
लक्ष्मी सन्राइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच लगानी सम्झौता भएको छ ।
मुस्ताङ तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने बारेमा शुक्रबार द्विपक्षीय सम्झौता सम्पन्न भएको हो । सो आयोजनाको कूल लागत ३९ अर्ब ५० करोड २४ लाख रहेको छ ।
कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुन २७, २०७५ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै फागुन १७, २०७९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।
कम्पनीको मुख्य प्रवर्द्धकको रूपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका छन् । सो परियोजना निमार्णका लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ ।
लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ९ अर्ब रहेको छ भने सहअगुवा बैंकहरूको रूपमा रहेका ग्लोबल आईएमई बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रहेको छ ।
अन्य सहभागी बैंकहरू हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबीआई बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड समेत गरी कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रहेको छ ।
आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुका साथै ठूलो स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एकको रूपमा रहनेछ ।