०३ असार २०८३, बुधबार
कारागारमा आलमको दैनिकी

नख्खुमा कैदीबन्दीका ‘मन्त्रीज्यू’ आलम, सफाचट् बनेर बस्छन्, अझै पुरानै रवाफ !

चैत ४, २०८१
काठमाडौं
नख्खुमा कैदीबन्दीका ‘मन्त्रीज्यू’ आलम, सफाचट् बनेर बस्छन्, अझै पुरानै रवाफ !

नेपाली कारागारमा थुप्रै कैदीबन्दी छन्, तर नख्खु कारागारमा जेलजीवन बिताइरहेका पूर्वमन्त्री आफताब आलमको चर्चा अरूभन्दा बढी नै हुने गरेको छ । 

पहिलो संविधानसभा चुनावको अघिल्लो दिन (२०६४ चैत २७ गते) रौतहटको राजपुरस्थित शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएर घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको घटनामा जिल्ला अदालत रौतहटले आलमविरुद्ध सर्वस्वसहित जन्मकैदको सजाय सुनाएपछि २०७६ कात्तिक २९ देखि उनी जेलमा रहेका हुन् ।

मुस्लिम समुदायका आलम विगत ५ वर्षदेखि नख्खु कारागारमै छन् । कारागार प्रशासनका अनुसार आलम बिहानै उठेर आफ्नो नित्यकर्म गर्छन् । नमाज पढ्छन् । 

कारागारका जेलर एवं उपसचिव मित्रलाल शर्माले आलमको दैनिकी सामान्य रहेको बताए । उनलाई कुनै विशेष व्यवस्था गरिएको छैन । पत्रपत्रिका पढ्छन् । टेलिभिजन हेर्छन् । जेलका अन्य कैदीबन्दीसँग भलाकुसारी गर्छन् । 

बेलाबेला पारिवारका सदस्य भेट्न आउँछन् । परिवारका सदस्यलाई आलमले ‘चिन्ता लिनुपर्दैन, म जेलभित्र खुशी नै छु’ भनेर थमथमाएर पठाउँछन् । साधारण दाल, भात र तरकारी मन पराउँछन् ।

सफा र छरितो लुगा लगाउँछन् । आफूलाई पुरानो मुद्दा ब्यूँताएर जबर्जस्ती जेल पठाउने फैसला गरेको भनेर उनले गुनासो गर्ने गरेका छन् । 

कारागारका नाइकेहरूले ‘तपाईंलाई कुनै समस्या छ ?’ भनेर सोध्यो भने उनले ‘कुनै समस्या छैन भाइ’ भन्ने गरेका छन् । आलमलाई चिन्ने कैदीबन्दीले ‘मन्त्रीज्यू’ भनेर सम्बोधन गर्छन् । आलमले तत्कालीन घटना (बम विस्फोट)का बारेमा आफू जानकार नरहेको र क्रुर हत्या आफूले गर्न नसक्ने तर्क अन्य कैदीबन्दीसामु गर्छन् । 

आलमलाई नजिकबाट नियालेका कारागारका एक कर्मचारीले लोकान्तरसँग भने, ‘आलममा पश्चाताप देखिँदैन, उनी जुन अवस्थामा कारागार ल्याइएका थिए, अहिले पनि उत्तिकै फुर्ती र रवाफका साथ छन् ।’ आलमले मुस्लिम धर्मग्रन्थका किताबहरू पनि पढ्छन् । 

पोशाक लगाएका सुरक्षाकर्मीलाई आलम अझै पनि कर्के नजरले हेर्छन् ।

एउटा कार्यक्रममा सहभागी हुँदैका बखतमा प्रहरीले जीपमा राखेर ल्याएको त्यो परिघटनालाई सम्झँदै आलमले अहिले पनि बर्दीधारी प्रहरीलाई राम्रो नजरले नहेर्ने गरेका हुन् ।

आलमले जीपमै ‘तपाईँले ठट्टा ठान्नुभएको छ ? यो जिल्लामा आग लाग्छ । तपाईंलाई एउटा रिक्वेस्ट गरें, म जन्तीबाट आउँछु भनेको थिएँ । म डकैत हुँ ? पूरा जिल्लामा अशान्ति हुन्छ । तपाईंलाई हतकडी लगाउँछु,’ भन्दै प्रहरीलाई थर्काएका थिए । 

अहिले पनि आलमले जेलका अन्य कैदीबन्दीलाई आफूलाई प्रहरीले फसाएको बताउने गरेका छन् ।

२०७६ कात्तिक २९ मा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो । त्यसपछि उनलाई पक्राउ गरेर रातारात ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो । नख्खुमा अहिले १ हजार ३ सय ८१ जना कैदीबन्दी छन् । 

रौतहटको राजपुर फरदवाका ६२ वर्षीय आलम काका शेख इद्रिसको प्रभावबाट राजनीतिमा लागेका हुन् । बीएस्सीसम्म अध्ययन गरेका आलम रौतहट क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट ४ पटक सांसद पदमा विजयी भएका थिए ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका उनी २०५४ सालमा भौतिक योजना तथा निर्माण सहायकमन्त्री, २०५७ मा वनमन्त्री, २०५८ मा भूमि सुधार र २०६५ मा श्रम तथा यातायातमन्त्री भएका थिए । 

आलम नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा रौतहट जिल्लाका पूर्वसभापति समेत हुन् । 

पढ्नुहोस्, यो पनि :

जेलमा दिन कटाउन सास्ती : गीता र वेदपाठ गर्छन् पाण्डे, एमाले नेतासँग टोपबहादुरको गुनासो
 

salt training

कमेन्ट गर्नुहोस्