२६ असार २०८३, शुक्रबार

चलचित्रमा कलाकारको किन वर्गीकरण गरिन्छ ?

चैत ९, २०८१
काठमाडौं
चलचित्रमा कलाकारको किन वर्गीकरण गरिन्छ ?

 एउटा चलचित्रमा भिन्नभिन्न भूमिकामा धेरै कलाकार हुन्छन् । कोही मुख्यमा, कोही सहायकमा र कोही नकारात्मक (भिलेन) भूमिकामा दर्शकले बुझ्ने गरेका छन् । विशेषतः कथालाई अगाडि बढाउने र सकारात्मक रुप दिने पात्रलाई ‘हिरो’ भन्ने गरिन्छ । तर, नाटकमा यस्तो हुँदैन, सबैको समान भूमिका हुन्छ । 

त्यसो भए चलचित्रमा कलाकारिता गर्ने कलाकारको किन वर्गीकरण गरिन्छ ? निर्देशक दीपक रौनियारले थापागाउँस्थित मण्डला नाटकघरमा चलिरहेको ‘तेस्रो नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)’ मा आयोजित अन्तरक्रियामा नेपाल र भारतमा बन्ने चलचित्रमा मात्र मुख्य, सहायक जस्ता शब्द अभिनेता वा अभिनेत्रीको अघि जोडिने गरेको बताए ।  

उनले भने, “मैले नेपाल र भारतमा बनेकाभन्दा बाहिरका चलचित्रमा अभिनेताको वर्गीकरण देखेको छैन । यसलाई बढाउन अवार्डको पनि भूमिका हुन्छ जस्तो लाग्छ । अवार्डमा हास्य, सहायक, मुख्य भनेर दिने गरिन्छ । त्यसले विस्तारै हामीलाई अभिनयको वर्गीकरणबारे प्रभाव पारेको हुनसक्छ ।”

नाटक र चलचित्र दुवैमा अभिनय गर्नुभएका अभिनेता आशान्त शर्माले अभिनयलाई चलचित्रमा वर्गीकरण गर्नु गलत भएको बताए । कथामा सबै पात्रको महत्त्वपूर्ण प्रभाव रहेने भन्दै सहायक वा सहयोगी भनेर कुनै कलाकारलाई सीमित र कसैलाई मुख्य भनेर असिमित दृश्य दिन नहुने उनले धारणा राखे ।


उनले यसको प्रभाव पारिश्रमिकमा पारिरहेको भन्दै यो दुःखद विषय भएको बताए । अन्तरक्रियामा निर्देशक निश्चल बस्नेतले कुनै कलाकारले सङ्घर्ष गर्दै आफ्नो बजार प्रभाव तयार गरेर मुख्य पात्र बन्नु गलत नरहेकामा जोड दिए । उनले बजारमा माग हुँदै गएपछि कलाकारको दृश्य चलचित्रमा बढ्ने बताए । 
    
“स–साना भूमिका देखिएर प्रमुख भूमिकामा अभिनय गर्ने कलाकार धेरै हुनुहुन्छ हामीसँग । यो हामीले दिएको भन्दा पनि कलाकारले गरेको अभिनयको उपलब्धि हो । म कथा लेख्दा होस् वा पात्र सिर्जना गर्दा त्यसको प्रभावसँगै कथा अगाडि बढाउन चाहिने तत्वलाई जोड्ने गर्छु । आवश्यकता अनुसार कथामा कलाकार राखिने हुँदा मेरा लागि सबैको सहभागी उत्तिकै महत्त्वपूर्ण हुन्छ, तर बजारका कारण कोही अगाडि वा मुख्य बन्ने गरेका छन्”, निर्देशक बस्नेतले भने । उनले आफूले कलाकारलाई पारिश्रमिक दिँदा पनि उक्त कलाकारले दिने समय र चलचित्रमा गर्ने कामका आधारमा निर्धारण गर्ने गरेको बताए । 

निर्देशक रौनियारले चलचित्रमा सबैको भूमिका महत्त्वपूर्ण भए पनि दर्शकको ध्यान कुनै एउटा पात्रमा जानु स्वाभाविक रहेको बताए । 

अन्तरक्रियामा सहभागी अभिनेत्री केकी अधिकारीले महिला कलाकार सधैँ सहयोगी वा सहायकको रूपमा चलचित्रमा प्रस्तुत हुने भन्दै नयाँ पुस्तामा यो विस्तारै कम हुँदै गएको बताइन्। कतिपय आफूले गरेका कामहरू अहिले हेर्दा ती महिला कलाकारको रूपमा मुख्य भए पनि कथाका हिसाबले सहायक वा सहयोगी भएको उनको बुझाइ छ । 
झन्डै एकदशक अगाडि ‘चारुमती’ नामक नाटकमा अभिनय गरेकी अभिनेत्री अधिकारी त्यसपछि रङ्गमञ्चमा प्रस्तुत भएकी छैनन् । चलचित्रमार्फत अभिनय प्रारम्भ गरेकाले नाटकमा दिनुपर्ने समय र चाहिने धर्यताका कारण आफू रङ्गमञ्चको अभिनयमा फर्किन नसकेको उनले बताइन् । 

बाह्र देशका १७ नाटक सहभागी निटफेस्टमा कला प्रदर्शनी, सङ्गीत, नृत्यलगायत गतिविधिसँगै परम्परागत संस्कृति तथा लोकसंस्कृतिको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको महोत्सव निर्देशक अभिनेता दयाहाङ राईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्