
नेकपा एमाले मोरङमा जिल्ला अधिवेशनअघि देखिएको समूहको राजनीति थप पेचिलो बन्न थालेको छ । पदाधिकारीमा इतर पक्ष (पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको समूह)ले क्लिन स्वीप गरेपछि संस्थापन पक्ष थप रणनीति बनाउन सक्रिय भएको छ । जसका लागि बुधबार यो पक्षले विराटनगरको एक होटलमा छुट्टै भेला समेत गरेको छ ।
अधिवेशनपछिको पहिलो पूर्ण बैठकको पूर्वसन्ध्यामा संस्थापन समूह छुट्टै छलफलमा जुटेको हो । जिल्ला अधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक भोलि बिहीबार बिहान ११ बजेदेखि विराटनगरस्थित होटल श्री कृष्णामा बस्दैछ ।
फागुन १७ गते सम्पन्न दशौं जिल्ला अधिवेशनमा संस्थापन इतर समूहले पदाधिकारीमा क्लिन स्वीप मात्र गरेन, सदस्यमा पनि बहुमत हासिल गर्यो । त्यसपछि रक्षात्मक बनेको संस्थापन समूह आगामी रणनीतिको गृहकार्यमा जुटेको छ।
बुधबारको भेलालाई संस्थापन पक्षबाट अध्यक्षका उम्मेद्वार बनेका राजकुमार ओझा, प्रदेश समिति सदस्य पर्शुराम बस्नेत, जिल्ला समन्वय समिति मोरङका पूर्व प्रमुख नरेश पोख्रेल लगायतले बैठको नेतृत्व गरेका थिए । तर, संस्थापन पक्षले गुट भेला नगरेको दाबी गरेको छ । आफ्नो पक्षबाट उम्मेद्वार बनेर जितेकालाई बधाई र पराजय भएकालाई सहानुभूति दिने उद्देश्यले कार्यक्रम राखिएको अध्यक्षका प्रत्यासी ओझाले बताए ।
गोप्य रूपमा राखिएको सो बैठकमा प्रदेश समितिका एक दर्जन बढी नेता सहभागी भएको स्रोतले बतायो । तर, प्रदेशका पदाधिकारी भने बैठकमा अनुपस्थित थिए ।
अध्यक्ष अजम्बर राईसहितको पदाधिकारीको टोलीले भने जिल्ला समितिको बैठकको पूर्वसन्ध्यामा एजेन्डाका विषयमा छलफल गरेका थिए । एमाले मोरङका इन्चार्ज जीवन घिमिरेसहितका नेताहरू बसेर बैठकमा एजेन्डाका बारेमा छलफल गरेको उपाध्यक्ष सागर थापाले बताए । घिमिरेले राजकुमारलाई जिताउन खुलेरै लागेका थिए ।
पुन: मतगणनाका लागि केन्द्रीय निर्वाचन समिति गुहार्ने
भेलामा इतर समूह पूर्वराष्ट्रपति भण्डारी लाइन नै भएको निष्कर्ष समेत निकालेको एक नेताले बताए । जिल्ला सदस्यमा पराजित भएका तीन जनाले भने निर्वाचन समितिकै मिलेमतोमा मतपरिणामलाई तलमाथि बनाइएकाले केन्द्रीय निर्वाचन समितिमा पुन: मतगणाका लागि उजुरी गर्न माग गरेका थिए ।
बेलबारीका राजन पोखरेल र मित्रप्रसाद घिमिरेले मतपरिणाममा आफूले जिते पनि निर्वाचन समितिकै मिलेमतोमा परिणाम अर्को सार्वजनिक गरेर आफूलाई हराएको आरोप बैठकमा लगाएका छन् । सुन्दरहरैंचाकी उर्मिला रिजाल शर्माले पनि चुनावमा पैसाको खेल भएको भन्दै छानबिन गर्न माग गरिन् । तीन जनाको विषयमा केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिने सहमति भएको एक नेताले बताए ।
भेलाले बिहीबार बस्ने जिल्ला कमिटीको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि आवश्यक रणनीति बनाएको छ । ‘बैठकमा एक जना टोली नेताले बोल्ने, त्यसमा सबैले समर्थन गर्ने निर्णय भएको छ’, भेलामा सहभागी एक नेताले भने, ‘एकलौटी ढंगबाट पेल्न खोजिए कसरी प्रतिकार गर्ने भन्ने विषयमा समेत छलफल भएको छ ।’ टोली नेता कसलाई बनाउने भन्नेबारे चाहिँ थप नेताहरूसँग छलफल गरेर म्यासेज गर्ने गरी बैठक सकिएको सहभागी अर्का एक नेताले बताए ।
मोरङमा स्ववियुको चुनावमा अनेरास्ववियुले भोगेको हारलाई पनि अहिलेको नेतृत्वले जिम्मा लिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ । ‘मोरङमा हामीले अप्रत्याशित रूपमा स्ववियुको निर्वाचनमा हार व्यहोर्नु परेको छ’, पदाधिकारीका लागि एक प्रत्यासीले भने, ‘यसको जिम्मा अहिलेको नेतृत्वले लिनुपर्छ ।’
यस्तै, भेलाले अध्यक्षमा अजम्बर राईले जिते पनि नेता विनोद ढकालले जिल्ला चलाउन थालेको भन्दै विरोध गर्ने रणनीति बनाएको छ ।
संस्थापन पक्षले आफ्नो पक्षमा निर्वाचित १०९ जना जिल्ला सदस्य रहेको दाबी गरेको छ । १६५ सदस्यीय जिल्ला समितिमा इतर पक्षको भने ३३ जना मात्रै रहेको उनीहरूले बताएका छन् । अधिवेशनमा सर्वसम्मत भएका जिल्ला सदस्यहरू सबै आफ्नै भएको संस्थापन पक्षको दाबी रहेको छ । अधिवेशनमा ६९ सदस्य सर्वसम्मत निर्वाचित भएका थिए । तर, भेलामा बहुमत सदस्यहरू नगएको इतर पक्षले दाबी गरेको छ । बहुमत आफूसँगै रहेको इतर समूहको दाबी छ ।
निर्वाचित टिमले सबैलाई समेटेर लैजाने बताउँदै आएको छ । ‘हामीले कसैलाई पनि पाखा लगाउँदैनौं’, एमाले मोरङका उपाध्यक्ष सागर थापाले भने, ‘पहिला हामीलाई कारबाही गर्नेलाई पनि समेटेर लान्छौं । कसैलाई फरक दृष्टिकोणबाट हेर्दैनौं ।’
अधिवेशनमा ढकाल समूहबाट अध्यक्षमा राई, उपाध्यक्षमा थापा, सचिवमा सोमराज थापा तथा उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका थिए ।
संस्थापन पक्षबाट ओझाको नेतृत्वमा प्यानल बनाइएको थियो । सो प्यानलबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिव रविन थापा र उपसचिवमा इर्जालाल राजवंशी तथा शिल्पा निराला कार्की उम्मेद्वार थिए ।
मोरङमा नेकपा फुटपछि पहिलोपटक गुट भेला भएको नेताहरूको दाबी छ । ‘नेकपा फुटपछाडी छुट्टै भेला गरेर गुट भेला भएका थिएन’, एमालेका एक नेताले भने, ‘अहिले बल्झिएको छ । यसको परिणाम राम्रो आउने देखिँदैन । ’ उनका अनुसार अहिले नै स्ववियुको चुनावमा जिल्ला समितिलाई कमजोर देखाउन संस्थापन पक्षले चलखेल गरेको खबर आएको छ ।