
सबैभन्दा लामो समय चुम्बन गर्ने थाई जोडीको अहिले चर्चामा भैरहेको छ । सन् २०१३ मा एक्काचाई तिरनरात र उनकी श्रीमती लक्षनाले ५८ घण्टा ३५ मिनेट लगातार चुम्बन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका थिए ।
यो कीर्तिमान अहिलेसम्म कायमै छ । तर यो जोडीको सम्बन्ध भने टिक्न सकेको छैन । यो कीर्तिमान बनाएको १२ वर्षपछि जोडी छुट्टिएका हुन् ।
हालै एक्काचाईले बीबीसीको विटनेस हिस्ट्री पोडकास्टमा भाग लिएका थिए । शोमा उनले आफ्नी श्रीमती लक्षासँग अलग भएको पुष्टि गरेका छन् । 'यो जीवनकालमा एक पटकको अनुभव थियो। म यसमा गर्व महसुस गर्छु। लक्षना र मैले लामो समय सँगै बितायौं र अब म यो कीर्तिमान बनाउने क्रममा हामीले बनाएका राम्रा सम्झनाहरू सम्झन चाहन्छु।'
प्रतियोगिताका क्रममा बाथरुम ब्रेकमा समेत लगातार किस गरिरहनुपरेको एक्काचाईको भनाइ छ ।
लामो समयसम्म चुम्बन गर्नु यो जोडीको विशेषता थियो। एक्काचाई र लक्षाले यसअघि पनि कीर्तिमान बनाएका थिए । सन् २०११ मा उनले ४६ घण्टा २४ मिनेट चुम्बन गरेर विश्व कीर्तिमान बनाएका थिए ।
तर, पछि उनको रेकर्ड तोडियो । यसपछि सन् २०१३ मा एक्काछाई र लक्षाले फेरि नयाँ कीर्तिमान बनाएर इतिहास रचेका हुन् ।
अब यो रेकर्ड कसैले तोड्न सक्ने छैन । किनभने सन् २०१३ मा नै गिनिज वर्ल्ड रेकर्ड्सले यो कीर्तिमान स्थायी रूपमा बन्द गरिसकेको छ ।