
भगवान् कृष्ण काला थिए भन्ने धेरैलाई थाहा छ । कालो भएकैले कृष्ण भनिएको हो भन्ने पनि धेरैलाई थाहा हुनुपर्छ तर, किन काला थिए त्यो भने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले आउनुहोस् यहाँ यसैबारे केही खोतल्ने प्रयास गरौँ ।
कृष्णको शाब्दिक अर्थ दुई किसिमको हुन्छ– एक कालो वर्ण भएकोलाई कृष्ण भनिन्छ । अर्को मनोहर वा मनलाई आकर्षित गर्ने वालालाई पनि कृष्ण नै भनिन्छ । उनको नाम जुराउने गर्गाचार्यले यसै अर्थमा लिएका छन् ।
त्यतिबेला उनले कृष्ण नाम राख्दै भनेका थिए– ‘यिनी अहिले कालो वर्णको रूप लिएर आएका छन् । त्यसैले यिनको नाम कृष्ण राख्न उपयुक्त देखेको छु । अर्को कुरा यिनी सबैको चित्तलाई आकर्षित गर्ने खालका छन् । त्यसैले पनि यिनको नाम कृष्ण नै उपयुक्त हुन्छ भन्ने ठानेको छु ।’ तर कृष्ण आफैंले भने सयानुसार भिन्न भिन्नरूमा अथ्र्याएका छन् ।
एकपटक माता यशोदाले ठट्यौलीमा भनेकी थिइन्– ‘हामी सबै गोरा छौं तँमात्र किन कालो छस् थाहा छ ?’ कृष्णले पनि ठट्यौलीमै भनिदिए– ‘त्यो त तपाईँलाई नै थाहा हुनुपर्छ । भन्नुस् न किन कालो छु ?’ कृष्णको कुरा सुनेर यशोदाजीले हाँस्दै भनिन्– ‘किनकि तलाई रातको अध्यारोमा कतैबाट उठाएर ल्याएकी हुँ ।’
कृष्ण पनि के कम । तत्कालै हाँस्दै उत्तर दिए– ‘आमा पनि गफै गर्नुहुन्छ । कुरो त्यसो होइन म कालो यस अर्थमा भएको छु कि तपाईँले मलाई रातमा जन्म दिनुभएको छ । जब जन्म नै रातमा दिनुभएको छ भने रातको कालो नसरेर के गरोस् त ।’
यस्तै कुरा एक पटक राधाजीले पनि गरेकी थिइन् । एक दिन लीलानिकुञ्चमा रहेको बेला राधाजीले सोधेकी थिइन्– ‘कृष्ण ! तिमी किन यति बढी काला छौं ?’
त्यतिबेला कृष्णले प्रत्युत्तरमा भनेका थिए– ‘तिमीलाई राम्री देखाउन कालो भएको हुँ । यदि म पनि तिमीजस्तै गोरो भएको भए अरूले तिम्रो छाडेर मेरो प्रशंसा गर्न थाल्थे, जुन म चाहन्नथेँ ।’
तर, दुर्योधनको प्रश्नमा भने उनको उत्तर अर्कै भेटिन्छ । जतिबेला कृष्ण पाण्डवहरूको शान्तिदूत बनेर हस्तिनापुर आएका थिए त्यतिबेला उनको कुरा सुनेर दुर्योधनले कड्किँदै भनेका थिए– ‘जसको बाबु आमाको ठेगान छैन त्यस्ताले आएर हामीलाई अर्ती उपदेश दिन सुहाउन्न । नन्दयशोदाकै पुत्र हौं भन्ने के छ प्रमाण ? यदि त्यसो हुन्थ्यो भने तिमी पनि उनीहरूजस्तै गोरो भइहाल्थ्यौ नि होइन ?’
त्यतिबेला कृष्णले भनेका थिए– ‘तिमी अझै भ्रममै छौ दुर्योधन ! म कालो यस अर्थमा छु कि तिम्रो काल बनेर आउनुपरेको छ ।’
कृष्णले अवस्थाअनुसार दिएका उत्तर हुन् यी । वास्तविकता के हो भने यसका पछाडि तीन वटा कारण छन् । एउटा दुर्योधनको काल बनेर आएकैले उनी कालो भएका हुन्, जसको सङ्केत कृष्ण आफैंले गरेका थिए । मात्र के हो भने उनी दुर्योधनको मात्र नभई दुर्योधन युगको वा दुर्योप्रवृत्तिको काल बनेर आएका थिए ।
दोस्रो उनी भगवान्को पूर्णावतार मानिन्छन् । भगवान्को वर्ण सत्ययुगमा सेतो, त्रेतायुगमा पहेँलो र द्वापर युगमा श्याम (कालो) मानिएको छ । त्यसैले उनको युगअनुसारको वर्ण थियो त्यो । किनकि उनी द्वापर युगका थिए ।
तेस्रो कारण उनी पापीहरूको काल बनेर आएका थिए । काल भनेको मृत्यु हो । त्यसैले उसको नाम सुन्ने वित्तिकै संसारका हर प्राणी डराउँछन् । थाहा छैन जड प्राणीलाई कस्तो हुन्छ तर चेतन प्राणी भने सबै मृत्युदेखि डराउँछन् । किन डराउँछन् ? किनकि ऊ कालो हुन्छ ।
यसो त कृष्ण सबैको काल बनेर आएका छैनन् । दुष्ट र पापीहरूका निम्ति मात्र काल बनेर आएका हुन् । यस्तो अवस्थामा कसरी कालो भए भन्ने प्रश्न उठ्न सक्छ तर, त्यो रूपमा मात्र हो सारमा होइन । सारमा त यही हो कि उनी सबैको काल नै हुन् । किनभने भगवान्को एउटा काम संहार पनि हो । संहारविना सृष्टि सम्भव हुन्न । त्यसैले भगवान्ले मिति पुगेकालाई संहार गर्छन् र नयाँ आउनेलाई मार्ग प्रशस्त गर्छन् । यस अर्थमा भन्नुपर्दा कम्तीमा द्वापर युगका निम्ति उनी सबैको काल हुन् । त्यसैले काला छन्, काला भएका हुन् ।