२६ असार २०८३, शुक्रबार

मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने

चैत ५, २०८१
जनकपुरधाम
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रदेश सरकार सहभागी नहुने बताएका छन् । 

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारले एसईईका सम्बन्धमा राखेको चासो र गरेको निर्णय कार्यावन्यन नभएको भन्दै परीक्षा कार्यक्रममा सहभागी नहुने बताएका हुन् । 

‘यही फागुन २६ गते एसईईलाई मर्यादित तथा व्यवस्थित बनाउनका लागि परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने र सो निर्णय प्रदेशका सबै जिल्ला परीक्षा समन्वय समितिले कार्यावन्यन गर्नुपर्ने निर्णय भएको थियो । तर, त्यसलाई बेवास्ता गरिएकाले प्रदेश सरकारका कुनै पनि निकाय परीक्षाका कुनै क्रियाकलापमा सहभागी हुँदैनन्’, मुख्यमन्त्री सिंहले भने । 

आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका प्रहरी प्रमुख एवं जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको रोहबरमा गोला प्रथाबाट केन्द्राध्यक्ष तोक्नुपर्ने निर्णय भएको थियो । तर, विभिन्न शिक्षक संघ/संगठनले यसमा विरोध जनाएका थिए । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने परीक्षा छनोट समितिको बैठकले गोलाप्रथाबाट नभई आफूखुसी केन्द्राध्यक्ष तोक्ने परिपाटी कायमै भएकाले बाध्य भएर यस्तो निर्णय गर्नु परेको मुख्यमन्त्री सिंहले बताए । 

‘हामीले राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी गराएर यस्तो निर्णय गरेका थियौं तर प्रदेश सरकारकाले गरेको निर्णय कार्यावन्यन भएन । प्रदेश सरकारको भूमिका कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन’, उनले भने । 

मधेश प्रदेशका आठ जिल्लामा एसईईमा ८८ हजार आठ सय ५८ जना परीक्षार्थी सहभागी हुने जानकारी दिँदै मुख्यमन्त्री सिंहले परीक्षा हलमा परीक्षार्थीबाट मोबाइल फेला परेमा जफत गर्नुपर्ने निर्णयलाई भने संघीय सरकारले सदर गरेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्