गर्ने सल्लाह दिएका छन्। फ्लूविरुद्ध खोप लगाउनु राम्रो हुने उनले बताए।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन्, तर मुख्य रूपमा महामारीमा भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन्। 

ब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका कारण ३० लाखदेखि ५० लाख ‘केस’ देखिन्छन्। तीमध्ये दुई लाख ९० हजारदेखि छ लाख ५० हजार जनाको श्वासप्रश्वासमा जटिलता आएर मृत्यु हुने तथ्यांक छ।

खोपले शतप्रतिशत सुरक्षा नदिए पनि जटिलता र अस्पताल भर्ना हुनबाट जोगाउन सहयोग गर्छ। चिकित्सकहरूका अनुसार इन्फ्लुएन्जाका लक्षण सामान्यतया भाइरस भएको व्यक्तिबाट सङ्क्रमित भएको दुई दिनपछि शुरू हुन्छ। उच्च जोखिममा रहेका व्यक्तिमा गम्भीर समस्या, अस्पताल भर्ना र मृत्युसमेत हुनसक्छ।

काठमाडौं मेडिकल कलेज श्वासप्रश्वास रोग विभाग प्रमुख डा. मिश्रका अनुसार दम भएका बिरामी, पाँच वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका व्यक्ति, रोगसँग लड्नसक्ने क्षमता कम भएकाहरूमा फ्लूको जोखिम बढी हुन्छ।

डा. मिश्र भन्छन्, ‘लक्षण बिग्रिँदै गइरहेको छ, अक्सिजनको कमी देखिएको छ भने तत्काल चिकित्सकलाई भेट्नुपर्छ। सामान्य लक्षण देखिएका छन् भने आराम गरेर निको हुन्छ। झोलिलो पदार्थ प्रशस्त खाने गर्नुपर्छ। धेरैजसो आफैं हराएर जान्छ।’

जटिलता निम्तिएको खण्डमा निमोनिया, मुटुको चालमा गडबडी, रगतमा सङ्क्रमणसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनले बताएका छन्। -बुनु थारु/रासस

salt training

कमेन्ट गर्नुहोस्